बाँके जिल्ला : एक संक्षिप्त परिचय

Banke District
लोकपाटी न्यूज

नेपालको प्रदेश नं.–५ मा पर्ने बाँके जिल्ला मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रकै प्रमूख औद्योगिक तथा व्यापारिक केन्द्र, तथा मध्य हिमाली तथा सुदुर पहाडी भूभागहरुको हवाई नाका एवं प्रवेशद्वार मानिन्छ। वि.सं. १८७३ को सुगौली सन्धिमा नेपालले गुमाएकोे भू–भागमध्ये वि.सं. १९१७ मा इष्ट–इण्डिया कम्पनीबाट नेपालले पुरस्कारस्वरुप बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई प्राप्त गरेको थियो, त्यसै कारण यी चार जिल्लालाई नयाँ मुलूकका रुपमा पनि चिनिन्छ।

(१) जिल्लाको भूगोल

नेपालको प्रदेश पाँचको एक व्यापारिक केन्द्र हो बाँके जिल्ला। बाँके जिल्लाको दक्षिणी भाग भारतीय सीमानासँग जोडिएकोले मध्यपश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको छ। यस जिल्लाको पूर्व–पश्चिम लम्बाई करीव ८४ किलोमिटर र उत्तर–दक्षिणको चौडाइ करीव ४० कि.मी. छ। यस जिल्लाको दक्षिण भागमा तराइको समथर भूभाग र उत्तरी भागमा पूर्व–पश्चिम फैलिएको चुरे श्रृंखला पर्दछ। भौगोलिक वनावट अनुसार यस जिल्लालाई तीन भागमा विभाजन गर्न सकिन्छ। (क) तराईको समथर भूमि, (ख) उत्तरको भावर प्रदेश र (ग) चुरे पर्वत श्रेणी।

Map Banke
बाँके जिल्लाकाे राजनीतिक नक्शा

जिल्लाको उत्तर क्षेत्र, भावर क्षेत्र र चुरे पर्वत श्रृङ्खलामा पर्ने भएकाले यस क्षेत्रमा जनसंख्याको खासै चाप नरहेको देखिन्छ। चुरे श्रृंखला भूबनोटको आधारमा बस्ती बस्नयोग्य छैन। जिल्लाको कूल भूभागमध्ये अधिकांश भूभाग (करीव ७० प्रतिशत) औषत १ डिग्रीभन्दा कम भिरालो भएको क्षेत्रले ढाकेको छ भने चुरे क्षेत्रमा जमिन १२३१ मिटर उचाइँसम्म उठेको छ। भौगर्भिक रुपमा चुरे पहाडको उत्तरी मोहडा सामान्य भिरालो छ भने दक्षिण मोहडा अति भिरालो छ। तराईको भू–भाग १२७ मिटर देखि २७५ मिटर उचाइँको बीचमा रहेको छ।

यस जिल्लाको सदरमुकाम नेपालगञ्ज समुद्री सतहभन्दा १४९ मिटर उचाइँमा रहेको छ। बाँके जिल्लाको क्षेत्रफल २,३३७ वर्गकिलोमिटर रहेको छ। जिल्लाको सीमानामा उत्तरमा दाङ्ग र सल्यान जिल्ला, दक्षिणमा भारत, पूर्वमा दाङ्ग र भारतीय सीमाना तथा पश्चिममा बर्दिया जिल्लाको सीमाना पर्दछन्।

(२) कसरी रह्यो बाँके नाम ?

