‘चन्द मार्ग’का चार चूनौति

Netra-Bikram-ChandBiplav
सङ्घर्षका विविध रुपमध्ये शान्तिपूर्ण सङ्घर्ष पनि एक हो । तर, विप्लव नेतृत्वको नेकपा यो मान्न तयार छैन । उसले सशस्त्र सङ्घर्षलाई नै सङ्घर्षको साधन र साध्य दुवै मान्दै आएको देखिन्छ ।
मनहरि तिमिल्सिना

मनहरि तिमिल्सिना

पार्टी पूनर्गठन र जनमुक्ति सेना गठन भएको दिन पारेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्यो । जनसभामा सहभागी हुन राजधानी झरेका विप्लवका कार्यकर्ता ‘एकीकृत क्रान्तिको कार्यदिशा’प्रति सहमत देखिन्थे । उनीहरुमा राज्यप्रति केही आक्रोश र विप्लवप्रति केही आशा देखिन्थ्यो । जनसभामा प्रमूख अतिथि खड्गबहादुर विश्वकर्माले खास कुनै वैचारिक विषय राखेनन्, न पार्टीको आगामी बाटो नै स्पष्ट गरे । तर, सभाको उपस्थिति भने अर्थपूर्ण नै थियो ।

माओवादी जनयुद्धको धाराबाट आएको नेकपा (माओवादी केन्द्र) एमालेसँग एकतापछि नेकपा बनेको छ । यसले आफ्नो वैचारिक मार्गनिर्देशक सिद्धान्तका रुपमा मार्क्सवाद–लेनिनवाद अङ्गिकार गरेको छ, त्यसैगरि क्रान्तिको बाटोका रुपमा शान्तिपूर्ण सङ्क्रमणका आधारमा समाजवादको तयारी स्वीकार गरेको छ । सङ्घर्षका विविध रुपमध्ये शान्तिपूर्ण सङ्घर्ष पनि एक हो । तर, विप्लव नेतृत्वको नेकपा यो मान्न तयार छैन । उसले सशस्त्र सङ्घर्षलाई नै सङ्घर्षको साधन र साध्य दुवै मान्दै आएको देखिन्छ ।

जनयुद्धको मुल शक्तिको रुपमा रहेर माओवादी एमालेसँग एकतापछि सैद्धान्तिक रुपमा सामन्तवाद साम्राज्यवाद विरोधी बहुदलीय प्रतिष्पर्धाको कुरा गरेपनि व्यवहारिक रुपमा संसदीय प्रतिष्पर्धाको बाटो हिँडिरहेको छ । यसका कैयौं नेताहरुभित्रै संसदीय प्रजातन्त्रलाई संस्थागत गर्ने मनोविज्ञान अन्तरनिहित देखिन्छ। हिंसापूर्ण क्रान्तिको धरातलबाट आएका एमाले र माओवादी अब अवैधानिक सङ्घर्षतिर फर्कने सम्भावना सम्भवतः अन्त्य भएको छ । अनि, त्यो खाली मैदान उपयोग गर्ने रणनीतिमा छ विप्लव नेतृत्वको नेकपा ।

माओवादी आन्दोलनको गर्भबाट जन्मिएको शक्ति हो विप्लव माओवादी अर्थात् विद्रोही नेकपा । शान्तिपूर्ण राजनीतिक सङ्घर्षको बिकल्प खोज्नेहरुको प्लेटफर्म बनेको छ विप्लवको नेकपा । नेत्रविक्रम चन्द र उनको पार्टीले जुन जोखिम उठाउने चेष्टा गरेको छ, त्यतातिर राज्यको बेलैमा ध्यान पुग्न जरुरी छ । क्रान्तिको विजयका लागि सुस्पष्ट वैचारिक कार्यदिशा, बलियो संगठित शक्ति, दुरदृष्टा नेतृत्व र उपर्युक्त परिस्थिति एवं संयोग चाहिन्छ । यस दृष्टिले हेर्दा ‘विप्लव माओवादी’ विजयका सन्दर्भमा ‘नालीमा बसेर ताराको उज्यालो’ हेरेकै शक्ति मान्नुपर्छ । तर, हाम्रोजस्तो अभाव र बेथितिको भू–धरातलमा यो उपेक्षा गर्न सकिने शक्तिचाहिँ होइन ।

