काङ्ग्रेसका ‘सबैभन्दा खतरनाक’ पात्र

Dev prakash Tripathi
पार्टीलाई संस्थागत बनाउन कुनै योगदान पुऱ्याएनन्, तर उनीकहाँ ठोक्किन पुगेका हरेक नेता–कार्यकर्तालाई ‘इन्स्टिच्युसनलाइज्ड’ गर्नुपर्छ भन्न कहिल्यै बिर्सिएनन् । अनि गिरिजाप्रसादबाट भए–गरेका गल्ती–कमजोरीको भारी बोक्न सुशील कहिल्यै हिचकिचाएनन् ।
लाेकपाटी न्यूज

– देवप्रकाश त्रिपाठी

इतिहासमा सुशील कोइरालाको नाम अब मेटिँदैन, तर उनी स्मरण गरिरहनुपर्ने पात्र हुन् भन्नेचाहिँ ठानिँदैन । वि.सं. २०१७ सालमा दुईतिहाइ बहुमतको सरकार अपदस्थ हुँदा सुशील कोइराला डा. तुलसी गिरीका स्वकीय सचिव थिए र उनले त्यसबेला बीपी कोइरालालाई कसरी धोखा दिएका थिए भन्ने कुराको विवरण कोइराला परिवारले अहिलेसम्म सार्वजनिक गरेको छैन । तर, गिरिजाप्रसाद कोइरालालगायत त्यस परिवारका सदस्यहरू अन्तरमनदेखि सुशीलप्रति सम्मानभाव राख्दैनथे । त्यसैले गिरिजाप्रसादले उनलाई आफ्नो उत्तराधिकारीका रूपमा कहिल्यै बुझेका थिएनन् र गिरिजा बाँचिरहेका भए सुशील प्रधानमन्त्री तथा पार्टी सभापति बन्न सम्भव पनि मानिँदैन ।

काङ्ग्रेस र कोइराला परिवारभित्र सुशील कोइरालाको स्थिति जस्तोसुकै भए पनि २०४६ को परिवर्तनपछि गिरिजाप्रसादको ढोका कुरेरै उनले आफूलाई स्थापित गरेका हुन् र, पार्टीप्रति समर्पित एक त्यागी, निष्ठावान तथा इमानदार नेताको छवि बनाउने सफलता सुशील कोइरालालाई प्राप्त भएको हो । सुशील कति त्यागी, कति सत्जन, इमानदार र निष्ठावान हुन् भन्ने कुराको मूल्याङ्कन समयाक्रममा हुँदै गर्ला । जे भए पनि गिरिजाप्रसादसँग चिप्किएर बस्नु र ‘काङ्ग्रेस नाम’ जपेर बस्नुको कुनै विकल्प उनीसँग थिएन ।

पहिले नै मन्त्रीको जिम्मेवारी लिएका भए पनि उनी ‘एक्स्पोज’ हुन सक्थे र प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका सदाका निम्ति बन्द हुन पनि सक्थ्यो । आफू, आफ्नो क्षमता, काङ्ग्रेस कार्यकर्ताहरूको मनोवृत्ति र गिरिजाप्रसादलगायत कोइराला परिवारका सदस्यहरूको आफूप्रतिको दृष्टिकोणबारे स्पष्ट भएकोले हुनुपर्छ सुशीलले प्रधानमन्त्रीभन्दा तलको जिम्मेवारी ग्रहण गरेर ‘एक्स्पोज’ हुन चाहेनन् । दु्रपदको दरबारमा आयोजित ‘बरमाला’ समारोहमा अर्जुनले तराजुमाथि अड्काइएको माछाबाहेक अन्य कुरामा आँखा नराखेजस्तै सुशीलले प्रधानमन्त्री पदमा आँखा लगाएर बसे र मृत्युपूर्व उक्त पद प्राप्त गरेरै छोडे ।

