‘अ स्टोरी विथआउट टाइटल’

Ritesh Gurung
लाेकपाटी न्यूज

म मार्मिक मान्छे । भावुक मान्छे ।
मेरो नसामा रगत होइन आँसु बग्छ, कहिलेकाहीँ मलाई यस्तै लाग्छ ।

दुख अनि दुखी, यिनिहरुसंग मेरो आत्मिय सम्बन्ध छ ।
यिनीहरुको अघि सधैं म मैन भैदिन्छु, हुने गर्छु ।
कहिलेकाहीँ आँसु सुखमा झरिदिन्छ अनि दुखमा हाँसो फुस्किदिन्छ । त्यसैले त दुखको परिभाषा आँसु होइन । सुखको परिभाषा हाँसो होइन ।
हामी मान्छेले भन्दा समयले बताउन सक्ला यिनिहरुको परिभाषा ।

पानीको गन्ध हुँदैन । पसिनाको रंग हुँदैन । आँसुको मुल्य हुदैन । तर, यी तीन तरललाई जोख्ने पैसाको चाहिँ रंग हुन्छ । गन्ध हुन्छ । मूल्य हुन्छ । तर किन हुन्छ ?

म अक्सर सोच्ने गर्छु, मान्छेहरुलाई के ले दुखी बनाउँछ होला भनेर ? फेरि चिप्लिन्छु, आफ्नै जिज्ञासाको चिप्लेटिबाट । एउटा दुखीले बाहेक अरु कसले सोच्छन् होला र यस्ता प्रश्नहरु ?

मान्छेहरु दुखी हुनु/बन्नु स्वयम मान्छेहरु’कै कारणले गर्दा हो ।
तर, पनि दुखी हुनु त कहाँ गलत हो र ? अरुलाई दुख दिनु चाहिँ पक्का गलत हो ।
यस्तो पनि त हुन सक्छ, सबैलाई दुखी देख्नु आफ्नो दुखी मस्तिष्कको उपज मात्रै हो, अरु केही होइन ।
तर, आफू दुखी भएर अरुलाई पनि दुखी बनाइदिनु कहाँ ठिक हो र ?

***
एउटा बूढो मान्छे मेरो सन्मुख आसाका आँखाहरु टाँसेर एक जोडि हत्केलालाई हावामा तैराइरहेको छ । लाग्छ, उ तौलिरहेको छ आफूअघि बगिरहेको हावालाई, आफूले फेर्न बाँकी सासहरुलाई ।

मेरा तेज गतिमा बत्तिरहेका पाइलाहरु खुम्चिन्छन् । आफ्नो शरीर त्यो बुढा तिर फर्काउछु । यस्तो लाग्छ, उ चुम्बक हो र म कुनै चुम्बकीय वस्तु।

त्यो बुढाको नाम के हो, मलाई थाहा छैन । तर, समाजले उसलाई सर्वनाम दिएको छ- भिखारी !
यहाँ काम नै मान्छेको सर्वनाम भैदिन्छ । त्यहीँ सर्वनामले गर्दा नाम कुनै दिन गुमनाम भैदिन्छ । अनाम भैदिन्छ । बदनाम भैदिन्छ । कसैका लागि मात्रै राम भैदिन्छ ।

म आफ्नो गोजी छामछुम गर्छु । खोतल्न थाल्छु ।
कठै, म भन्दा पनि गरिब छन् मेरा गोजीहरु । ठ्याक्कै राजधानीमा भएका सुख्खा इनारहरु जस्तै; पानी छैनन्, गहिराई मात्र छन् ।

लाग्छ, म त्यो बुढा भन्दा पनि गरिब छु । दुखी छु । उ संग कम्तिमा आसाका हातहरु त छन् । मसँग के छ, निराशाका रित्ता गोजीहरु बाहेक ?

म वरिपरि आफ्नो नजर ओछ्याउँछु । त्यो बुढालाई बेबास्ता गर्दै हिँडिरहेका पाइलाहरुलाई म भन्दा पनि एकदमै दरिद्र देख्छु । दुखी देख्छु । कस्तो दुखिया सांसर रहेछ यो ?

