प्रचण्ड जीवन : विरोध जति, उति नै गति !

Suwash Poudel
जति आलोचनाले गति लिन्छ, उति नै आशाको मनस्थिति तयार हुन्छ, यो प्रचण्ड नीति हो । प्रचण्ड सहजतामा रम्न जान्दैनन्, उनी जटिलता खोज्छन् र समाधानको सुत्र निकाल्छन् । जटिलताको हलका लागि साध्य हुन् प्रचण्ड ।
लाेकपाटी न्यूज

– सुवास पौडेल

आदिम प्राकृतिक रुपमै मानिस अब्बल, विद्धान्, महान्, बलशाली, शक्तिशाली, कुटनीतिज्ञ, राजनितिज्ञ आदि आदि विभिन्न व्यक्तित्व आफू नै भएको ठान्दछ, आफूलाई नै श्रेष्ठ ठान्दछ । यो स्वाभाविक पनि हो । समाज र प्राकृतिक विकासको गतिले मानिस श्रेष्ठ बन्यो र बन्दैछ ।

यही गतिमै सवार छ व्यापार र राजनीति । अनुकूलता सिर्जना दुवैको पहिलो ध्येय हो, अनुकूलताका लागि दुवैका लागि एउटै विधि प्रयोग हुन्छ, अग्लाउने, ठुसाउने, ठिम्राउने, विज्ञापन आलोचना आदि आदि । यिनै विधि र नियमबाट नेपाली राजनीति र व्यावसायिक क्षेत्र पनि अछुतो छैन । मिडियाको व्यापार र राजनीतिक गतिका लागि नेपालमा प्रयोग हुने नाम र शब्द हो प्रचण्ड ।

प्रचण्ड नामले यो देशमा के बिकेन र ? कुन मिडिया हाउस चलेनन् र ? राजनीतिक परिवर्तनसँगै राज्य पुनर्संरचना, संविधान निर्माण, सरकार निर्माण र प्रधानमन्त्रीको कुर्सी, यी सबै काममा प्रचण्ड शब्द र सुत्रले नै काम गर्यो । अस्तिको मार्सी भात, हिजोतिरको धुप अनि ‘तातो कुण्ड’सम्म आउँदा बजारमा प्रचण्ड नाम र कार्य हाहाकार छ । नेपाली समाजको अर्को ठूलो ब्यापार छ हल्लाको ब्यापार । हल्लाको आफ्नै नालीबेली र कथा छ ।

‘खोतिया’मा मकै भुट्दै गर्दा उछिट्टिएको केही फुलाजस्तै चाम्रा तर हेर्दा राम्रा । निष्कर्षमा फूला न ठेला । केही थान विद्धानहरु छन् हाम्रो देशमा । उनै विद्धान् मित्रहरु देशको हल्लाको ब्यापार गर्छन् । पूर्वतिर भैंसी ब्यायो, दक्षिणतिर गोरु चरेको हल्ला गर्छन् । केही समययता यस्तै वुद्धिजिवीको एक हुलले ठूलै हल्ला गर्यो । हल्लामा डकारको गन्ध थियो, अनि पूर्वाग्रहप्रेरित हमला पनि । हमलाको एउटै उद्देश्य हो, प्रचण्डलाई लुछ्ने अनि खियाउने । यो डकारसँगै अर्को दस्ता पनि छ, जसले प्रचण्डलाई अस्वाभाविक हौस्याउँछ । त्यो पनि राम्रो कुरा पक्कै होइन ।

उमेरको भीमकाय आहालमा चोबलिएर वुद्धिजिवी हुनु, दुईचार डोका किताक घोकेर पढेर वुद्धिजिवी हुनु र जीवन गतिको समुन्द्र मन्थन गर्दै वुद्धिजिवी हुनु फरक कुरा हो । आहालमा चोबलिन तयार हुनेभन्दा समुन्द्र मन्थन गर्न निस्कने जीवन गतिका हजार छालहरुसँग सामना गर्न र भीमकाय समुन्द्रको लयमा लय मिलाउन सक्षम हुन्छन् । आहालमा चोबलिँदा पानीको अनुभूति त होला । तर, समुन्द्रको नुनलेझैं शरीर चहराउँदैन । मूलतः जटिल व्यवहारबाटै थप ज्ञान आर्जन हुन्छ । यो साध्य सायद हर मानवमा लागू हुन्छ ।