जनयुद्धको प्रयोग नेपालको सन्दर्भमा नयाँ होइन। विगतमा प्रयोग गरिएका अनुभवहरुलाई शिक्षाको रुपमा लिन सकिन्छ, तर त्यसको पुनः प्रयोग हाम्रो भू–धरातलमा सम्भव छैन। २०५२–२०६३ को अवधिमा प्रयोग गरिएका अभ्यासहरुको विभिन्न कोणबाट अन्वेषण गरिएको छ। यसले विगतका कुनै पनि अभ्यासको पुनरावृत्ति गर्ने छुट विद्रोही नेकपालाई दिँदैन। सामान्य एम्बुसदेखि मोर्चाबन्दी युद्धका प्रयोगबारे प्रशस्त अनुसन्धान भइसकेको सन्दर्भमा त्यसमा नयाँपन दिन नसक्नु चन्दका लागि निकै ठूलो चूनौति हो।

चन्द मार्गका लागि दोस्रो चुनौति नेपालको माओवादी आन्दोलनप्रतिको निराशा र जनतामा परेको नकारात्मक प्रभाव हो। २०५२–२०६३ को जनयुद्धमा आर्जन गरिएको आदर्श, त्याग तपस्या र बलिदानीको किर्तिमानको गौरवगाथा कोर्न सकिन्छ । तर, पछ्याउन सजिलो छैन । परम्परागत सङ्घर्षका बलमा राज्यसत्ता कब्जा गर्न सकिन्छ भन्ने जनताको मनोविज्ञानमा अहिले काफी हदसम्म फेरबदल आएको देखिन्छ ।

शान्ति प्रक्रियाको प्रारम्भसँगै माओवादीहरु आधा दर्जन समूहमा विभाजित छन्। यी सबै समूहलाई हेर्ने ‘नागरिक चश्मा’ एउटै प्रकृतिको छ। पार्टी नेतृत्व हत्याउन पार्टी विभाजन गरेको, शक्तिकेन्द्रको योजनामा पार्टी फुटाएको, सत्ताको स्वाद चाख्न नपाएर जनयुद्धको कुरा गरेको जस्ता अभियोगहरु उनीमाथि लागेका छन्। जुन अभियोगको व्यवहारिक जवाफ चन्दले दिन सकेका छैनन्। यस्ता अभियोगहरुले चन्द समूह पनि ‘काले–काले मिलेर खाउँ भाले’ त होइन भन्ने गहिरो चस्को छ नागरिकमा ।

चन्दका लागि तेस्रो चूनौति, सुचना प्रविधिको विकासद्धारा विकसित चूनौति नै हो। विश्व राजनीतिका सन्दर्भमा सन् १९८० को दशकलाई सूचना, प्रविधिको दशकको रुपमा लिए पनि अल्पविकसित (तेस्रो विश्व) का लागि त्यसको प्रभाव निकै पछि मात्र प-यो। नेपालको सन्दर्भमा २०५२–२०६३ को क्रममा सूचना, प्रविधिको गुणात्मक विकासको अवस्था थिएन। माओवादीले आफ्ना निर्णयहरु तल्लो तहमा पु-याउन महिनौं लाग्दथ्यो भने माओवादी विरुद्ध राज्य पक्षका लागिसमेत राज्यसँग दु्रत सूचना संयन्त्र थिएन। माओवादीका विरुद्ध सुराकी गर्नेहरुसमेत घण्टौँ लगाएर सूचना पु-याउँथे। त्यतिबेलासम्म माओवादीहरु चाहनेबित्तिकै सुरक्षाको स्थितिमा परिवर्तन ल्याउन वा प्रतिरोधको योजना निर्माण गर्न सम्भव थियो।

आज परिस्थिति फेरिएको छ। सूचना प्रविधिको क्षेत्रमा पछिल्लो एक दशकमा नेपालमा गुणात्मक परिवर्तन आएको छ। देशका ९५ प्रतिशतभन्दा बढी जनता सूचनाको पहुँचभित्र छन्। त्यसमाथि अनलाइन मिडियाको विकासले सिंगो राष्ट्रलाई एउटा चिप्सको रुपमा संकेन्द्रण गरिरहेको छ। राज्यले चाह्यो भने जुनसुकै व्यक्तिको अवस्थाको बारेमा शहरमै बसेर जानकारी राख्न सक्छ। त्यसमाथि माओवादी नेता, कार्यकर्ताको अवस्था पनि त्यसभन्दा पृथक छैन। उनीहरु स्वयं सूचना, प्रविधिको पहूँचबाट टाढा रहन सक्दैनन् र सम्भव पनि हुँदैन। यस्तो परिस्थितिमा जनयुद्धको उठान नेपालका लागि निकै जोखिमपूर्ण बाटो हो। यो चुनौतिको कुनै ठोस समाधान विप्लवसँग देखिँदैन ।

