लभ एण्ड अल्कोहल

alcohol
लाेकपाटी न्यूज

अचम्म त उसलाई त्यतिबेला लाग्छ जब सानासाना बच्चाहरु दादा मेरो ‘गल्फेन’ छ भन्छन् । उ छक्क पर्छ उनीहरुको कुरा सुनेर । जसले मायाको अर्थ राम्ररी दिन जान्दैनन् वा भनौं गर्लफ्रेन्डको उच्चारण नै स्पष्ट रुपमा गर्न सकेका छैनन् ती नै गर्लफ्रेन्डको बयान गरिरहेका हुन्छन् । अझ ती बच्चाहरुमा मायाको फिलिङ्स कस्तो हुन्छ होला अथवा यसै आफूभन्दा ठुला दाइदिदिले भनेको सुनेर यसै लहैलहैमा भनिदिएका हुन् । खैर जे होस्, आजकालका बच्चाहरु हरेका कुरामा फरवार्ड छन् ।

फरवार्ड नहोस् पनि कसरी ? उनीहरुको उमेरमा उ पाइपको टुक्रालाई पाङ्ंग्रा बनाएर गुडाउँदै हिँड्थ्यो तर अहिलेका बच्चाहरु मोबाइलमा हिल क्लाइम्बिङ देखि पबजीसम्मका खेल खेल्छन् । फरक त यहाँ पनि छ उ गाडीको रहर पूरा गर्न चोके भएको रुखको हाँगा काटेर गाडा बनाई गुडाएर हिँड्थ्यो तर अहिलेका बच्चाहरु जन्मिन नपाई साइकल कुदाउँछन ।

एक छिमेकी भाइको ‘गल्फेन’ प्रसंग सुनेपछि उसको मनमा अनेक कुरा खेल्न थाले । समीप अचम्ममा पर्यो ।
यी कुराहरु उ र उजस्ता प्रतिनिधि पात्रहरुसँग मात्र मिल्न जान्छ । तर, उसको पुस्तासँग सम्बन्धित हुनैपर्छ भन्ने छैन किनकी उसको उमेरका केही साथीहरुले पनि त सानोमा साइकल कुदाएका थिए । कुरा साइकल कुदाउनु नकुदाउनुभन्दा पनि तुलना प्रविधि र भौगोलिक विकटतासँग जोडिएर आएको छ ।

उसले पर्वतको एउटा गाउँको स्कुलबाट एसएलसी सक्यो । उ गाउँमै हुर्कियो । रमायो । उसको गाउँसँग भावनात्मक सम्बन्ध गाँसिएको छ । उसले गाउँमै पढेर भएपनि उत्कृष्ट अङ्क ल्यायो । उच्च शिक्षामा विज्ञान पढ्न भनेर उ पोखरा हुत्तियो । शहरमा एक्लै बस्न अफ्टयारो नै हुने भनेर उसँगै बहिनी पनि आई ।

उसले पर्वत र पोखरामा बोल्ने लवजबाहेक सबै फरक पायो । उसलाई पोखराका सबै कुरा मन परे । त्यहाँका मान्छे, रहनसहनलाई उसले विशेष चासो दिन थाल्यो । उसलाई पोखराका हरेक कुराहरु फरक लागे ।

कालेकाले भएपनि उ हिस्सी परेको थियो । वाह ! भन्ने त थिएन तर पनि केटीहरुको नजरमा परेको भान हुन्थ्यो उसलाई । समीपलाई कक्षाकै केटीहरुले जिस्काउँथे तर उ वास्ता गर्दैनथ्यो । किनकी उसलाई लभ गरेको थाहा पाए घरकाले पैसा नपठाउने धम्की दिएका थिए । समीपलाई मायाप्रेम भन्दा पनि पोखरामा बाँच्नु पहिलो चुनौति थियो । त्यसैले उ मन मारेर भएपनि सिङ्गल नै बस्यो ।

उसको कक्षामा केटाकेटी नारिएर बस्दा होस् या उसलाई कसैले प्रपोज गर्दा नै किन नहोस् उसले घरबाट हिँडने बेलामा आमाले भनेको सम्झिन्थ्यो । समीपलाई त्यसबेला आमाले भन्नुभएको थियो, ‘शहरमा सबै खाले मान्छे बसेका हुन्छन् रे । मान्छेहरुले यताउता गरेर फसाउलान् होस् गरेस् । अझ केटीको चक्करमा लागिस् भने त जिन्दगी बर्बाद हुन्छ । पल्लो गाउँको राजेशजस्तै पतन भएर जालास् ।’

