‘सुशासनमा भरतपुर महानगर प्रशंसनीय’ : प्रमूख आयुक्त बास्कोटा

mahanagar1
लाेकपाटी न्यूज

भरतपुर । संस्थागत सुशासनमा भरतपुर महानगर अघि बढिरहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । भ्रष्टचारविरुद्ध अभियान चितवनको समन्वयमा भरतपुर महानगरपालिकाले गरेको संस्थागत सुशासन र वित्तीय प्रबन्ध विषयक कार्यशाला गोष्ठीका वक्ताहरुले भरतपुर महानगरपालिका संस्थागत सुशासनमा अघि बढिरहेको बताएका हुन् ।

कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले भरतपुर महानगरपालिकामा सुशासन कायम भइरहेको र सुशासनलाई अझ मजबुद बनाउन सुझाव दिएका थिए । उनले भने, ‘आम मानिसको सूचना माग्ने हक सबैमा हुन्छ, त्यो हक महानगरवासीहरुले प्रयोग गरिरहेका र सूचना दिने काम भरतपुर महानगरबाट प्रभावकारी भइरहेको पाइयो ।’

प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले तीन/तीन महिनामा कार्यालयका सूचनाहरु सार्वजनिक गर्नुपर्ने बताउँदै भने, ‘सूचना सार्वजनिक गर्ने काम भरतपुर महानगरबाट भइरहेकै छ ।’ प्रमुख बास्कोटाले भने, ‘सार्वजनिक खलल पुग्ने, गोपनियता भङ्ग हुने र जातीय दंगा भड्कने खालको सूचना दिनुपर्दैन ।’ उनले सूचनाको हक लोकतन्त्रको प्राण वायु रहेको बताए ।mahanagar2

प्रमुख सूचना आयुक्त बास्कोटाले भरतपुर महानगरलाई ५ कुरामा खाद्यान्न, हरियो तरकारी, फलफूल, माछामासु, दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुनलाई सुझाव दिएका थिए । उहाँले यसैगरी महानगरलाई भ्रष्टचारको गन्ध नआउने तरिकाले प्रशासनलाई चुस्त दुरुस्त राख्न सुझाव दिए । प्राविधिक शिक्षा र युवालाई तालिमको व्यवस्था गर्न पनि महानगरलाई प्रमुख आयुक्त बास्कोटाले सुझाव दिएका थिए ।

यसैगरी कार्यक्रममा कर विज्ञ रुप खड्काले भरतपुर महानगरको कर व्यवस्थापन राम्रो लागेको बताए । उनले भने, ‘कर वृद्धि होइन, करको दायरा बढाउनुपर्छ, भरतपुर महानगरमा करको दायरा बढिरहेकै छ ।’ खड्काका अनुसार ज्यादा कर लगाउने अर्थात ज्यादा कर छुट दिने दुवै गर्न नहुने बताए । भरतपुर महानगरलाई पनि उनले करमा छुट नदिन र दायरा जतिसक्दो फराकिलो बनाउन सुझाव दिए ।

कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरले कर वृद्धिभन्दा पनि करको दायरा फराकिलो बनाउँदै लगेको बताइन् । कार्यक्रममा महानगर प्रमुख दाहालले सबैको सहकार्य र सहयोगमा भरतपुर महानगरलाई देशकै उदाहरणीय महानगर बनाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘भरतपुर महानगरलाई सबैको साथ, सहयोगको अपेक्षा सदैव छ, सबैको साथ र सहयोग भए भरतपुर महानगरलाई देशकै नमुना महानगरको रुपमा भए चिनाउन हामी सक्षम हुने थियौँ ।’ सबैसँग सहकार्य र समन्वय गरेर महानगर अघि बढिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाहले कर्मचारी र जनप्रतिनिधिबीच समन्वयको खाँचो रहेको बताए । कार्यक्रममा प्राध्यापक चिरञ्जीवी श्रेष्ठ, शिक्षाविद् रमाकान्त सापकोटा, उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, बीउ व्यवसायी मित्रराज दवाडी, पर्यटन व्यवसायी विश्वराज सुवेदी, प्रदेश ३ का उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजन गौतमलगायतले जिज्ञासा राखेका थिए ।