श्रमिकका लागि नयाँ युग : के हो सामाजिक सुरक्षा ? (पूर्णपाठ)

kp oli and gokrna bista
लाेकपाटी न्यूज

काठमाडौं । सरकारले मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अनवरत प्रयत्नपछि कार्यक्रमको औपचारिक घोषणा गरिएको हो ।

यो कार्यक्रम नेपालकै इतिहासमा अत्यन्तै महत्वपूर्ण कार्यक्रम हो, जसले करोडौं नेपालीहरुको भविष्य र अशक्त अवस्थाको चिन्तालाई सम्बोधन गरेको छ । यस्तो छ सामाजिक सुरक्षा कार्यक्रम (पूर्णपाठ) ।

१. हरेक रोजगारदाता कम्पनीले आफ्ना हरेक श्रमिकको आधारभूत पारिश्रमिकबाट १० प्रतिशत सञ्चयकोष कट्टा गरी सोहीबराबर रकम थपेर अब सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिनेछन् ।

२. प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकको ८ दशमलव ३३ प्रतिशतबराबरको रकम रोजगारदाता कम्पनीका तर्फबाट उपदानस्वरूप सामाजिक सुरक्षा कोषमा हरेक महिना जम्मा हुनेछ ।

३. प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकबाट १ प्रतिशत रकम सामाजिक सुरक्षा करबापत कट्टा गरी सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ ।

४. हरेक रोजगारदाताले प्रत्येक श्रमिकका लागि सामाजिक सुरक्षा कोषबापत १ दशमलव ६७ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् ।

५. ०६६/६७ देखि सामाजिक सुरक्षा करबापत उठाएको १८ अर्ब र श्रम मन्त्रालयमातहत रहेको केन्द्रीय कल्याणकारी कोषको साढे १९ अर्ब रुपैयाँ अब सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ ।

६. कोषमा जम्मा भएको रकम लगानी हुनेछ । प्रतिफल कोषमा थपिनेछ । त्यस्तै, सरकार र दातृ निकायबाट प्राप्त हुने अनुदानले पनि कोष बढ्दै जानेछ ।

रकम जम्मा भएको १५ वर्ष पुगे पेन्सन, नपुगे एकमुष्ट फिर्ता, बीचमा उपचार पनि, के छ त्यससम्बन्धि व्यवस्था ?

१. वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत १५ वर्ष कोषमा रकम जम्मा गरेका श्रमिकले जीवनभर पेन्सन पाउनेछन् । यो अवधिमा बिरामी वा दुर्घटनाबापत रकम लिए पनि पेन्सनमा फरक पर्नेछैन । तर, १५ वर्ष नपुगेका श्रमिकले प्रतिफलसहित आफ्नो नाममा जम्मा भएको रकम एकमुष्ट पाउनेछन् । श्रमिकको मृत्यु भएमा सो रकम परिवारले पाउनेछन् ।

२. १५ वर्ष नपुग्दै पनि श्रमिकको मृत्यु भएमा उनको आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकम पेन्सनका रूपमा आश्रित पति वा पत्नीलाई जीवनभर कोषबाट उपलब्ध हुनेछ । सन्ततिलाई शैक्षिक वृत्ति, बाबुआमालाई आर्थिक सहायता र परिवारलाई अन्तिम संस्कार खर्च उपलब्ध हुनेछ ।

३. बिरामी वा सुत्केरी हुँदा अस्पताल भर्ना भई उपचार गराउनुपरेमा एक लाख रुपैयाँसम्म खर्च सीधै अस्पताललाई, प्रसूति स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम, बिरामी बिदाबाहेक थप उपचार गराउनुपर्ने भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम पनि कोषबाट उपलब्ध गराइनेछ ।

४. व्यवसायजन्य कारणले दुर्घटनामा पर्दा वा अशक्त हुँदा सम्पूर्ण उपचार खर्च कोषले बेहोर्नेछ । साथै, काममा नफर्केसम्म आधारभूत पारिश्रमिकको ६० प्रतिशत कोषबाट उपलब्ध हुनेछ । स्थायी असक्षम भएमा जीवनभर निवृत्तिभरण हुनेछ ।

रोजगारदाताले रकम जम्मा नगरेमा के हुन्छ ?

१. मुलुकभर दर्ता भएका सम्पूर्ण रोजगारदाता कम्पनी तथा प्रतिष्ठान अनिवार्य रूपमा कोषमा दर्ता हुनुपर्नेछ । यसका लागि विभिन्न प्रदेशलाई विभिन्न म्याद तोकिएको छ ।

२. काठमाडौं उपत्यकाभित्रका कम्पनी ५ फागुनभित्र, प्रदेश ३ का अन्य रोजगारदाता १४ फागुनभित्र, प्रदेश १ का फागुन मसान्तसम्म, प्रदेश २ का १४ चैतसम्म, गण्डकी र प्रदेश ५ का चैत मसान्तसम्म र कर्णाली र सुदूरपश्चिममा १४ वैशाखभित्र कोषमा दर्ता हुनुपर्नेछ ।

३. कोषमा दर्ता नहुने वा रकम जम्मा नगर्ने रोजगारदाताको बैंक खाता रोक्का राख्ने, सम्बन्धित संस्था तथा सञ्चालकको सम्पत्ति रोक्का राख्ने, अनुमतिपत्र निलम्बन गर्ने, राहदानी रोक्का गर्नेलगायतका कारबाही कोषले गर्नेछ ।