भारी गोजी हुनेहरुको मन हलुका नहुँदा रहेछन् । हृदय रसाएर आउँछ ।

म आँखा मिलाउन खोज्छु त्यो बुढासँग । तर, कसरी मिल्न सक्छन् र हाम्रा आँखाहरु ? उसका आँखा भन्दा पनि मेरा आँखा दुखी भएका छन् । कहाँ लय मिल्यो र आँखाहरु मिल्नलाई ?

ती बुढाको ओठमा फुलिरहेको मुस्कान देखेर मलाई डाहा लागेर आउँछ । भित्रैबाट पोल्न थाल्छ । पक्कै सोच्यो होला, उसका हलुका हातहरु अब भारी हुनेछन् भनेर ।

म आफूलाई झन्झन् भारी भएको महसुस गर्छु, त्यो बुढाको सन्मुख ।

पाइलाहरु घरतिर मोडाउन खोज्छु । म भन्दा पनि भारी बनिदिन्छन् मेरा खुट्टाहरु । म अनविज्ञ छु, मन र पाइला सधैं किन एकाअर्काको विपरीत हिँड्न खोज्छ ?

जसोतसो पाइलाहरु बाटोमा चोब्दै अगाडी बढ्छु । मन खिन्न हुन्छ । छिन्नभिन्न हुन्छ ।

मेरो पिठ्युँमा ती बुढाको आँखा सल्बलाइरहेको महुसुस गर्छु । फर्केर हेर्न हिम्मत आउँदैन । के त्यो बुढाको ओठमा अझै मुस्कान खेलिरहेको छ ? बिस्तारै पिठ्युँमा घोच्न थाल्छ, सायद बुढाको तिखो नजरले । म पछाडि फर्किन्छु । कुनै गरुँगो बस्तुले थिचेको महसुस हुन्छ । म देख्छु, बुढाको आँखाले अझै मलाई घेरिरहेको । उसको मुस्कानको तिरले मलाई ताकिरहेको ।

म शिथिल हुन्छु । कमजोर हुन्छु । मलाई दौडिन मन लाग्छ । भाग्न मन लाग्छ, त्यो मुस्कानबाट, त्यो नजरबाट ।
खुट्टाहरु तन्काउछु । पाइलाहरु लामो लामो चाल्छु ।

आफैंलाई एकैछिनमा ओझेल बनाइदिन्छु, त्यो मुस्कानबाट, त्यो नजरबाट ।

***

पृष्ठभुमिमा गीत बजिरहेको छ- ‘मन बिनाको धन ठूलो कि घन बिनाको मन ?’
म गीतमा डुब्न किनारतिर लाग्छु । पछाडिबाट कसैको धक्काले झन्डै पछारिन्छु । आफूलाई समाल्छु । कत्ति हतारो भएको मान्छेहरुलाई !
हुन’त हामी नेपालीहरु कि हतारमा हुन्छौं कि साउदी कतारमा हुन्छौं !

फुट्पाथमा कालो कन्भर्स लगाएको आफ्नो फुट राख्छु । आफ्नै फुटलाई लुरुलुरु खुरुखुरु पछ्याउँछु । आज गोजी भारी छ अनि मन हलुका । आँखा व्यस्त छन्, हिजोको भिखारी बुढालाई खोज्न ।

रंगीबिरंगी मान्छेहरु आफ्नै लयमा हिँडिरहेका छन् । कोही खुशी देखिन्छन्, कोही रिसाएका’झै देखिन्छन्, कोही कमजोर देखिन्छन्, कोही बलिया देखिन्छन् । मान्छेहरु शरीरलाई कपडाले र अनुहारलाई यस्तै नकाबले छोप्छन् ।

अक्सर शहरको फुटपाथमाहरुमा हिँड्ने खुट्टाहरुभन्दा भिखारीहरुका हातहरु धेरै देखिन्छन् । म त्यो बुढालाई किन खोज्दै छु, मलाई नै थाहा छैन ।
सायद आफ्नो ओठको लागि मुस्कान किन्न ?
सायद भट्किएको मनको लागि राहत किन्न ?
म बुझ्नै सक्दिनँ, चाहत र राहत दुवैको भोको हुने मान्छेको कस्तो अनौठो जात हुन्छ ।
म आफूलाई धेरै टाढा होइन यहीँ परिधिभित्र पाउँछु ।

एक किसिमको ज्ञानी ग्लानीले मलाई कोतर्न थाल्छ । लाग्न थाल्छ, सायद त्यो भिखारी बुढा आज नदेखिनु कारण मै हुँ । किनभने मैले उसलाई झन् दुख दिएको छु, झन् दुखी बनाएको छु । कम्तिमा उसले मलाई मुस्कान त दियो । मैले के दिन सकेँ ?

