२ वर्षभित्र नमूना भरतपुरको अनुभूति गराउँछु : रेनु दाहाल

bharatpur-13
लाेकपाटी न्यूज

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास एक रातमा सम्भव नहुने बताएकी छिन् । बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर १३ को कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले विकास निर्माणका कामहरु एक रातमा सम्पन्न नभई त्यसको लागि समय लाग्ने बताइन् ।

उनले भरतपुर महानगर योजनाबद्ध र दिगो विकासको योजनासहित अगाडि बढिरहेको बताइन् । महानगरको आफ्नो आन्तरिक स्रोत, साधन, शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा रिङरोडको काम निर्माणाधीन रहेको उनको भनाइ थियो । ‘आफ्नो पहलमा भएका काम अबको दुई वर्षभित्र महानगरवासीहरूले अनुभूत हुने गरी देखाउने छु’ दाहालले भनिन् ।

नेकपा अध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ का सांसद एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासमा रचनात्मक सहयोग गरेको उनले जानकारी दिइन् । दाहालले अबको विकास महानगरपालिकाको पश्चिमी भूभागमा पर्ने बताइन् । महानगरभित्र सुशासन, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासको क्षेत्रमा उल्लेख्य सुधारका काम भइरहेको उनले बताइन् ।

महानगरीय योजना अनुसार सुशासन प्रवाह गर्न वडा कार्यालयहरू निर्माण गर्ने कार्यक्रम अन्तर्गत वडा नम्बर १३ को कार्यालयको सिलान्यास गरिएको बताउँदै उनले तोकिएको समयभित्र गुणस्तरीय ढंगले वडा भवन निर्माण गर्न वडा कार्यालयलाई निर्देशन दिइन् ।

महानगरपालिकाले लिएको सिटी हल र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अगाडि बढिरहेको बताउँदै उनले केही समयभित्रै यसले मूर्तरूप पाउनेमा विश्वस्त हुन आग्रह गरिन् । दाहालले प्रेमनाथ कोइराला र पद्मावती कोइराला परिवारले भरतपुर महानगरपालिकालाई जग्गा दान गरेर ठूलो गुण लगाएको भन्दै उनीहरुलाई धन्यवाद दिइन् ।

वुद्धिजीवी डा. भीमराज अधिकारीले पछाडि परेको वडामा पक्की वडा कार्यालयको शिलान्याससँगै विकासको अभियानको सुरूवात भएको बताए । भरतपुर महानगरपालिका १३ का वडाध्यक्ष प्रकाश दावडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जग्गादाता परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

जग्गादाता प्रेमनाथ कोइराला र पद्मावती कोइरालाद्वारा २ कठ्ठा जग्गा भरतपुर महानगरपालिकालाई प्रदान गरेका छन् । सोही जमिनमा महानगरपालिका वडा नम्बर १३ को २ हजार स्क्वायर फिटको पक्की भवन बन्नेछ । भवन ७० लाखको लागतमा ६ कोठे हुनेछ ।