उ मनमनै सोच्थ्यो, सबै कुरा आफुले चाहेको मात्र पनि हुन्न । चाहेको जस्तो हुने भए त असली जिन्दगीको अर्थ कहाँ थाहा पाइन्छ र । अभावबाट अथाह आशा गर्नुलाई उसले सर्वश्व मान्थ्यो ।

यत्तिकैमा बहिनीको एसईई परीक्षा आयो । समीप खाली पढ् मात्रै भनेर बहिनीलाई कराइरहन्थ्यो । तर, बहिनी खाली मोबाइलमा झुण्डिरहन्थी । उ रिसले चुर भएपछि घरमा भनिदिने डर देखाउँथ्यो र बहिनी खुरुखुरु पढ्न थाल्थी ।

‘दादा म सरिमाकोमा पढ्न जान्छु नि ल उसले बोलाएकी छे कम्बाइन्ड स्टडी गर्न,’ कृतिकाले भनी ।
‘पर्दैन । कम्बाइन्ड स्टडी भनेर मात्र हुन्छ । झन् हल्ला हुन्छ । तिमीहरुले पढ्दैनौं मलाई थाहा छ ।’
‘सरिमाले कि तँ आइजो कि म तेरोमा पढ्न आउँछु भनेकी छे । अब तपाई नै भन्नु म जाउँ कि उसलाई आइज भनुँ ।’
ह्या जेसुकै गर् ।

कृतिकाले सरिमालाई उसकै घरमा बोलाई । समीप एउटा खाटमा बस्थ्यो भने बहिनी र उसकी साथी अर्को खाटमा बसेर पढ्थे । परीक्षाको बेलामा उसले नै खानादेखि खाजासम्म आफैंले बनाएर दिन्थ्यो बहिनीलाई । बहिनी पनि खुशी भई सरिमासँग सँगै पढ्न पाउँदा ।

सरिमा उसकोमा आउने जाने क्रम बढयो । बहिनीको साथी भएकाले उसको सबै कुरा थाहा भइसकेको थियो समीपलाई । सरिमा पोखराकी स्थानीय थिई ।

समीप र सरिमा फेसबुकमा साथी बने । कहिले सरिमाले बोलाउँथी कहिले समीप आफैंले बोलाउँथ्यो । उनीहरुको दिनदिनै कुरा हुन थाल्यो । जे कुरा बढी देख्यो वा जेसँग बढी घुलमिल भयो, त्यो नै रामो लाग्छ मान्छेलाई । जस्तै सँधै हिँडिरहने बाटो होस् या घरमा पालिने कुनै जनावर नै किन नहोस् । त्यससँग मानिसको भावना जोडिएको हुन्छ । त्यस्तै समीपलाई पनि सरिमासँग निरन्तर कुरा भएपछि मन पर्न थाली । हुन त, उसलाई नराम्रो भन्नेहरु सायदै थिएनन् होला । साँच्चै उ लोभलाग्दी नै थिई । खैरा आँखा, सल्लाका पात जस्ता स्टेट गरेका कपाल, आकर्षक जिउडाल । मानौं उसको जिउ देखेर नै कोककला फिगर भन्ने शब्द जन्मिएको हो ।

सुरुमा त समीपले बहिनीकी साथी भनेर बहिनी नै सम्बोधन गर्यो । उ पनि दाई नै भन्थी । तर, उनीहरुको दाजुबहिनी सम्बन्ध धेरै दिन टिकेन । कुरा हुँदै गएपछि उनीहरु साथीजस्तै भए । सरिमा आफूले दिनभर गरेका कामहरु बेलिबिस्तारमा सुनाउँथी भने उ पनि आफ्ना सबै कुरा भन्थ्यो ।

सरिमाको अनुहार मात्रै होइन, समीपलाई उसको बानी व्यवहार सबै मन परे । सरिमाको उसलाई मन नपर्ने एउटा कुरा भन्न कसैले लगाएमा उ सक्दैन किनकी उसलाई सरिमाको सबै थोक मनपर्छ । उसमा सरिमाप्रति मायाको मोह जाग्यो । उसले कति पटक त आई लभ यु भनेर म्यासेज लेख्थ्यो तर मेटिहाल्थ्यो । उसले माया व्यक्त गर्न सकेन । डरायो । उसलाई अति नै डर लाग्यो । परिवारको बन्धन थियो उसमा । उसले सोच्यो, ‘कसले घरमा भनेर लभ गर्ला र ।’

