रुकुम पूर्वमा भेटिए ५५ थान बन्दुक

hatira_bujhaudai
लाेकपाटी न्यूज

रुकुम : नयाँ जिल्ला बनेको रुकुम पूर्वमा ५५ थान भरुवा बन्दुक भेटिएका छन्। ती सबै जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १ र २ बाट बरामद गरिएको हो।

रुकुम पूर्वमा अवैधानिक हातहतियार राखिएको र उक्त हतियारहरू शिकार खेल्नेसँगै विभिन्न घटनामा समेत प्रयोग भइरहेको सूचना जिल्ला प्रशासन कार्यालयले पाएपछि कडाई गर्दै आएको थियो।

जसअनुसार स्थानीय वन तथा वन्यजन्तु संरक्षण समितिले प्रत्येक घरघरबाट अवैधानिक भरुवा बन्दुक संकलन गरेर आफैँ बुधबार जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा बुझाएको हो।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले वन तथा वन्यजन्तु संरक्षण समितिका अध्यक्ष अमरधन पुनले ५५ थान भरुवा बन्दुक एक कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वलाई बुझाएको बताए।

उनका अनुसार गाउँगाउँमा हतियार रहेको प्रशासनले अनुमान गरेपछि केही कडाई गरेको र स्थानीय वन समितिको नेतृत्वमा उक्त हतियार संकलन भएर प्रशासनमा स्वतस्फुर्त आएको बताए।

उक्त हतियार प्रशासनले सुरक्षित राख्न जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा हस्तान्तरण गरिसकेको छ। ठूलो मात्रमा अवैधानिक भरुवा बन्दुकहरू प्रशासनमा स्थानीय आफैँले बुझाएपछि जिल्लाको शान्ति सुरक्षामा केही सुधार आउने प्रशासनले विश्वास लिएको छ।

दुई चरणमा भएका संविधानसभा चुनाव र स्थानीय चुनावमा लाइसन्सबिना वा लाइसन्स लिएका पनि हतियारहरू कार्यालयमा बुझाउन प्रहरी प्रशासनले बारम्बार सार्वजनिक सूचना गरे पनि रुकुममा अपेक्षित हतियार बुझाइएको थिएन।