सुशील कोइरालाले काङ्ग्रेस पार्टीको निर्माण र विकासमा कुनै उल्लेख्य योगदान पुऱ्याउन नसकेको भए पनि काङ्ग्रेसबाहेक अन्य कुनै पार्टीले उनको इच्छापूर्ति गर्न असम्भव थियो । त्यसैले बाँचिन्जेल सुशील कोइरालाले ‘ऊ गरेर भए पनि काङ्ग्रेसलाई इन्स्टिच्युसनलाइज्ड गर्नुपर्छ’ भन्न कहिल्यै छोडेनन् । उनले पार्टीलाई संस्थागत बनाउन कुनै योगदान पुऱ्याएनन्, तर उनीकहाँ ठोक्किन पुगेका हरेक नेता–कार्यकर्तालाई ‘इन्स्टिच्युसनलाइज्ड’ गर्नुपर्छ भन्न कहिल्यै बिर्सिएनन् । अनि गिरिजाप्रसादबाट भए–गरेका गल्ती–कमजोरीको भारी बोक्न सुशील कहिल्यै हिचकिचाएनन् । पार्टीका नेता–कार्यकर्ताहरूसँग पार्टीलाई संस्थागत एवम् सुदृढ बनाउने कुरा गरिरहँदा आफूले अलिक पत्याएका मानिससँग गिरिजाप्रसाद कोइरालाका बारेमा समेत नकारात्मक टिप्पणी गरेर उनले गिरिजाभन्दा आफू योग्य भएको सन्देश दिन पनि नखोजेका भने होइनन् । यस्ता सुशील कोइराला पनि काङ्ग्रेसका एक व्यक्तिको सन्दर्भ आउँदा निकै गम्भीर बन्थे र भन्ने गर्दथे ‘यो मानिस काङ्ग्रेसभित्रको सबैभन्दा खतरनाक मानिस हो, यो मान्छेबाट काङ्ग्रेस जोगाउनुहोस् ।’

सुशील कोइरालालाई भेट गर्नेहरू धेरैजसोले शेरबहादुर देउवाको नाम लिएर नकारात्मक टिप्पणी गर्थे र ‘सुशीलादाइ अगाडि आउनुपऱ्यो’ भनी उनलाई प्रसन्न तुल्याउन खोज्थे । यसरी देउवाको आलोचना गर्दै कुरा शुरु गर्नेहरूमध्ये अलिक परिपक्व र विश्वासीजस्ता लागेका मान्छेहरूसँग उनी भन्ने गर्दथे, ‘तपाईंहरू खालि शेरबहादुर–शेरबहादुर भन्ने गर्नुहुन्छ, त्यो शेरबहादुर केही पनि होइन । काङ्ग्रेसभित्र सबैभन्दा खतरनाक, खराब र षड्यन्त्रकारी मान्छे भनेको विमलेन्द्र निधि हो, ऊबाट काङ्ग्रेस जोगाउनुहोस्, त्यति भयो भने काङ्ग्रेस जोगिन्छ ।’ धेरै वर्षदेखि सुशील कोइरालाबाट यस्तो व्यहोरा सुन्दै आएकाहरूले उनको यो कुरालाई गम्भीरतापूर्वक लिने गर्दैनथे र यो पङ्क्तिकार आफैँले पनि पटक–पटक सुन्ने, तर अर्को कानले उडाउने गर्दथ्यो ।

प्रधानमन्त्री बन्नुभन्दा करिब एक वर्षअघि ललितपुर काङ्ग्रेसको कार्यवाहक सभापतिसम्म बनेका उपेन्द्र भट्टराईसँगै भएका बेला सुशीलले तिनै कुराहरू दोहोऱ्याएपछि जिज्ञाशा राखिएको थियो, ‘विमलेन्द्रको त्यस्तो के हैसियत र क्षमता छ, जसले काङ्ग्रेसलाई बर्बाद बनाउन सकोस् ?’ जवाफमा सुशीलले भनेका थिए, ‘मैले त्यत्तिकै भनेको छैन, मान्नुहोस् कि विमलेन्द्र धेरै खराब मानिस हो, उसबाट जोगाउन सकिएन भने काङ्ग्रेस बर्बाद हुन्छ ।’ यसबाहेक थप कुरा र कारण बताइएन, तथापि हामीले सुशीलको यो कुरालाई स्मरण राखिरहेका छौँ ।

शेरबहादुर देउवाले काङ्ग्रेसको कमान सम्हालेयता काङ्ग्रेस स्वयमको स्थिति ओरालो लागेको भए पनि विमलेन्द्रको हैसियत निकै आकासिएको छ । पार्टीका धेरै वरिष्ठतम् नेताहरूलाई पाखा लगाएर देउवाले विमलेन्द्रलाई पार्टी उपसभापतिको दर्जा दिएका छन् र यो पदीय हैसियत हात पारेपछि उनले आफ्नो सक्कली अवतार देखाउन पनि थालेका छन् ।

