प्रेममा छन् अनमोल र सारा ?

anmol sara
लाेकपाटी न्यूज

अभिनेत्री सारा सिर्पालीको सुन्दरता र अभिनयको खुबै प्रशंसा हुने गर्छ । अभिनेता निखिल उप्रेतीको जोडी भएर उनले फिल्म ‘रुद्र’बाट डेब्यु गरेकी थिइन् । दोस्रो सहकार्य पनि उनको निखिलसँग नै भयो । ‘पिञ्जडा ब्याक अगेन’ उनको प्रदर्शनमा आएको दोस्रो फिल्म हो । तर, दुर्भाग्य, दुवै फिल्म बक्सअफिसमा असफल भए ।

एक्सन स्टारसँग काम गरेर पनि सफलताबाट बञ्चित भएकी उनी यही मंसिर २८ गते फिल्म ‘सुश्री सम्पत्ति’मार्फत करीब १ वर्षपछि पर्दामा देखिँदैछिन् । यसपटक निखिल नभई उनका लागि लड्ने दुई हिरो छन् सलोन बस्नेत र विनोद न्यौपाने । सुव्रत आचार्यले फिल्म निर्देशन गरेका हुन् । फिल्मलाई ‘कमेडी प्रधान’ बताइएको छ ।

तेस्रो फिल्म रिलिजको संघारमा रहँदै गर्दा उनलाई डर र उत्साह दुवै रहेछ । भन्छिन्, ‘फिल्म कस्तो होला भन्ने डर एकातिर छ भने एक वर्षपछि दर्शक भेट्न पाउँदै छ भन्ने कुराले उत्साहित पनि छु ।’ उनी सुश्री सम्पत्ति आफ्नो सुखद फिल्मी करिअरका लागि चल्नैपर्ने बताउँछिन् । उनले आफ्नो भूमिका बारे भने बताउन चाहिनन् ।

फिल्मका कारण चर्चामा रहेकी साराको केही महिनादेखि ‘लभ लाइफ’को विषय पनि ‘एक कान, दुई कान हुँदै मैदान’ हुन थालेको छ । उनी अहिले अभिनेता अनमोल केसीसँग प्रेममा रहेको सिनेवृतमा चर्चा छ । अनमोलले आफ्नो आधिकारिक इन्स्ट्रामा ५ सय ९ जनालाई पछ्याउँछन्, जसमा सारा पनि पर्छिन् । फिल्म ‘रुद्र’को बेलादेखि दुई एकअर्कासँग नजिक भएको खबर छ ।

आइतबार पुतलीसडकको पलेटी क्याफेमा पत्रकारसँग गफिँदै उनले अनमोल साथी मात्र रहेको बताइन् । उनले प्रेममा रहेको कुराको पनि खण्डन गरिन् । भन्छिन्, ‘उहाँले मलाई ‘रुद्र’ र ‘पिञ्जडा ब्याक अगेन’को बेला शुभकामना दिनुभएको थियो । उहाँको ममीसँग काम गरेका कारणले पनि होला । तर, प्रेममा छैनौं ।’ उनले अनमोलसँग फिल्ममा काम गर्ने इच्छा रहेको भने बताइन् ।