हङकङका व्यवसायीद्वारा चितवनका चेपाङलाई सहयोग

chitwan chepang
लाेकपाटी न्यूज

चितवन, १० मंसिर : हङकङमा रहेका कालिका नगरपालिकाका व्यवसायी आकाश बञ्जारा र हङकङ निवासी क्याथलिङले संयुक्तरुपमा रत्ननगर नगरपालिका–१५ माधवपुरको विन्ध्येश्वरी आधारभूत विद्यालयका चेपाङ विद्यार्थीलाई सहयोग गरेका छन् ।

विद्यालयमा अध्ययनरत ३० जना चेपाङ विद्यार्थीलाई उनीहरुले जाडोमा लगाउने न्यानो कपडा सहयोग गरेका हुन् । स्थानीय अमृत वस्तीको समन्वयमा भएको कार्यक्रममा प्रदेशसभा सांसद कञ्चन खनालले सो कपडा विद्यार्थीलाई हस्तान्तरण गरेकी थिइन् ।

सोही विद्यालयको छात्रावासमा विगत ६ वर्षदेखि ३० जना चेपाङ विद्यार्थीहरु आवासीयरुपमा अध्ययन गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य भीमप्रसाद खनालले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सांसद कञ्चन खनाल, रत्ननगर वडा नं. १५ का वडा अध्यक्ष हुमनाथ लामिछाने, जनएकता उपभोक्त सहकारी संस्थाका अध्यक्ष निलकण्ठ लामिछाने, विद्यालयका सल्लाहकार द्रोणप्रसाद लामिछाने, ओमप्रसाद लामिछाने, समितिका सदस्य गोकुल पन्त, अमृत वस्तीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

हङकङमा व्यवसाय गर्दै आएका आकाश हेण्डिक्राफ्ट प्रालिका सञ्चालक आकाश बञ्जारा र क्याथलिङले यस अगाडि पनि विभिन्न सामाजिक क्षेत्रमा आर्थिकलगायत विभिन्न सहयोग गर्दै आएका थिए ।