उपसभापतिको दर्जा पाएयता विमलेन्द्र निधिले दुई भिन्न सन्दर्भमा प्रकट गरेका अभिव्यक्तिले उनी नेपाल, नेपाली र नेपाली धर्म, परम्परा तथा संस्कृतिको विरुद्ध रहेको स्पष्ट सङ्केत दिएको छ । केही साताअघि दुई नम्बर भनिने प्रदेशको सरकारले कानून बनाएर आफैँ प्रहरी सङ्गठन निर्माण गर्ने तत्परता लियो । केन्द्रमा बन्ने ऐन–कानूनसँग नबाझिने गरी प्रदेशले कानून निर्माण गर्नुपर्ने संवैधानिक प्रावधान हुँदाहुँदै त्यसको उपेक्षा गरी स्वतन्त्र अभ्यास हुनु देश, प्रजातन्त्र र संविधानसम्मत व्यवहार होइन । प्रदेश तहमा प्रकट यसप्रकारको उत्ताउलो र असंवैधानिक व्यवहारलाई कसैले उफ्रिएर समर्थन गरे भने यिनै विमलेन्द्रले गरे र, उनको समर्थनलाई काङ्ग्रेसकै समर्थनका रूपमा प्रचार गरियो । अहिले केन्द्रसँग बाझिने गरी कानून बनाउन र प्रहरी सङ्गठन खडा गर्न सघाउनेले यसअघि नेपाली राष्ट्रिय पोसाक तथा भाषालाई विस्थापन गर्दै जाने कार्यमा पनि सहयोग गरेकै हुन् र, भोलि बेग्लै सैन्य सङ्गठन गठन गर्ने प्रस्ताव आइहाल्यो भने त्यसमा समेत सहयोगी बन्ने सङ्केत यिनको व्यवहारले देखाइसकेको छ ।

क्षेत्रीयतावादी समूहहरूले आफ्नै देशवासीलाई नाकाबन्दी गर्ने–गराउने भूमिका निर्वाह गर्दा काङ्ग्रेस पार्टीलाई मौन रहन बाध्य तुल्याउने मुख्य पात्र यिनै विमलेन्द्र थिए । त्यसबेलाको मौनताले काङ्ग्रेसलाई कति हानि या लाभ पुऱ्यायो यसको समीक्षा हरकोहीले गर्न सक्दछ । अनि विमलेन्द्र काङ्ग्रेसमा अघि सर्दै जाँदा तराईमा काङ्ग्रेस कसरी पछाडि सर्दै छ यो पनि छर्लङ्गै छ । देशभरि कायस्थहरूको सङ्ख्या करिब छत्तीस हजार छ र, तराईमा कायस्थहरूको छवि थप संसयपूर्ण बनाउन विमलेन्द्रले उल्लेख्य भूमिका निर्वाह गरिरहेका छन् ।

तीन वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरस्थित रामजानकी मन्दिरमा दर्शनका निम्ति आउन लाग्दा उनको आगमनलाई प्रचण्डसँग मिलेर रोक लगाउन षड्यन्त्र गर्ने यिनै थिए । मोदीको आगमनले सनातन धर्मावलम्बीमा उत्साह बढाउने र, त्यसले धर्मनिरपेक्षता तथा इसाईकरणको तीव्रतालाई मत्थर तुल्याउन सक्छ भन्ने विश्वास तथा विश्लेषणका आधारमा मोदीको जनकपुर आगमनमा रोक लगाइएको तथ्य अब सबैको जानकारीको विषय बनिसकेको छ । त्यतिबेला विमलेन्द्रले मोदीलाई रोक्न भित्रभित्रै षड्यन्त्रकारी भूमिका निर्वाह गरे पनि खुलेर विरोध गर्ने साहस गरेका थिएनन् । यसपटक उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ ‘रामको जन्ती लिएर’ जनकपुर आउने कार्यक्रम बनेपछि विमलेन्द्र निधिले योगीको आगमन रोक्नुपर्ने धारणा सार्वजनिक गरेका छन् र, रोक्नका लागि कम्युनिस्ट सरकारलाई ‘प्रोबोक’ पनि गरेका छन् ।

नेपाललाई धर्मनिरपेक्ष गणतन्त्रात्मक सङ्घीय राज्य बनाइनुपर्छ भन्ने प्रणव मुखर्जीदेखि सीताराम येंचुरीसम्मलाई स्वागत गर्न शिरले ‘जिम्न्यास्टिक’ गर्दै पुग्ने विमलेन्द्र निधिले राजधानीमै इसाई प्रायोजित विश्व सम्मेलन हुन लाग्दा एक शब्द उच्चरण गरेका छैनन् । तर, नेपाललाई विश्वको एक मात्र हिन्दू अधिराज्यका रूपमा सुरक्षित एवम् सम्मानित राखिनुपर्छ भन्ने योगी आदित्यनाथलाई रोक्न खोज्नुले विमलेन्द्र सम्मानित एवम् सुरक्षित नेपालको पक्षमा नरहेको स्पष्ट गर्दैन र ?

