सामाजिक सुरक्षा योजना- ‘श्रमिकहरुको भविष्य सुनिश्चित भएको छ’ : अध्यक्ष राणा

Bhawani Rana
लाेकपाटी न्यूज

काठमाडौं, ११ मंसिर । सरकारले श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गरे ।

योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन् । उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले आजदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण (पेन्सन) समेत पाउने वातावरण पनि बनेको छ ।

सरकारको यो योजनालाई लिएर नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा भन्छिन्, ‘आजबाट सामाजिक रूपान्तरण भएको छ । औद्योगिक शान्ति र सामाजिक न्यायका लागि श्रम क्षेत्रलाई मर्यादित बनाउन यस योजनाले मद्दत गर्नेछ । श्रमिकहरूको भविष्य सुनिश्चित भएको छ ।’ उनले सामाजिक सुरक्षा योजनाले औद्योगिक क्षेत्रमा शान्ति स्थापित हुने बताइन् ।

अध्यक्ष राणाले सामाजिक सुरक्षा सबै नागरिकको अधिकार भएको बताउँदै यो प्रणालीलाई दिगो र भरपर्दो बनाउन रोजगारदाताको पनि महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरिन् । उनले सरकारले यसको कार्यान्वयन पक्षलाई विशेष ध्यान दिएर अघि बढ्नुपर्ने उल्लेख गरिन् ।