यस जिल्लाको नाम बाँके रहनुको पछाडी विभिन्न जनश्रुति, धार्मिक एवं पौराणिक आख्यानहरु रहेको पाइन्छ, जसमध्ये केही यस प्रकार छन्ः परापूर्व कालमा तराई क्षेत्रमा औलो, कालाजार जस्ता रोगहरुको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरुको मृत्यु हुन गई सीमित मानिसहरु मात्र बाँकी रहेका मात्र कालान्तरमा बसोवास गरेको ठाउँ भनिँदै जाँदा पछि अपभ्रंश भई यस ठाउँलाई बाँके भन्न थालिएको पाइन्छ।

सत्य युगमा सतीदेवीको जिब्रो पतन भई त्यस ठाउँमा वाक्यश्वरीदेवी उत्पन्न भई स्थापित वाक्यश्वरी (हाल वागेश्वरी) मन्दिर रहेको स्थानलाई छोटकरीमा वाक्य भनिँदै जाँदा पछि बाँकेमा परिणत भएको भनाइ पनि छ। परापूर्वकालमा यहाँका मानिसहरुले घाम, पानी, हुरी, बतास, आदिबाट सुरक्षित रहन वरिपरि घुमाएर बाँके खालका घरहरु निर्माण गर्ने गर्थे। अधिकांश बाँके घरहरु रहेको बस्तीलाई बाँके बस्ती भनिँदै जाँदा पछि जिल्लाको नाम नै बाँके रहन गएको हो भन्ने जनश्रुति पनि पाइन्छ।

(३) राजनीतिक विभाजन

बाँके जिल्लामा संघीय संसदका ३ निर्वाचन क्षेत्र, प्रादेशिक संसदका ६ क्षेत्र र आठ स्थानीय तह रहेका छन्। आठ स्थानीय तह हुन्, (१) नेपालगञ्ज उपमहानगरपालिका, (२) कोहलपुर नगरपालिका, (३) खजुरा गाउँपालिका, (४) बैजनाथ गाउँपालिका, (५) जानकी गाउँपालिका, (६) डुडुवा गाउँपालिका, (७) राप्ती सोनारी गाउँपालिका र (८) नरैनापुर गाउँपालिका।

(१) नेपालगञ्ज उपमहानगरपालिका – नेपालगञ्ज नगरी, नेपालकै नामबाट स्थापना भएको प्रमुख शहर हो। यो शहर २०१७ सालमा नेपालगञ्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित भएको हो। यस उपमहानगरमा २३ वटा वडा छन्। यसको कुल क्षेत्रफल क्षेत्रफल ८५.९४ वर्ग किलोमिटर रहेको छ। यसको सीमानामा पूर्वमा डुडुवा गाउँपलिका, पश्चिममा जानकी गाउँपलिका, उत्तरम जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र दक्षिणमा हिरमिनिया र भारतको सीमाना पर्दछ। नेपालगञ्जको कुल जनसंख्या १३८९५१ रहेको छ।

(२) कोहलपुर नगरपालिका – कोहलपुर नगरपालिकाको पूर्वमा राप्तीसोनारी गाउँपालिका, पश्चिममा बैजनाथ गाउँपालिका, उत्तरमा सल्यान जिल्लाको चुरे पहाड श्रृंखला पर्दछ, दक्षिणमा जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका पर्दछ। यस नगरपालिकाको क्षेत्रफल १८४.२६ वर्ग किमी रहेको छ। जातीय, धार्मिक, भाषिक, साँस्कृतिक, सामाजिक तथा राजनीतिक महत्व तथा विशेषता बोकेको यस कोहलपुरले आफ्नै खालको धार्मिक, राजनीतिक र सामाजिक महत्व र विशेषता बोकेको छ। यस नगरपालिकामा १५ वडा रहेका छन्।

Kohalpur-Bazar-1
बाँकेकाे काेहलपुर बजार

(३) खजुरा गाउँपालिका – खजुरा पनि एक व्यापारिक तथा औद्योगिक क्षेत्रमा प्रचिलित ठाउँ हो। खजुरा शहरको नामबाट २०७३ साल फाल्गुन २७ गते खजुरा गाउँपालिका स्थापित भएको हो। यस गाउँपालिकामा वडा ८ वटा रहेका छन्। यस गाउँपालिकाको कुल क्षेत्रफल १०२ वर्ग किलोमिटर रहेको छ। खजुरा गाउँपालिकाको कुल जनसंख्या ५०९६१ रहेको छ। गाउँपालिका क्षेत्रसँग सीमाना जोडिएका ठाउँहरु पूर्वमा जानकी गाउँपलिका, पश्चिममा बर्दिया, उत्तरमा बैजनाथ गाउँपालिका, र दक्षिणमा भारतको सीमाना पर्दछ।