म छट्पटाउन थाल्छु । त्यो बुढाको मुस्कान सम्झिन्छु । मलाई झन् बिझाउन थाल्छ । थाहा पाएँ, फूलले पनि त कहिलेकाहीँ बिझाउँदो रहेछ।

***

मान्छेलाई सानो सानो कुराहरुले जगाइदिन्छ र त्यही सानो-सानो कुराहरुले कहिलेकाहीँ जलाइदिन्छ ।

म घर फर्किँदै छु । किन किन आज मलाई आफू बाहेक सबै झुठा लागिरहेछ, कृतिम लागिरहेछ, निर्जीव लागिरहेछ । सायद म पनि कृतिम देखिँदो हुँ कोही दुखीको नजरमा । किन मान्छेहरु अरुलाई पनि आफू जस्तै बनाउन/देख्न खोज्छ ?
यो मान्छेको कस्तो अवगुण ?

त्यो भिखारी बुढालाई नदेखेको दश दिन बितिसक्यो तर पनि त्यो मुस्कान बिर्सन सकेको छैन । त्यो नजर बिर्सिन सकेको छैन । त्यो बुढा बस्ने ठाउँ आज एउटा बच्चाले ओगटेको देख्छु। बच्चा जो कुच्चिएको सिलावरको कचौरा लिएर भिख माग्दै छ। सायद उसको भाग्य पनि कचौरा जस्तै कुच्चिएको हुँदो हो ।

म नजिक जान्छु । राम्रोसँग नियाल्न थाल्छु, बच्चालाई । किन किन त्यो बुढाको प्रतिबिम्ब बच्चामा पाँउछु । बुढाको जस्तै मुस्कान, बुढाको जस्तै नजर ।

पचासको नोट कचौरामा खसालिदिन्छु ।

बच्चा म तिर हेर्दै भन्छ, ‘तपाईं आउनुहुन्छ भन्ने मलाई थाहा थियो ।’

म झस्किन्छु, ‘कसरी ?’

‘बुबाले भन्नुभएको थियो !’ बच्चा अध्यारो मुख लगाउँछ ।

‘कसको बुबा ?’

‘मेरो बुबा जो यहाँ बसेर भिख माग्नु हुन्थ्यो । तपाईं जस्तै हुलिया भएको एउटा मान्छे मलाई खोज्दै आउनेछ भनेर भन्नुहुन्थ्यो । सायद त्यो मान्छे तपाईं नै हो ।’

त्यो बुढाको आकृति आफूभित्र कोर्न थाल्छु । सोच्न थाल्छु, कसरी थाहा पायो होला त्यो बुढाले म आउँछु भनेर ।

‘तर कसरी…?’ म अड्किन्छु ।

‘मेरो बुबा आठ दिन अघि बित्नु’भो ! मर्नुभन्दा पहिले तपाईंको छट्पटी, बैचेनी, तपाईंले बोकिरहेको ग्लानीको बोझ सबै बताउनु भएको थियो ।’

‘तिम्रो बुबालाई यी सब कसरी थाहा भयो ?’ म प्रश्नवाचक अनुहार लगाउँछु ।

‘तपाईं अरु भन्दा फरक हुनुहुन्छ । मेरो बुबा मान्छेहरूको दिमाग पढ्न सक्नुहुन्थ्यो, सायद तपाईंको पनि पढ्नुभयो !’

म कतिबेला घर आइपुगे मलाई थाहा भएन । तर, मगजमा एउटै प्रश्न खेलिरह्यो, ‘Was he really a mindreader ?’

***

‘अक्सर मान्छेहरु प्रश्न लिएर जन्मिन्छन् तर दिएर मर्छन् !’