आवासका लागि जग्गा दिन्छौं : मन्त्री अर्याल

padma aryal
लाेकपाटी न्यूज

स्याङ्जा, १३ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आवास नभएकालाई सरकारले एकपटकका लागि जग्गा उपलब्ध गराउने बताएकी छिन् ।

गल्याङ नगरपालिका–३ स्थित बल्पुकस्थित गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रको तेस्रो साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै उनले घरबास नभएका जनतालाई कार्यविधि बनाएर एक पटकका लागि जग्गा उपलब्ध गराउने योजनाका साथ अगाडि बढेको जानकारी दिइन् ।

संविधानमा सबै नागरिकलाई आवासको व्यवस्था गर्ने प्रावधान रहेको उल्लेख गर्दै मन्त्री अर्यालले मन्त्रालयले त्यसको तयारी गरेको बताइन् । मन्त्री अर्यालले मन्त्रालयले भूमि व्यवस्थापनमा नयाँपन आउने गरी कामको थालनी गरेकोसमेत बताइन् ।

पूर्वसांसद मुक्ति पाठक, जिल्ला समन्वय समितिका उपप्रमुख दीलिप बगाले, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, गल्याङ् नगरपालिका प्रमुख भुपाराज अधिकारीलगायतले जिल्लाको समग्र विकासका विविध पक्षमाथि प्रकाश पारेका थिए ।