‘वाइडबडीमा भ्रष्टाचार गर्नेलाई कार्वाही गर्छु’ : मन्त्री अधिकारी

Rabindra-Adhikari
लाेकपाटी न्यूज

काठमाडौं, १२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वाडडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने उद्धघोष गरेका छन् ।

उनले भने, ‘अहिले जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेका छन् । मन्त्रालयले संसदीय समिति तथा अन्य छानबिन समितिलाई सहयोग गरिरहेको छ । यदि खरिद प्रकरणमा अनियमितता भएको भेटिए सरकारले कारबाही गर्छ ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अधिकारीले आफूहरुले नेपालको हितमा र वायु सेवा निगमको हितमा काम गर्नको लागि निर्देशन दिएको जनाए । उनले भने, ‘खरिद प्रकरणमा जहाँ जसले गलत र अनियमितता गरेको पाईयो भने हामी शोधभर्ना गराउँछौं । सबै छानबिन समितिको रिपोर्ट बाहिर ल्याउँछौं । सत्य, तथ्य कुरा बाहिर ल्याउनुपर्छ ।’

अधिकारीले वाइडबडी जहाज खरिद प्रक्रिया २०७१ सालबाटै सुरु भएको र २०७४ सालमा खरिद प्रक्रिया पूरा भएको बताए । उनले भने, ‘यो सरकार आएको एक दई महिनापछि मात्रै वाइडबडी आएको हो । त्यसैले जहाज खरिद प्रक्रिया, निर्णय प्रक्रिया, भुक्तानी र बैना पठाउने सबै काम योभन्दा अगाडिको सरकारको पालामा भएको हो ।’

उनले भने, ‘यस विषयमा गहिरो र गम्भिर छलफल हुन्छ । गलत भेटिए हामी कारबाहीको प्रक्रिया बढाउँछौं ।’ उक्त वाइडबडी जहाज अहिले दैनिक करिब ७ घण्टामात्रै चलिरहेकाले अब यसलाई बढाएर दैनिक १३ देखि १४ घण्टासम्म पुर्याउने उनको विश्वास छ । उनले आगामी फेब्रुअरीबाट जापानको ओशाका र मार्चबाट चीन उडान भर्ने पनि जानकारी दिए । उनले मार्चपछि जहाज ‘फुल–फ्लेज्ड’मा सञ्चालन गरिने जनाए ।

अधिकारीले नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउनको लागि यसको गन्तब्य बढाउन र फराकिलो पार्ने काम भइरहेको पनि जानकारी दिए । उनले भने, ‘निगमलाई निजीकरण गर्दैनौं । बरु, हामी कम्पनी मोडेलमा चलाउँछौं । नेपाल टेलिकमजस्तो कम्पनी मोडेलमा चलाउँछौं । २ वटा जहाज खरिद गर्नको लागि सरकार आँफै जमानत बसेको छ ।’

त्यस्तै उनले भ्रमण वर्ष २०२० भव्यताका साथ मनाउन गइरहेको बताउँदै कम्तिमा पनि भ्रमणमा वर्षमा २५ लाखभन्दा बढी पर्यटकहरु आउने सम्भावना देखिएको बताए । अधिकारीले भने, ‘मुलुकको कुल ग्राहस्थ उत्पादनमा कम्तिमा पनि १० प्रतिशत पर्यटन क्षेत्रबाट योगदान पुर्याउने काम गर्छौं ।’