‘भरतपुर उत्कृष्ट महानगर बन्छ’ : मेयर दाहाल

Renu Dahal
लाेकपाटी न्यूज

चितवन, ९ मंसिर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले कर वृद्धि होइन, करको दायर फराकिलो बनाउनुपर्ने बताएकी छन् ।

आइतबार भ्रष्टचारविरुद्ध अभियान चितवनको समन्वयमा भरतपुर महानगरपालिकाले गरेको संस्थागत सुशासन र वित्तीय प्रबन्ध विषयक कार्यशाला गोष्ठीमा मेयर दाहालले करको दायर फराकिलो बनाउँदै लगेको बताएकी हुन् ।

कार्यक्रममा उनले सबैको सहकार्य र सहयोगमा भरतपुर महानगरलाई देशकै उदाहरणीय महानगर बनाउने प्रतिबद्धता गरिन् । उनले भनिन्, ‘भरतपुर महानगरलाई सबैको साथ, सहयोगको अपेक्षा सदैव छ, सबैको साथ र सहयोग भए भरतपुर महानगरलाई देशकै नमुना महानगरको रुपमा भए चिनाउन हामी सक्षम हुने थियौँ ।’ सबैसँग सहकार्य र समन्वय गरेर महानगर अघि बढिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले भरतपुर महानगरपालिकामा सुशासन कायम भइरहेको र सुशासनलाई अझ मजबुद बनाउन सुझाव दिएका थिए । उनले भने, ‘आम मानिसको सूचना माग्ने हक सबैमा हुन्छ, त्यो हक महानगरबासीहरुले प्रयोग गरिरहेका र सूचना दिने काम भरतपुर महानगरबाट प्रभावकारी भइरहेको पाइयो ।’

प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले तीन/तीन महिनामा कार्यालयका सूचनाहरु सार्वजनिक गर्नुपर्ने बताउँदै भने, ‘सूचना सार्वजनिक गर्ने काम भरतपुर महानगरबाट भइरहेकै छ ।’

यसैगरी कार्यक्रममा कर विज्ञ रुप खड्काले भरतपुर महानगरको कर व्यवस्थापन राम्रो लागेको बताए । उनले भने, ‘कर वृद्धि होइन, करको दायरा बढाउनुपर्छ, भरतपुर महानगरमा करको दायरा बढिरहेकै छ ।’ खड्काका अनुसार ज्यादा कर लगाउने अर्थात ज्यादा कर छुट दिने दुवै गर्न नहुने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्