(४) बैजनाथ गाउँपालिका – बैजनाथ गाउँपालिकाको पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका रहेको छ। वडा नं.–७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो। गाउँपालिकाको कुल जमिनमध्ये सबैभन्दा बढी क्षेत्रमा खेती गरिएको छ, मध्यवर्ती क्षेत्र वनजंगलले ढाकिएको छ। यस गाउँपालिकाको क्षेत्रफल १४१.६७ वर्ग किमि र जम्मा जनसंख्या ५४४१८ रहेको छ। यस गाउँपालिकामा ८ वडा रहेका छन्।

(५) जानकी गाउँपालिका – बाँके जिल्लामा अवस्थित जानकी गाउँपालिका पनि एक व्यापारिक तथा अधौगिक क्षेत्रमा प्रचलित ठाउँ हो। यसको क्षेत्र सुर्खेत रोडको मनिकापुर एयरपोर्टको सीमानादेखि खजुरा रोड हुँदै साई गाउँ भारतको सीमानासँग जोडिएको छ। यस गाउँपालिकामा जम्मा वडा ६ वटा रहेका छन्। यस गाउँपालिकाको कुल क्षेत्रफल ६३.३२ वर्ग किलोमिटर छ। गाउँपालिकाको कुल जनसंख्या ३७८३९ रहेको छ। गाउँपालिकाको मुख्य बजार पिप्रवा चोक र मानपुर मानिन्छ। गाउँपालिका क्षेत्रसँग सीमाना जोडिएका ठाउँहरु पूर्वमा नेपालगञ्ज, पश्चिममा खजुरा, उत्तरमा कोहलपुर, र दक्षिणमा भारतको सीमाना पर्दछ।

(६) डुडुवा गाउँपालिका – यो आफ्नै मौलिक पहिचान भएको गाउँपालिका हो। २०७३ साल फाल्गुन २७ गते स्थापित यस गाउँपालिकाको नामाकरण डुडुवा खोलाको नामबाट गरिएको हो। यसको सीमानामा दक्षिण पूर्वमा नरैनापुर गाउँपालिका र भारत, उत्तरपूर्वमा राप्तिसोनारी गाउँपालिका, उत्तरमा कोहलपुर नगरपालिका र पशचिममा नेपालगञ्ज उपमहानगर पर्दछ। ९१.१ वर्ग किमिमा फैलिएको यस गाउँपालिकामा ६ वटा वडाहरु छन्। २०६८ सालको जनगणनाअनुसार यस गाउाँपलिकामा ३७,५३३ जनसंख्या रहेको छ।

jungle-safari
जंगल सफारीमा देखिएकाे पाटे बाघ

(७) राप्ती सोनारी गाउँपालिका – जनसंख्याका हिसाबले यो गाउँपालिका नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो। कुल क्षेत्रफल १०४१.७३ वर्ग कि।मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ। पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर र डुडुवा, उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर र भारतीय सीमानाको बीचमा यो गाउँपालिका छ। ९ वटा वडा रहेको यस गाउँपालिकाको जनसंख्या ५९९४६ रहेको छ। यसको क्षेत्रफल १०४१.७३ वर्ग किलोमिटर रहेको छ।

(८) नरैनापुर गाउँपालिका – कुल १७२.३४ किमी क्षेत्रफलमा फैलिएको यस नरैनापुर गाउँपालिका उत्तरतर्फ बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका, दक्षिणतर्फ भारतको सीमाना, पश्चिमतर्फ बाँके जिल्लाको डुडुवा गाउँपालिका र पूर्वतर्फ पनि भारतको सीमाना जोडिएको छ। यो गाउँपालिका साविकका ६ वटा गाविसहरु कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर मिलाएर बनाइएको छ। ६ वटा वडा रहेको यस गाउँपालिकाको जनसंख्या ३४९४२ रहेको छ।