जीवन गति जति जटिल हुन्छ, जीवन गतिको ताल उति मिल्छ । सहजताले जटिलताको हल असहज हुन्छ । तर, असहजताको जीवन यात्रा जति अधिक हुन्छ, जीवनमा जटिल साध्यहरुको हल उति नै सहज हुन्छ । यस्तै छ प्रचण्ड जीवन पनि । उनको राजनीतिक जीवनको यात्रा जटिल रह्यो । प्रचण्ड नेपाली राजनीतिका अरु नेताभन्दा पृथक र जटिल छन् । त्यसैले नेपाली राजनीतिका जटिल साध्यहरुको हल प्रचण्डबाटै सम्भव रह्यो, रहनेछ । मानिसहरु प्रचण्ड विना नै सम्भव छ भनि उफ्रिन्छन्, उफ्रिन्छन्, अनि थेचिन्छन् । अनि भन्छन्, ‘पार लाउने प्रचण्डले नै हो ।’

हुन त मारिए हजारौं जनता । तर, पनि जनतासंगै अङ्गालो हालेर रोए प्रचण्ड । आयो त्यागले परिवर्तन, खुसीमा नाचे जनतासंग प्रचण्ड । तर परिवेश फरक छ । तर पनि समय यति क्रुर छ, जहाँ प्रचण्डलाई रुने स्वतन्त्रता पनि छैन । यसो भनिरहँदा प्रचण्ड श्रृङ्खलाबद्ध पारिवारिक पीडामा छन् । तर, उनी टाउको हल्लाउँदै मुस्कुराउन छोड्दैनन् । मानिसहरु समस्यामा तरङ्गित हुन्छन् । तर, प्रचण्ड मुस्कुराउँछन् ।

एउटा अचम्मको दृश्य पनि देखिन्छ, नेपालमा सबैभन्दा बढी र छिटो आलोचना हुने पात्र पनि प्रचण्ड नै हुन् । तर, पनि ठूलो आशा तिनै आलोचकको भित्री मनमा पनि छ । केही थान विद्धान् मित्रहरु आलोचनामा प्रचण्ड आतिन्छ भनेर सोच्छन् । तर, आलोचक आफैं आतिँदा प्रचण्ड डेग हल्लिदैनन् । बाढीले बगाएर बगरमा पछारिएको ठुटोजस्तै कमजोर छैनन् प्रचण्ड । हरेक क्रिया बराबर तर विपरित प्रतिक्रिया हुन्छ, त्यो विज्ञानलाई मान्छन् उनी । जति आलोचनाले गति लिन्छ, उति नै आशाको मनस्थिति तयार हुन्छ, यो प्रचण्ड नीति हो । प्रचण्ड सहजतामा रम्न जान्दैनन्, उनी जटिलता खोज्छन् र समाधानको सुत्र निकाल्छन् । जटिलताको हलका लागि साध्य हुन् प्रचण्ड ।

अहिलेको सरकार र एकतापछि पनि पार्टी असहजता र अन्तरविरोधमा छ । प्रतिपक्ष, कार्यकर्ता र कथित विद्धान् वर्ग प्रचण्ड समाप्तिको निष्कर्ष निकाल्दैछन् । तर, तिनीहरु भ्रममा मात्र छन् । यही रनभुल्लमा वैद्यदेखि विप्लव अनि विष्टदेखि किराँतीसम्म छन्, जो प्रचण्ड गति र दिमागलाई उल्टो बनाउन लागेका छन् । तर, परिणामले स्वयं उनीहरुलाई नै गलत सावित गरिदिन्छ । इतिहासले बारम्बार यही कुरा पुष्टि गर्दै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्