‘प्रहरीका राम्रा काम पनि त हेरौं’ : सर्वेन्द्र खनाल

Sarbendra khanal
लाेकपाटी न्यूज

तनहुँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँबासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताएका छन् । आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा आयोजित स्वागत कार्यक्रममा महानिरीक्षक खनालले तनहुँ आफ्नो जन्म जिल्ला भएका कारण यहाँको हरेक समस्या समाधान र सुरक्षामा आफ्नो ध्यान केन्द्रित रहने बताए ।

महानिरीक्षक खनालले प्रहरी र समुदायबीचको सम्बन्ध सुमधुर बनाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु गरिएको र अभियान सार्थक बनाउन स्थानीयवासीको साथ र सहयोग आवश्यक पर्ने बताए । उनले प्रहरीले गरेका राम्रा काम पनि हेर्न र बुझ्न जनतासँग आग्रह गरे ।

सो अवसरमा स्थानीयवासी कृष्ण ढकालले आफ्नै ठाउँको मान्छे प्रहरीको उच्च सङ्गठनमा पुग्दा खुशी लागेको बताए । स्थानीय रनबहादुर श्रेष्ठ, तीलक खत्रीलगायतले उच्च ओहोदामा पुगेर तनहुँको नाम राख्न सकेकामा प्रहरी महानिरीक्षकलाई बधाई ज्ञापन गरेका थिए । प्रहरी महानिरीक्षक खनालले आज नै इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे र प्रहरी चौकी टुहुरे पसलकोसमेत निरीक्षण गरेका छन् ।

यसबीच महानिरीक्षक खनालले समाजमा हुने अपराध र अपराधीको नेपाल प्रहरीले दोहोलो काढेर छाड्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले दमौलीमा आयोजना गरेको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको दशौँ दिन महानिरीक्षक खनालले भने, “एक–दुई ठाउँमा घटना भयो भन्दैमा प्रहरी अत्तालिनु हुँदैन ।”

उनले नागरिकको रक्षामा खटिएका ७५ हजार नेपाल प्रहरी सदैव कर्तव्यनिष्ट र असल प्रहरी बनेर शान्ति सुरक्षामा अहोरात्र खट्न समग्र प्रहरी सङ्गठनलाई आग्रह गरे । उनले तनहुँका प्रहरी अधिकारीलाई नमूना काम गर्न निर्देशन पनि दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्