‘अब कांग्रेसले मधेशको मुद्दा उठाउँछ’ : डा. कोइराला

Shekhar Koirala
लाेकपाटी न्यूज

बाँके । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मधेसको राष्ट्रियताको विषयमा नेपाली कांग्रेसलाई कुनै शंका नरहेको बताएका छन्। अरु पार्टीले मधेसको राष्ट्रियताको विषयमा शंका गरेपनि कांग्रेसले सधै मधेसको वकालत गर्दै आएको उनको भनाइ छ।

बाँकेको नरैनापुरस्थित गंगापुरमा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘मधेसको राष्ट्रियताको विषयमा कांग्रेसलाई कुनै शंका छैन, मधेशीहरु राष्ट्रवादी छन् ।’

वर्तमान सरकार अलोकतान्त्रिक हुदै गएको उनले बताए। अलोकतान्त्रिक चरित्रको सरकारले जथाभावी महंगी, कर बढाएर जनताको ढाँड सेक्ने काम गरिरहेको बताए। ‘कम्युनिष्ट सरकारमा लोकतान्त्रिक चरित्र हुदैन,’ उनले भने ‘नेपाली कांग्रेसले मात्र लोकतन्त्रको पहरेदारी गरिरहेको छ।’

सरकार गैरजिम्मेवारीका साथ प्रस्तुत भइरहेको उनको आरोप छ। तराई मधेशको मामलामा विगतमा ठूलो भुल भएको बताउँदै उनले नेपाली कांग्रेसको तर्फबाट क्षमा याचना पनि गरे। ‘विगतमा भएका कमी कमजोरी हामी अब दोहोरिन दिदैनौं,’ कोइरालाले भने, ‘कांग्रेसले मधेसको मुद्दालाई पहिलेदेखि उठाउँदै आएको छ, अझै पनि मधेसको पक्षमा वकालत गर्छौ।’

नेपाल कम्युनिष्ट पार्टी र संघिय समाजवादी फोरमले मधेसका जनतालाई दास बनाइरहेको उनको आरोप छ। सरकारले संघीयतालाई असफल बनाउन अहिले पनि विभिन्न बहानाबाजी गरिरहेको कोइरालाले ठोकुवा गरे । ‘यदी संघीयता असफल भयो भने संविधान पनि असफल हुन्छ,’ उनले भने ‘नेपाली कांग्रेस संघीयता असफल हुन दिन्न ।’