‘नेपालमा ढुक्कसँग लगानी गर्नुस्’ : प्रचण्ड

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उत्तारचढावको शृङ्खला पार गरी देश समृद्धिको नयाँ युगमा प्रवेश गरेको कुरा बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित काठमाडौँको भृकुटी मण्डपमा आजदेखि सुरु भएको नेपाल चेम्बर एक्स्पो–२०१८ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

नवउदारवादले विश्वमा विकासको ‘युनिक’ सहकार्य र चरित्रलाई अघि बढाएको भन्दै उनले भने, “निजी व्यवसायीहरुको पूँजी र सरकारको लगानी एक ठाउँमा ल्याएर गरिने विकासले समृद्धिको ढोका खोल्नेछ ।’

प्रचण्डले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक्स्पोले नेपालको आर्थिक विकासमा महत्वपूर्ण अवसर सिर्जना गर्ने कुरामा आफू विश्वस्त रहेको बताए । नेपालमा स्थिर सरकार बनेको र लगानीको लागि सरकारले उचित वातावरण निर्माण गरेकाले नेपालमा निर्धक्कका साथ लगानी गर्न उनले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नोबेल शान्ति पुरष्कार बिजेता आङसाङ सुकीको उपस्थितिले नेपालका सम्पूर्ण व्यवसायी जगतमा प्रेरणा पैदा भएको कुरा बताए ।

चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, चीन, भारत, जापान, कोरिया, मलेसिया, म्यानमार, पाकिस्तान र थाइल्याण्डका गरि १९० वटा स्टलहरु रहेको श्रेष्ठले जानकारी दिए ।