अध्यक्ष तिमिल्सिना र चीनका राजदूतबीच शिष्टाचार भेट

ganesh timilsina
लाेकपाटी न्यूज

काठमाडौं, ११ मंसिर । नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टचार भेटघाट गरेकी छिन् । आफ्नो दुई वर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेकी राजदूत होङले मंगलबार सिंहरदबारमा अध्यक्ष तिमिल्सिनासँग बिदाई भेट गरेकी हुन् ।

शिष्टाचार भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले राजदूतको दुई वर्षको कार्यकाल सफल भएकोमा बधाइ दिएका थिए । उनले राजदूत होङको कार्यकालमा नेपालले तीन तहको निर्वाचन सम्पन्न गरी अस्थिरताको अन्त्य सफल भएको बताए । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले निर्वाचनपछि स्थायी सरकार निर्माण गरी समृद्धितर्फ अगाडि बढेको नेपाललाई चीनको साथ र सहयोग उल्लेखनीय रहेको जानकारी दिए ।

‘नयाँ सरकार निमार्णपछि नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र थुप्रै मन्त्रीहरुले चीनको भ्रमण गर्नुभएको छ,’ तिमिल्सिनाले भने, ‘ती उच्चस्तरीय भ्रमणका क्रममा दुई देशबीच व्यापार र पारवाहन सम्झौतालगायत थुप्रै कार्यक्रम अगाडि बढाएको छ । त्यस्तै चिनियाँ उच्च राजनीतिक तथा सरकारी टोलीले पनि यहाँकै कार्यकालमा नेपाल भ्रमण गर्नुभएको छ । यसकारण यहाँको कार्यकाल सफल र ऐतिहासीक भएको मैले विश्वास लिएको छु ।’

तिमिल्सिनाले राजदूत होङकै कार्यकालमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउने चर्चा चलेको बताउँदै उनले छिट्टै राष्ट्रपति सीको भ्रमण हुने अपेक्षा व्यक्त गरे । साथै उनले नेपालको संसद र चीनको नेसनल्स पिपुल्स कांग्रेसबीच पनि सुमधुर सम्बन्ध रहेको स्मरण गर्दै आगामी दिनमा अनुभव आदान˗प्रदानका लागि भ्रमण आवश्यक रहेको धारणा राखे ।

भेटमा राजदूत यू होङले आफ्नो कार्यकालमा नेपालले संविधानमार्फत प्राप्त गरेको ऐतिहासिक परिवर्तनलाई कार्यन्वयन गर्न सफल भएको बताइन् । उनले छोटो समयमा तीन तहको निर्वाचन सम्पन्न गरी स्थायी सरकार निमार्ण गरेको नेपाल सरकार, राजनीतिक दल र जनताले अन्तर्राष्ट्रिय समुदायको मन जित्न सफल भएको जानकारी दिइन् ।