‘ऐन–कानून व्यवहारिक हुनुपर्छ’ अध्यक्ष तिमिल्सिना

Ganesh prasad Timalsina
लाेकपाटी न्यूज

काठमाडौं, ११ मंसिर । ऐन कार्यन्वयन मापन तथा अध्ययन अनुसन्धान सम्बन्धी एकदिने कार्यशाला गोष्ठी आयोजना भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको गोष्ठीमा कानुन निर्माणको प्रक्रियाको अध्ययन अनुसन्धान र निर्माण भएका ऐन कार्यन्वयनको मापन तथा मार्गचित्रबारे छलफल गरिएको छ ।

कार्यशाला गोष्ठीको उदघाटन कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संसद नयाँ संविधान अनुसार बन्नुपर्ने कानुन निर्माण र संशोधनको प्रक्रियामा रहेका बेला यो गोष्ठी फलदायी हुने धारणा व्यक्त गरे । उनले अब बन्ने तथा परिमार्जन हुने कानून व्यवहारिक तथा कार्यान्वयन गर्न सहज हुन ढंगले निर्माण गर्नुपर्ने बताए ।

‘हामीले निर्माण गरेका कानून धेरै छन् । तर, सबै प्रभावकारी रुपमा कार्यान्वयन भएका छैनन्,’ उनले भने, ‘अब, ती पुराना कानूनलाई समयसापेक्ष परिमार्जन गरी त्यसको प्रतिफल जनताले महशुस र प्रयोग गर्न पाउनुपर्छ ।’

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले नयाँ संविधानअनुसार निर्माण भएका मौलिक हक सम्बन्धी कानुन कार्यन्वयन गर्न सरकार मूख्य ध्यान दिन जरुरी रहेको धारणा राखे । ‘ऐनमा लेखेको कुरा जनताको दैनिकीसँग जोडिनुपर्छ ।

त्यसकारण यसलाई कार्यान्वयन गर्न पनि कार्ययोजना बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गर्दछु,’ उनले भने ।
उनले नेपालमा विधि निर्माण गर्न जनताबाट निर्वाचित भएका सांसदहरु विधायिकी प्रक्रिया तथा त्यसको अध्ययन अनुसन्धानमा लाग्नुपर्ने बताए ।

‘संघीय सांसदले विधि निर्माण गर्ने हो । धेरै आफ्नो निर्वाचन क्षेत्रमा वा अन्य कार्यक्रममा हिँडेर कानून निर्माणलाई अलपत्र पार्नु हुँदैन,’ उनले भने ।