महिला मुक्तिको गाथा, को हुन् क्लारा जेट्किन ? (जीवनी)

Clara Zetkin-1
जेट्किनले भावनाका दृष्टिले मात्र महिला आन्दोलनको नेतृत्व गरेकी थिइनन्। उनी दार्शनिक र वैचारिक रुपमा समेत त्यत्तिकै शक्तिशाली थिइन् । लेनिन लगायतका कम्युनिष्ट नेताहरुसँग जेट्किनले तिखो वैचारिक बहस गर्थिन् । उनका विचार संसारभरिका महिलाहरुका निम्ति आज पनि पथप्रदर्शक बनिरहेका छन् ।
मनहरि तिमिल्सिना

मनहरि तिमिल्सिना/काठमाडौं । महिला आन्दोलनकी नेता क्लारा जेट्किनको जन्म ५ जुलाई १८५७ का दिन जर्मनीको लिपगिजमा भएको थियो । जेट्किनलाई महिला मुक्ति आन्दोलनकी प्रवर्तक मानिन्छ । उनका २ सन्तान थिए । प्रगतिवादी आन्दोलनमा जेट्किनको योगदान विश्वव्यापी रुपमा स्थापित हुँदै आएको छ । क्लारा जेटकिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको संस्थापक पनि हुन् ।

जेट्किन सामान्य परिवारमा जन्मिएकी थिइन् । उनका बाबुआमा दुवै शिक्षण पेशामा आबद्ध थिए। हुने बिरूवाको चिल्लो पात भनेझैं उनी सानै उमेरदेखि मेहेनती र लगनशील स्वभावकी थिइन् । उनी त्यतिकै निडर पनि थिइन् । उनको बाल्यकाल सामान्य रुपमा बित्यो । प्रारम्भिक शिक्षा हासिल गरिसकेपछि उनी शिक्षक बनिन् । परिवारमा चल स्रोत थिएन, त्यसैले आफैले कमाएर उच्च शिक्षा पढ्नुपर्ने बाध्यतामा थिइन् जेट्किन ।

जेट्किनले जर्मन नागरिक ओसिपसँग विवाह गरेकी थिइन् । तर, वैवाहिक जीवनले उनको राजनीतिक यात्रा र महिला मुक्ति आन्दोलनमा कुनै नकारात्मक प्रभाव पारेन, जेट्किन नियमितजसो महिलाहरुको मुक्ति र सङ्घर्षको पक्षमा लागिरहिन् । जेट्किनका २ सन्तान पनि थिए ।

प्रथम विश्वयुद्ध चरम विन्दुमा पुगेको बेला उनले शान्तिको आवाज उठाएकी थिइन् । शान्तिका लागि सन् १९१५ मा जर्मनीको वोन भन्ने ठाउँमा महिलाहरूको विशाल भेला आयोजना भएको थियो । त्यस भेलामा सहभागी विश्वका अग्रगामी हजारौं महिलाहरूमाझ उनले राखेको शान्ति प्रस्ताव सर्वसम्मत पारित गरिएको थियो ।

clara-zetkin-and-claude-mckay-in-moscow-1923

महिला मुक्ति आन्दोलनको सन्दर्भमा ८ मार्चलाई ऐतिहासिक दिनको रूपमा सम्झने गरिन्छ । उक्त दिनमा विश्वभरिका महिलाहरूले खुसियालीका साथ विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दछन् । ८ मार्चलाई श्रमजीवी महिलाहरूले मात्र होइन, विभिन्न पेशा, वर्ग, जातजातिका महिलाहरूले पनि आफ्नो चाडको रूपमा मनाउने गर्दछन् ।

विश्वभरिका महिलाहरू महिला भएर जन्मिएकै आधारमा भेदभावपूर्ण जीवन जिउन बाध्य भएका छन् । प्राकृतिक रूपमा महिला र पुरूष जन्मजात समान हुन्छन् । यी दुवैको बीचमा समान अस्तित्व र अधिकार पनि समान हुन्छ । तर, पूँजीवादी व्यवस्थाले महिलाहरूको समान अस्तित्वलाई स्वीकार गर्न सकेन । र, महिलाहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार ग-यो । जेट्किनको समयसम्म महिलाहरु मतदानको अधिकारबाट समेत बञ्चित थिए ।

