‘पर्यटन विकासमा लागिरहेको छु’ : मेयर दाहाल

Renu Dahal
लाेकपाटी न्यूज

चितवन, ८ मंसिर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू पर्यटन विकासमा लागिरहेको बताएकी छन् ।

शनिबार पटिहानीमा भरतपुर महानगरपालिका वडा नम्बर २२ ले आयोजना गरेको पर्यटकीय गन्तव्यमा सुचिकृत पटिहानी पर्यटकीय क्षेत्रको सम्भावना, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

दाहालले चितवन देशकै तेस्रो पर्यटकीय क्षेत्रको रूपमा परिचित रहेको भन्दै त्यसको केन्द्र भरतपुर भएको बताइन् । कार्यक्रममा विशिष्ट अतिथिसमेत रहेकी दाहालले भरतपुर महानगरपालिकामा धार्मिक, सांस्कृतिक, पर्यटन विकास, शिक्षा र स्वास्थ्यको प्रमुख सम्भावना रहेको बताइन् । भरतपुर महानगरपालिका यसको समुचित विकास र व्यवस्थापन गर्दै पर्यटनको विकासमा लागिरहेको जानकारी दिइन् । पर्यटनको विकासमार्फत समृद्धिको यात्रामा अगाडि बढ्न सकिने बताउँदै उनले चितवनमा रहेका चार वटा गन्तव्यमध्ये भरतपुर महानगरपालिकामा दुई वटा गन्तव्य समावेश हुनु सुखद भएको बताइन् ।

उनले हिल स्टेसनको रूपमा रहेको पहाडी भाग जुगेडी, चौकीडाँडा र रापती–नारायणी नदीको संगम गोलाघाट, रापती र चितवन राष्ट्रिय निकुञ्जको साँध पटिहानी साँच्चै पर्यटनको केन्द्र बन्ने विश्वास व्यक्त गरिन् । पर्यटकीय पूर्वाधार निर्माणमा भरतपुर महानगरपालिकाले विशेष सहुलियतका कार्यक्रमहरू संचालन गरेको जानकारी गराउँदै प्रमुख दाहालले यसबाट लाभ लिन सबैलाई आग्रह गरिन् ।

उनले देवघाट, गोलाघाट, चौकीडाँडा, जुगेडी, पटिहानी, जगतपुर, सौराहा, सिराइचुली, वाल्मिकी आश्रम, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी र रापती नदी रहेको चितवन देशकै दोस्रो गन्तव्य बन्ने बताइन् । पर्यटन विकासका लागि सडक र सञ्चारको उचित कनेक्टीभिटी बढाउनुपर्ने उनको भनाइ थियो ।

प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य रामलाल महतोले नेपाल भ्रमण वर्ष २०२० का लागि पटिहानी देशका १०० पर्यटकीय गन्तव्यभित्र पर्नु सुखद भएको बताए ।

प्रदेश सांसद महतोले यहाँ रहेका आदिवासी, जनजाति, परम्परागत धर्म, संस्कृति, जल, जंगल र जनावरको संरक्षण गरेर पटिहानीको गरिमा बढाउनुपर्ने बताए । पटिहानीले आफ्नो विशिष्ट पहिचान बनाउनु पर्ने बताउँदै उनले यसका लागि आआफ्नो तर्फबाट सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी लगायतले मन्तव्य राख्दै पटिहानीको पर्यटकीय विकासको सम्भावनालाई कसैले रोक्न नसक्ने बताएका थिए । कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष महतोले पटिहानी पर्यटनको उदाउँदो केन्द्र भएको बताए ।

उनले पटिहानीको बारेमा जानकारी दिँदै यहाँ दर्जनको हाराहारीमा तारे होटलहरू संचालनमा रहेको र निर्माणाधीन तारे होटलहरु रहेको बताए । उनले रापतीमा जल यात्रा, साना तथा मझौला थुप्रै होटल रिसेर्टहरू, एकसिङ्गे गैंडा अवलोकन, पाटेबाघ अवलोकन, जिप सफारी, हात्ती सफारी, निर्माणाधीन अमेरेला भ्यू टावर, घडियाल गोही प्रजनन केन्द्रको अवलोकन लगायत पटिहानीमा पर्यटन आकर्षणको लागि प्रचुर सम्भावना बोकेका ठाउँहरु रहेको बताए ।