चन्दका लागि चौथो चूनौति आफ्नो आन्तरिक शक्तिको शुद्धिकरण र सुदृढीकरण नै हो। चन्दको नेतृत्व क्षमताबारे अहिले नै निष्कर्ष पुग्ने वा समीक्षा गर्ने बेला भएको छैन, किनकि, माक्र्स, लेनिन, माओ, गोञ्जालो, प्रचण्ड लगायतका नेताहरु आन्दोलनको नेतृत्व गर्ने सन्दर्भमा चन्दभन्दा अनुभवी मात्र थिए भन्न सकिन्न। तर, चन्दपछिको नेतृत्वको संकट जनयुद्धका लागि निकै चूनौतिपूर्ण देखिन्छ। सङ्घर्षको आवश्यकताले नेतृत्वको विकास गर्छ भन्ने कुरामा दुईमत छैन। तर, त्यसका लागि नेतृत्वको भरोसायोग्य आधार भने चाहिन्छ। आजसम्म चन्दका बलिया उत्तराधिकारी देखिदैनन्, यसले विप्लवको सङ्घर्षले पेरुकै नियति भोग्छ भन्ने यथार्थतालाई नै बल मिल्छ ।

चन्द चूनौतिका कुरा गर्दा उनको आन्तरिक शक्तिको नैतिक धरातलको प्रश्न पनि एक हो। आजको स्थितिमा चन्दको आन्तरिक शक्तिभित्र तीन तहका नेता, कार्यकर्ता देखिन्छन्। पहिलो श्रेणीमा माक्र्सवादी आदर्श र साम्यवादको सपनामा आलोकिक नेता, कार्यकर्ता पर्दछन्। उनीहरु जीवनलाई सङ्घर्ष ठान्दछन्, जीवनपर्यन्त सङ्घर्षको झण्डा बोक्ने प्रण गर्दछन् । यी नेता, कार्यकर्ता नै चन्द गन्तव्यका पूँजी हुन्। दोस्रो श्रेणीमा कुण्ठा बोकेका नेता, कार्यकर्ताहरु पर्दछन्। यिनीहरुमा कुण्ठा र प्रतिशोधको समिश्रण भेट्न सकिन्छ। यिनीहरुको अन्तिम गन्तव्य पलायन वा नेतृत्वविरुद्ध आक्रोश नै हो । यो समूह विप्लव माओवादीमा सबैभन्दा बलियो देखिन्छ ।

तेस्रो श्रेणीमा युद्धलाई उद्योगको रुपमा सञ्चालन गर्न खोज्ने मनोवृति देखिन्छ। २०५२–२०६३ को अवधिमा संकलित रकमलाई व्यक्तिगत हितमा खर्च गर्न नसकेको हिनताबोधमा बाँचेका कार्यकर्ताहरु यो श्रेणीमा पर्दछन्। चन्दको आन्तरिक जीवनका लागि यो निकै ठूलो आन्तरिक चूनौति हो। युद्धको बहानामा चन्दा संकलन गर्ने, रातारात धनी हुने मनसाय यहाँभित्र छ, यसले माओवादी आन्दोलनलाई बदनामित मात्र गर्ने छैन, बिसर्जनको यात्रातिर धकेल्नेछ।

विप्लवको एकीकृत क्रान्तिको कार्यदिशा आफै अनिश्चयको शिकार बनेको छ । अहिले उनीहरु प्रचण्ड–बाबुरामले क्रान्तिमा धोका दिएको तर्कसहित आक्रोशको आगो ओकलिरहेका छन् । तर, यो नै कार्यदिशा हुन सक्दैन । यसरी हेर्दा विप्लव नेतृत्वको नेकपा नेपाली राजनीतिमा केही घुमन्ते विद्रोहीको रुपमा रहने र केही वर्षमा राजनीतिक मुलधारमा आउने सम्भावना नै बलियो देखिन्छ । तर, अहिले नै अन्तिम निष्कर्ष निकाल्ने बेलाचाहिँ भइसकेको छैन ।

यो पनि पढ्नुहोस्

नेकपाको जनसभा : कहाँबाट आए हजारौं मान्छे ?