(४) आर्थिक, सामाजिक विकास

आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रुपमा यो जिल्ला रहिआएको छ। यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पूर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठूलो शहर नेपालगञ्जको नाका भारतसँग जोडिएको छ। नेपालगञ्जदेखि १६ किमीको दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्वपूर्ण व्यापारिक केन्द्र हो। नगरपालिका कायम भएको कोहलपुर सिङ्गो मध्य तथा सुदुर पश्चिमको प्रवेशद्वार हो।

बाँके जिल्ला यस क्षेत्रको शैक्षिक र स्वास्थ्यको पनि राजधानी मानिन्छ। यहाँको नेपालगञ्ज मेडिकल कलेजमा छिमेकी भारतसहित श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान आदी देशहरूबाट विद्यार्थी आई अध्ययन गर्ने गर्दछन्। अति विकट कर्णाली र सुदुर पश्चिमका पहाडी जिल्लाहरूमा यहाँबाट खाद्यान्न तथा आवश्यक वस्तुको ढुवानी हुने गर्छ। नेपालगञ्ज विमानस्थल क्षेत्रीय विमानस्थलको रुपमा रहेको छ। यो जिल्लाको मुख्य विशेषता भनेको सदियौंदेखि हरेक धर्म र जातजातिका मानिसहरू मिलेर बसोबास गरी भाइचाराको सन्देश दिनु हो। बागेश्वरी मन्दिर, जामे मस्जिद, गुरुद्वार र बौद्ध गुम्बाहरू यहाँको सांस्कृतिक धरोहरहरू हुन्।

banke
बाँके राष्ट्रिय निकुञ्जमा हात्तीहरु

२०६८ सालको जनगणनाअनुसार बाँकेको जनसंख्या ४९१३१३ रहेको छ। जिल्लाको साक्षरता दर ६५ प्रतिशत रहेको छ। जिल्लामा वालविकास केन्द्र – ५६२, प्राथमिक विद्यालय – २९३, निम्न माध्यामिक विद्यालय – ९५, माध्यमिक विद्यालय – ८५, उच्च माध्यमिक विद्यालय – ४५, क्याम्पस – १३, प्राविधिक शिक्षालय – ५, मेडिकल कलेज – १ र सामदायिक अध्ययन केन्द्र – १९ रहेका छन्।

त्यसैगरी स्वास्थ्य तर्फबाट भेरी अञ्चल अस्पताल – १, क्षेत्रीय प्रहरी अस्पताल – १ सैनिक अस्पताल – १, नेपालगञ्ज नर्सिङ होम लगायत अन्य निजी नर्सिङ होम – १५, कोहलपुर मेडिकल कलेज – १ स्वास्थ्य चौकी – २०, उपस्वास्थ्य चौकी – २४, प्राथमिक स्वास्थ्य केन्द्र – ३, जिल्ला आयुर्वेद अस्पताल – १, आयुर्वेद केन्द्र – ३, कुष्ठरोग क्लिनिक – १ रहेका छन्।

(४) पर्यटकीय र व्यापारिक केन्द्र

(१) नेपालगञ्ज – यो मध्यपश्चिमको एक प्रमुख सहर हो। भारतको रुपेडिया सीमाना नजिक पर्ने यो शहर दुई देश बीचको ब्यापार सम्बन्धका कारणले पनि महत्वपूर्ण मानिन्छ। यो शहर संस्कृतिक र धार्मिक दृष्टिकोणले निक्कै नै विविधतापूर्ण मानिन्छ। यहाँका बासिन्दाहरु हिन्दू, मुसलमान, बौद्ध लगायतका धर्ममा आस्था राख्दछन्। त्यस्तै, यहाँ विभिन्न सम्प्रदाय, जातजाति र मूलका मानिसहरु छन्। यो शहर नेपालको शान्तिपूर्ण बहूसांस्कृतिक शहर हो। शहरको बीचमा वीरेन्द्र चोक छ। त्यस्तै धम्बोजी, त्रिभूवन–चोक, बीपी चोक यहाँका व्यापारिक केन्द्र हो।