जनकपुरको महत्व सीताको माइती भएका कारणले पनि बढेको हो र आमनेपाली तथा विशेषगरी जनकपुरवासीहरूका निम्ति यो अधिकतम गौरवको विषय हो । सिङ्गो नेपाल र जनकपुरका सनातन धर्मावलम्बी जनताको भावनाविरुद्धका गतिविधिमा सरिक भएर विलमेन्द्रले कसलाई खुसी पार्न खोज्दै छन्, यो अनुसन्धान र चासोको विषय बनिसकेको छ । विमलेन्द्र यतिबेला योगीको आगमन प्रोटोकल (मर्यादाक्रम) अनुरूप नभएको भन्ने तर्क (कु) पनि दिन खोज्दै छन् । डा. बाबुराम भट्टराई नामक व्यक्ति प्रधानमन्त्री पदमा रहेकै बेला बिहारका मुख्यमन्त्री नीतीश कुमारको निम्तो मान्न जाँदा कुन ‘प्रोटोकल’का कारण विमलेन्द्रलाई मान्य हुन पुगेको थियो ? राष्ट्रिय स्वाभिमान, देशको मर्यादा र ‘प्रोटोकल’कै चिन्ता थियो भने उनले त्यसैबेला बोल्नुपर्ने थियो, होइन र ?

देशको स्वाभिमान राष्ट्रियता र राष्ट्रिय एकताका पक्षमा यी विमलेन्द्र निधिको जिब्रो चलेको देख्नेसुन्ने मौका नेपाली जनताले अहिलेसम्म पाएका छैनन् । काठमाडौं–निजगढ सडक निर्माण नेपाली आफैँले गर्नुभन्दा विदेशी ठेकेदारलाई सुम्पनु उचित हो भन्ने (कु) तर्क सुन्नुपरेपछि जनतामध्येका केहीले विमलेन्द्रलाई चिन्ने मौका पाएका थिए । सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रको मुख्य ठेकेदार आफैँ भएझैँ गरी प्रस्तुत हुने विमलेन्द्र निधि र प्रचण्डका अभिव्यक्तिबीचको अन्तर भेटिँदैन । मूल वैचारिक एवम् राजनीतिक एजेण्डामा दुईजनाको समान धारणाको विवेचना गर्दा उनीहरू दुई अलग पार्टीका नेताभन्दा बढी एउटै अदृश्य शक्तिकेन्द्रबाट परिचालित कारिन्दा प्रतीत हुन्छन् । कुन्नि क–कसका एजेण्डा जुन घोषित रूपमा प्रचण्डहरूले बोकेका थिए, तिनै एजेण्डामा काङ्ग्रेसलाई भुलाउन काङ्ग्रेसका अरू कतिपय नेता पनि उपयोग–प्रयोग नभएका होइनन्, तर विमलेन्द्र जुन स्तरमा प्रयोग भइरहेका छन्, त्यसरी अन्य नेताको दुरुपयोग भएको भन्न मिल्ने देखिएन ।

एक कालखण्डमा गिरिजाप्रसाद, कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलहरू जसरी प्रयोग भएका थिए त्यहीस्तरमा विमलेन्द्र र आर्जु राणाहरूको ‘इस्तेमाल’ भएको ठान्नुहुँदैन । सिटौला र पौडेलहरू क्षणिक कालका निम्ति प्रयोग भएका थिए, विमलेन्द्र र आर्जुहरू काङ्ग्रेस पार्टीमार्फत देशको अखण्डता, राष्ट्रियता, सामाजिक सद्भाव र मौलिक धर्म, परम्परा एवम् संस्कृति नामेट तुल्याउने दीर्घकालिक मिसनमा खटिएका पात्र भएको पुष्टि तिनका अभिव्यक्ति, व्यवहार र कार्यपरिणामले दर्शाइरहेको छ । त्यसैले विमलेन्द्र निधिहरूलाई काङ्ग्रेसले उचाल्नु भनेको काङ्ग्रेस आफैँचाहिँ ओरालो लाग्नु हो, कालान्तरमा मेटिनु हो भन्ने यथार्थलाई आत्मसात् गर्दै यसप्रकारका तत्वहरूको कोपभाजनमा पर्नबाट काङ्ग्रेस र मुलुकलाई जोगाउनु सबै नेपालीको कर्तव्य हुन आएको छ ।

घटना र विचारबाट