वस्तुभाउलाई मात्र हो बाँधेर राख्ने । भोक लागेको बेलामा खान नपाए पशुले पनि दाम्लो चुडालेर विकल्प खोज्छ । तर, उ मान्छे थियो । उसलाई पनि मायाको भोक लागिसकेको थियो र विकल्प खोज्यो । उ परिवारको बन्धनमा बाँधिन चाहेन र यस पटक भने सरिमालाई म्यासेज लेख्यो

प्रिय सरिमा,
यी हरफहरु लेख्दा मेरा हात कामिरहेका छन् । यो लेख्न हुन्थ्यो या हुन्थेन, त्यो मलाई थाहा छैन । तर, जब तिमी बहिनीसँग कम्बाइन्ड स्टडी गर्न भनेर मेरो घरमा आयौ, त्यसबेला नै तिमी मेरो नजरमा पर्यौ । र, हामी दिनहुँ फेसबुकमा कुरा गर्न थाल्यौं । फेसबुकमा तिमीसँग कुरा गर्न पाएपछि मलाई अरु केही चाहिन्थ्यो । तिर्खा लागेको मानिसले पानी भेटाएजस्तो मैले तिमीलाई भेटाएको थिएँ । गर्मीमा शितलता तिमीले दिएकी थियौ र दिइरहेकी छौ । मलाई विश्वास छ तिमी यो प्रचण्ड गर्मीमा चर्को घाम बन्दैनौं बरु एक झर पानी बनेर भिजाउने छौ ।

हो सरिमा, म तिमीलाई माया गर्छु । आई लभ यु सरिमा,

म तिम्रो जवाफ पर्खिरहेको हुनेछु । 
समीप

उसले म्यासेज पठायो र मन हलुका भएको महशुस गर्यो ।
म्यासेज गरेको घण्टाघण्टामा उसको रिप्लाई आयो कि भनेर फेसबुकको टुप्पामा उसका आँखा पुग्थे तर उसले हेरेकी पनि हुन्न थिई ।
दुई दिनपछि सरिमाले हाँसेको स्टिकरसहित उसको माया स्वीकारेको भाव व्यक्त गर्दै रिप्लाई गरी, आई लभ यु टु समीप ।
उ मख्ख पर्यो । उसले जिन्दगीमा पहिलोपटक विपरीत लिंगीबाट मायाको अनुभूत गर्यो ।

यत्तिकैमा समीप बाह्रसम्मको अध्ययन सकेपछि काठमाडौं आयो । उसले राजधानीमा कामको शिलशिलमा पाएको दुख सुनाउँथ्यो, एक्लै बस्नुको पीडा सुनाउँथ्यो तर सरिमाले जिस्काउँदै भन्थी, अब बिहे गर्नु सुख पाइन्छ । समीप अहिले हतार नभएको आशयको कुरा गर्‍थ्यो ।

सरिमाले पनि बाह्र सकी । त्यसपछि उसलाई घरमा बिहे गर्ने दबाब आएको कुरा सुनाउँथी समीपलाई । तर, उ तिम्रो जीवन तिम्रा इच्छा भनेर टारिदिन्थ्यो ।

तर, एक्कासी सरिमा हराई । न फेसबुमा भेटिई न मोबाइलमा फोन लाग्थ्यो । सरिमासँग कुरा गर्न नपाएपछि समीप माछालाई पानीबाट जमिनमा ल्याएको जस्तो छट्पट्टियो । उसले सोच्यो, ‘केटीको जात धोकेबाज हुन्छन भन्थे हो रहेछ । मलाई माया गर्थी भने किन मलाई बिर्सिई ?’ आफैंले आफैंलाई प्रश्न गर्यो ।

केही समयपछि उसले सरिमा बिहे गरेर अष्ट्रेलिया गएको खबर थाहा पायो । त्यसपछि लाग्न थाल्यो, ‘केटीहरु साँच्चै नै धोकेबाज हुन्छन् ।’

उसले झल्झली सम्झियो, सरिमासँग पहिलोपटक शान्ति स्तुपा डेटिङ जाँदाको पल । अनि उसका हात बिस्तारै सरिमाको शरीर खेलेको र अनि ओठहरु मिलन हुँदाको स्वर्गानुभूति । विगतका पल सम्झेर बेस्सरी रोयो समीप ।

उ चाहेर पनि अब सरिमालाई बिर्सन सक्दैन र आफ्नो बनाउन पनि सक्दैन । उसले अब जिन्दगीमा प्रेम नगर्ने कसम समेत खाइसकेको छ ।

सरिमा पतिसँग अष्ट्रेलियामा रमाइरहेकी छ यता समीप सरिमाको याद भुलाउन चुरोट र मदिरालाई साथी बनाएर जीवन बिताइरहेको छ ।