(२) कोहलपुर – नेपालगञ्ज राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर दक्षिणमा पर्दछ। नेपालको पश्चिमी भेगका लागि यो शहर यातायात र आर्थिक कारोबारका हिसाबले महत्वपूर्ण केन्द्र हो। कोहलपुरलाई जिल्लाको दोस्रो ठूलो शहर र व्यापारिक केन्द्र मानिन्छ।

(३) बागेश्वरी मन्दिर – बागेश्वरी मन्दिर जिल्ला सदरमुकाम नेपालगञ्ज बजारको केन्द्रमा रहेको छ। बागेश्वरी मन्दिर नेपालकै प्रसिद्ध धार्मिकस्थल हो। पौराणिक कथाअनुसार यहाँ सतीदेवीको जिब्रो पतन भएको मानिन्छ। दुई हजार वर्षअघि काठमाडौं पशुपतिनाथबाट फर्केका तपस्वीहरु बास बस्दा सपनामा देवीले दर्शन दिएपछि शक्तिपीठ देवी भएको कुरा पत्ता लागेको मानिन्छ। मन्दिरसँगै दुर्लभ जुगे महादेवको मूर्ति छ।। त्यसैगरी जिल्लामा संकटमोचन हनुमान मन्दिरको पनि छुट्टै महत्व र पहिचान रहेको छ।

(४) बाँकेमा मुस्लिम समुदायको आफ्नै छुट्टै धार्मिक, सामाजिक तथा सांस्कृतिक मूल्य र मान्यता रहेको छ। यो धार्मिक, सांस्कृतिक एवं सामाजिक आधारमा अन्य समुदायभन्दा भिन्न समुदाय भए पनि बाँकेमा सबै धर्म सप्रदायका मानिसहरुमा मित्रता पाइन्छ। मुस्लिम आफ्नै ऐतिहासिक पहिचान बोकेको समुदाय हो। यिनीहरुले मान्ने धर्म इस्लाम हो। मुस्लिमहरुको धर्म र संस्कृतिको केन्द्रविन्दु बाँकेमा जामा मस्जिद, इदगाहा मस्जिद लगायतका मस्जिदहरु छन्। नेपालगञ्ज आसपासमा रहेका कर्बला, गुरुद्धारा, सरस्वती मन्दिर र बौद्ध गुम्बाले समेत धार्मिक महत्व बढाएका छन्।

Nepaljung
बाँके जिल्लाकाे नेपालगञ्ज शहर

(५) सिक्टा सिंचाइँ आयोजना – बाँकेमा नेपालकै ठूलो सिक्टा सिंचाइँ आयोजना सञ्चालन भएको छ। यो सिंचाइँ आयोजनाले बाँके जिल्लाको ३३ हजार ७ सय हेक्टरमा सिंचाइँ सुविधा पुग्ने लक्ष्य आयोजनाको छ। राप्ती नदीको पानी राजमार्ग अघैयामा बाँध निर्माण गरी सिक्टा सिंचाइँ आयोजनाले बाँके जिल्लामा पानी लैजान लागेको छ। यो आयोजना २०६३ सालदेखि निर्माण कार्य शुरु हुँदै आएको छ। समतल खेतीयोग्य जमिन भए पनि बाँकेमा हाल करीव २५ प्रतिशत क्षेत्रमा मात्रै सिंचाइँ सुविधा रहेको छ। यो आयोजना सम्पन्न भएपछि बाँके जिल्ला र मध्यपश्चिम आसपासका क्षेत्रमा कृषि क्रान्तिका लागि ठूलो योगदान गर्नेछ।