विश्वभरि नै महिलालाई पूरूषसरह समान अधिकारबाट बञ्चित गर्न पूँजीवादले अथक प्रयत्न गर्यो । संविधान, कानून, धर्म, चालचलन, समाज, परिवार, यी सबै परिपाटीहरू पुरूषको पक्षमा निर्माण गरियो र महिलालाई भेदभाव गर्नेगरि शासनको संरचना खडा गरिए । फलस्वरूप महिलाहरू अन्यायमा परे । पूरूषसरह समान अधिकार उपभोग गर्नबाट बञ्चित भए । अन्यायको विरूद्ध आफ्नो स्वतन्त्रता र मुक्तिको खातिर जर्मनी, अमेरिकी लगायतका विश्वभरि नै फरक फरक देशहरूमा महिलाले विभिन्न ढंगले आन्दोलनलाई अगाडि बढाए ।

निश्चित समयसम्म महिलाहरूको उक्त आन्दोलन राष्ट्रभित्र मात्र सीमित रह्यो । ती आन्दोलनहरू महिलाहरूले स्वतस्र्फूत रूपमा संगठित गरेको आन्दोलन नै थिए । तर, आन्दोलनको विकासको क्रममा सबै मेहेनतकश श्रमजीवी जनताको क्रान्तिकारी आन्दोलनले पनि साथ दियो र केही देशका सीमाभित्र सीमित आन्दोलनले अन्तर्राष्ट्रिय रूप लिन पुग्यो । सन् १९०७ मा जर्मनीमा महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । महिला आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्नको लागि उक्त सम्मेलन ऐतिहासिक बन्यो । यस प्रकारको महत्वपूर्ण कदम उठाउने नेतृ क्लारा जेट्किन नै थिइन् ।

सम्मेलनले महिला आन्दोलनकी नेतृ क्लारा जेटकिनलाई सेक्रेटरीमा चयन ग-यो । उक्त सम्मेलनले लैड्डिक भेदभावविना महिलाहरूलाई मताधिकारको प्रस्ताव पास ग-यो । १९०८ मार्च ८ का दिन अमेरिकाका गार्मेन्ट फ्याक्ट्रीहरूमा काम गर्ने महिलाहरूले समानताको माग गर्दै जुलुस प्रदर्शन गरेका थिए । १९०८ मार्च ८ कै दिन शिकागो शहर लगायत कैयौं शहरहरूमा महिलालाई दिइने कम तलब, असमान ज्याला, कारखानामा महिलामाथि हुने दुव्र्यवहार आदिको विरूद्ध जुलुश प्रदर्शन गरिएको थियो ।

१९१० मा कोपनहेगेनमा महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनमा क्लारा जेटकिनले ८ मार्चलाई प्रत्येक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन प्रस्ताव गरिन् । सम्मेलनले उनको प्रस्तावलाई पास ग-यो । यसरी १९११ देखि, ८ मार्च विश्वभरिका महिलाहरूको एकताको प्रतीकको रूपमा चिनिँदै आएको छ ।

सयौं वर्ष अगाडि अमेरिका र यूरोप महादेश लगायतका विभिन्न देशहरूमा महिलाहरू जुन माग लिएर सङ्घर्षको मैदानमा आई ती मागहरू पूरा गराएका थिए, त्यही प्रकारका मागहरू नेपाली महिलाहरुले सयौं वर्षपछि पनि उठाउन बाध्य छन् । सामन्ती, रूढीवादी, निम्न पूँजीवादी विचारहरूको विरूद्ध अहिले पनि संगठित सङ्घर्ष चलिरहेको छ । जेट्किनका विचारहरूले अहिले पनि महिलाहरूलाई घरधन्दा, चुलोचौका, बालबच्चाको लालनपालन आदिमा मात्र सीमित राखेन, परिवारको दायित्वबाट माथि उठेर अधिकार प्राप्तिको आन्दोलनमा होमिन प्रेरित गर्यो ।

जेट्किनले भावनाका दृष्टिले मात्र महिला आन्दोलनको नेतृत्व गरेकी थिइनन्। उनी दार्शनिक र वैचारिक रुपमा समेत त्यत्तिकै शक्तिशाली थिइन् । लेनिन लगायतका कम्युनिष्ट नेताहरुसँग जेट्किनले तिखो वैचारिक बहस गर्थिन् । उनका विचार संसारभरिका महिलाहरुका निम्ति आज पनि पथप्रदर्शक बनिरहेका छन् ।

जेट्किन महिला मुक्ति आन्दोलनकी धरोहर हुन् । विश्वभरिका महिलाहरुले उनको योगदानको स्मरण गर्दै आएका छन् । उनको साहस, वैचारिक दृष्टिकोण र व्यवहारिक सङ्घर्ष मानव जातिकै लागि अनुपम योगदान मानिन्छ । महिला आन्दोलनकी अगुवा जेट्किनको सन् १९३३ जुन २० का दिन दुखद् निधन भयो ।