‘समृद्धि अब टाढा छैन’ : प्रधानमन्त्री ओली

KP sharma Oli
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने र टाढा नभएको बताएका छन् । उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको प्रथम बैठकलाई आइतबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उत्पादनका नयाँ क्षेत्र पहिचान गर्ने त्यसलाई कार्यन्वयन गरेर दुई अंकको आर्थिक वृद्धिसहित समृद्धि हासिल गर्न धेरै समय नलाग्ने प्रधानमन्त्री ओलीको दाबी छ । “परम्परागत ढंगले धान फलाएर, गहुँ फलाएर वा आलु फलाएर मात्र आर्थिक वृद्धि हुँदैन” प्रधानमन्त्री ओलीले भने, “खनिज पदार्थको उत्खनन्, र कृषिको आधुनिकीकरणमार्फत् देशलाई समृद्ध बनाउन सकिन्छ ।”

प्रधानमन्त्री ओलीले दुई तिहाई बहुमतसहित देश निर्माण गर्ने दुरदर्शी योजना भएको सरकार भएकाले यसमा शंका नगर्न सबैलाई आग्रह गरेका छन् । “बहुमतले मात्र देशको विकास हुदैन” प्रधानमन्त्री ओलीले भने, “विगतमा पनि बहुमतका सरकार थिए तर केही भएन । अहिले देश निर्माणको ठोस योजना सहितको दुई तिहाईको सरकार भएकाले देश बन्छ । यसका लागि सबै क्षेत्रको साथ सहयोग चाहिन्छ ।”

देश निर्माणको प्रमुख आधार सुशासन भएकाले त्यसको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । लोकतन्त्र राजनीतिक हक अधिकार प्राप्तिको विषय मात्र भन्दा पनि आम जनताको जीवनमा सुखको अनुभुत गराउने माध्यम हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ ।

प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रमा भएका नीतिगत अफ्ठ्याराहरुलाई सजिलो बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । “सरकार र निजी क्षेत्रका चाहनाहरु कहिलेकाँही नमिल्न सक्छन्” प्रधानमन्त्री ओलीले भने, “तर यथासक्य सरकार लचिलो भएर ऐन कानूनलाई परिमाजर्न गर्न तयार छ ।”

संघीय संसदको आगामी अधिवेशनमा आफ्ना आफ्ना क्षेत्रमा भएका ऐन कानुनका अप्ठ्यारालाई लिपिवद्ध गरेर संसद सचिवालयमा बुझाउन प्रधानमन्त्री ओलीले आग्रह गरे । “संसदको आगामी अधिवेशनमा संशोधन गर्नुपर्ने ऐन कानूनहरु कारणसहित पेश गर्नुहोस्, हामी त्यसलाई अध्ययन गरेर सजिलो बनाउने प्रयास गर्छौं । ”