कोहलीको अर्धशतकमा अष्ट्रेलियाविरुद्ध भारतको जीत, सिरिज बराबरी

Virat Kohli
लाेकपाटी न्यूज

काठमाडौं, ९ मंसिर । भारतले टी-ट्वान्टी सिरिजको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै सिरिज बराबरी सकिएको छ ।

आइतबार सिड्नीमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । मध्यम लक्ष्य पछ्याएको भारतले १९.४ बलमा ४ विकेट गुमाएर १६८ रन बनाउँदै खेल जित्यो । भारतले रोहित शर्मालाई २३ रनमै गुमायो । त्यस्तै शिखर धवन ४१ रन बनाएर पेभेलियन फर्कँदा कप्तान विराट कोहलीले नटआउट ६१ रन बनाए ।

१५६ रनको लक्ष्य पछ्याएको भारतीय टिमका ओपनर रोहित शर्मा र शिखर धवनले सानदार शुरुआत गरे । रन जोड्न शिखरले शुरुमा संघर्ष गर्नुपरेको थियो । तर, रोहित शर्माको राम्रा शटका कारण उनीमाथिको दबाब कम भएको थियो। त्यसपछि दुवैले आक्रामक ब्याटिङ गरे । ४.४ ‌ओभरमा भारतीय टिमको ५० रन पूरा भयो । शिखर धवन ४१ रनमा खेलिरहँदा मिशेल स्टार्कको बलमा एलबीडब्यू धरापमा परे । उनले २२ बलमा ६ चौका र २ छक्का हिर्काए ।

शिखर धवन आउट भएको केहीबेरमै रोहित शर्मा एडम जम्पाको बलमा बोल्ड भए । उनको विकेट सातौ‌ं ओभरमा खसेको थियो । रोहित शर्माले १६ बलमा १ चौका र २ छक्का प्रहार गरे । रोहित आउट भएपछि लोकेश राहुल र विराट कोहलीले तेस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे । र, भारतको स्कोर सयमाथि पुर्‍याए ।

यद्यपी टिमको स्कोर १०८ पुग्दा भारतले लोकेश राहुललाई गुमायो । उनी १४ रन बनाउँदा आउट भए । त्यसपछि ऋषभ पन्त शून्यमै पेभेलियन फर्के । नयाँ ब्याट्सम्यान दिनेश कार्तिकले कप्तान कोहलीलाई राम्रो साथ दिए । यी दुईले नटआउट ६० रनको साझेदारी गर्दै टिमलाई जीत दिलाए । बलिङतर्फ अष्ट्रेलियाका लागि मिशेल स्टार्क, एडम जम्पा, ग्लेन म्याक्सवेल र एंड्र्यू टाईले समान एक-एक विकेट लिए ।

ब्याटिङतर्फ अष्ट्रेलियाका लागि डार्सी शोर्टले ३३ तथा कप्तान आरोन फिंचले २८ रनको योगदान दिए । त्यस्तै म्याक्सवेलले १३ तथा एलेक्स कारेले २७ रन बनाए ।

भारतका लागि क्रुनाल पांडेले चार तथा कुलदीप यादवले एक विकेट लिए ।

ब्रिसबेनमा खेलिएको पहिलो खेलमा भारत पराजित भएको थियो । त्यस्तै मेलवर्नमा खेलिएको दोस्रो खेल पानीको कारण रद्द भएको थियो ।