गौतम बुद्धबारे जानकारी (जीवनी)

लाेकपाटी न्यूज

महामानव गौतम बुद्धको जन्म ई. पु. ५६३ बैशाख पूर्णिमाको दिन शाक्य साम्राज्यको महाराजा शुद्धोधन र महारानी मायादेवीको कोखबाट लुम्वीनीमा शालको वृक्षमुनि भएको थियो ।

बुद्धले जन्मिनसाथ ७ पाईला हिड्नुभएको थियो जुन रोचक तथ्य हुन । बुद्धको बाल्यकालको फोटोहरूमा एउटा औला ठड्याएको देखिन्छ, जसको अर्थ पहिलो मानव भन्ने हो । बुद्ध जन्मेको पाँचौँ दिनमा वहाँको नामाकरण सिद्धार्थ गौतम गरियो । उनी जन्मेको ७ दिनमा आमा मायादेवी परलोक भईन् ।

त्यसपछि सिद्धार्थलाई कान्छीआमा प्रजापति गौतमीले हुर्काईन । जन्मिनसाथ ८ जना ब्राह्मणहरुले उनलाई भविष्यमा बुद्ध हुन्छ भनि भविष्यवाणी गरेका थिए जुन कुराले महाराजा शुद्धोधन अत्यन्तै चिन्तित थिए । त्यसैले सानैदेखि सिद्धार्थलाई राजकीय विलासी जीवनमा भुलाउन महाराजले तीन मौषमी विलासी महलहरू रम्य ९ तल्ले, सुरम्य ७ तल्ले, शुभ ५ तल्ले बनाईदिएका थिए । सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधसँग विवाह गरेका थिए ।

एक दिन सिद्धार्थ गौतम बजार परिक्रमा गर्न सारथीसँग निस्कीएका थिए । उनले एउटा विरामी मान्छे देखे र सारथी संग सोधे उ किन विरामी छ ? सारथीले भने सबै मान्छे बिरामी हुन्छन् रोग लाग्छ । केही पर पुगे पछि फेरी एउटा बुढो मान्छे लौरो टेकेर हिडिरहेको देखे र सारथीलाई सोधे यो मान्छे किन बुढो भएको हो ? सारथीले भने संसारमा सबै मान्छे बुढो हुन्छन् । केहि पर पुगेपछि फेरी एक जना मरेको मान्छेको वरीपरी परिवारको सदस्यहरू बसेर रोईरहेको देखे फेरी सारथीलाई सोधे यो के भएको हो ? सारथीले भने यो मान्छे मरेको हो र परिवार, आफन्तजनहरू दुःख मनाईरहेको बताए ।

यो दृश्य र परिघटनाले सिद्धार्थ गौतमलाई ठुलो चोट पर्यो । त्यसपछि सिद्धार्थ गौतमलाई निरन्तर यस जिज्ञासाले सताउन थाल्यो । २९ वर्षको उमेरमा छोरा राहुलको जन्म भयो र छोरा जन्मेको ७ दिनमा बोधिसत्व ज्ञान हासिल गर्नको खातिर र मानव जातिको मुक्ति र कल्याणको खातिर राजकीय विलासी जीवन परित्याग गर्नुभयो । निरन्तर ६ वर्षसम्मको कठिन तपस्यापछि वहाँले बैशाख पूर्णिमाको दिन बोधगयामा बोधिसत्व ज्ञान प्राप्त गर्नुभयो ।

गौतम बुद्धको उपदेशहरूमा विशेषत पन्चशिल मानव जातिको मुक्ति र कल्याणको लागि विशेष महत्वपूर्ण रहन्छ । पन्चशिलहरू यसप्रकार छन् ।

१ हिँसा नगर्नु ।
२ चोरि नगर्नु ।
३ व्यभिचार (यौन दुर्व्यवहार) नगर्नु ।
४ झुठो नबोल्नु ।
५ जाँड, रक्सी र लागुपदार्थ सेवन नगर्नु ।

गौतम बुद्धले निर्वाण प्राप्त गर्ने, मुक्ति प्राप्त गर्ने मार्ग देखाउनुभएको छ तर प्रयत्न भने हामी आफैले गर्नु पर्दछ ।

यसरी धम्मपद देखाउदै गौतम बुद्धले ८० वर्षको उमेरमा कुशीनगरको उपवर्तन नामको वनमा दुईटा शाल वृक्षको मुनि वैशाख पूर्णिमाको रात्रीको तेश्रो पहरमा महापरिनिर्वाण (देहत्याग) प्राप्त गर्नुभएको थियो । भगवान बुद्धका जीवनमा घटित यी तीनै परिघटना (जन्म, बोधिसत्व र महापरिनिर्वाण) संयोगवश बैशाख पूर्णिमाकै दिन भएको कारण यस पूर्णिमा सम्पूर्ण बौद्धमार्गीहरूलाई विशेष रहेको छ । यस दिनलाई सँसारभरिको बौद्धमार्गीहरूले बुद्ध जयन्तीको रुपमा प्रत्येक वर्ष मनाउँदै आईरहेको छ ।