(६) बाँके राष्ट्रिय निकुञ्ज – बाँके जिल्लाको उत्तरी क्षेत्र चुरे–श्रृखला समेतलाई संरक्षण गर्ने उद्देश्यले २०६७ बाट राष्ट्रिय निकुञ्ज स्थापना गरिएको छ। नेपालकै कान्छो निकुञ्ज बाँकेले सल्यान र दाङ् जिल्लाको केही भागसमेत यो निकुञ्जभित्र पर्दछ। राष्ट्रिय निकुञ्जलाई दुर्लभ बन्यजन्तु बाघको उपयुक्त बासस्थान बनाउनका लागि भौतिक संरचना निर्माण कार्य शुरु भएको छ। यसले मध्यपश्चिम क्षेत्रको पर्यटकीय सम्भावनालाई ह्वात्तै बढाएको छ।

(७) बाघ संरक्षण – बन फडानी तथा चोरी शिकारी नियन्त्रण हुँदै गएपछि बाघ लगायतका बन्यजन्तुको गतिविधि बढ्दै गएको छ। बाँके रािष्ट्रय निकुञ्ज क्षेत्रमा पर्ने ५ सय ५० वर्गकिलोमिटर वन क्षेत्र र ३ सय ४३ वर्गकिलोमिटर मध्यवर्ती क्षेत्रको संरक्षण गरी बाघको उपयुक्त बासस्थान बनाउनका लागि निकुञ्जले सुरक्षा चेक पोष्ट निर्माण बन फडानी तथा चोरी शिकारी नियन्त्रणका लागि काम सुरु गरेको छ। सरकारले दुर्लभ वन्यजन्तु बाघको संख्याको सन् २०२२ सम्म दोब्बर बृद्धि गर्न राष्ट्रिय प्रतिवद्धता पूरा गर्न २०६७ वैशाख ३० गते बाँके निकुञ्ज स्थापना गरिएको हो।

(८) लक्ष्मणपुर बाँध – भारत सरकारले अन्तर्राष्ट्रिय नियम विपरीत बाँके जिल्लाको नेपाल—भारत सीमाना नजिक भारतीय क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण प्रत्यक वर्ष वर्षादको समयमा राप्तीपारीका गाउँहरु जलमग्न हुने गरेको छ। पूर्वी बाँकेका साविकका ९ गाबिस, जसलाई फत्तेपुरदेखि कटकुईंया अर्थात् ७ गाबिसलाई बघौडा भन्ने चलन छ भने बैजापुर र विनौना गाबिसलाई राप्तीपारी भन्ने चलन छ। राप्तीपारीका गाविसहरु प्रत्यक वर्ष बाढीबाट प्रवाभित हुने गरेका छन्। नेपाल–भारत सीमास्तम्भ हराउँदै गएका छन्। यो नै बाँके जिल्लाको प्रमूख चुनौति पनि हो।

(९) पूर्व–पश्चिम राजमार्ग – बाँकेबाट सुदुर–पश्चिमका जिल्लाहरु र काठमाडौं लगायत देशका सबै भूभागमा यात्रा गर्न सकिन्छ। बाँके जिल्लामा पर्यटकीय स्थलको रुपमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्कजस्ता स्थलहरु रहेका छन्। त्यसैगरी आन्तरिक पर्यटकीय स्थलका रुपमा रहेको महादेवपुरीस्थित ढकेरी पार्क कोहलपुर र शमसेरगञ्जको बीचमा राजमार्गसँगै जोडिएको छ, जुन पार्कमा दिनहूँ मानिसहरु पुग्ने गर्दछन्। तराइको जिल्ला भएकाले वाह्य पर्यटकहरुलाई दृश्यावलोकन गर्ने हिमाल र प्राकृतिक स्थल नभए पनि निकुञ्जमा रहेका जंगली जनावर हेर्नका लागि पर्यटकहरु आउँदछन्। त्यसैगरी हवाई मार्गबाट राराताल, से–फोक्सुण्डो ताल र खप्तड जाने बाह्य पर्यटकहरु बाँकेको नेपालगञ्ज भएर जाने गर्दछन्।

(श्रोत : जिल्ला समन्वय समितिको कार्यालय बाँके, विकिपीडिया र बाँकेका स्थानीय तहका वेभपोर्टल र अन्य स्रोतहरु।)