सरकारको समीक्षा गर्ने बेला भयो: माधव नेपाल

madhav kumar nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकारको समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन्। काठमाडौंमा आयोजित वागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा उनले नेकपाको सरकारबाट जनता खुसी भए नभएकोबारेमा समीक्षा गर्नुपर्ने बेला भएको बताएका हुन्।

‘हाम्रो पार्टी र सरकारको कामबाट जनता खुसी छन् कि छैनन् भन्‍ने समीक्षा गर्ने बेला भएको छ,’ उनले भने, ‘नेतृत्वले आलोचना सुन्‍न सक्‍नुपर्छ। नेताहरू आपसमा लड्‍नुपर्ने अवस्था छैन।’ पार्टी एकता नभएको भए नेकपा सरकारमा नहुने र पछारिने अवस्थामा रहेको नेपालको भनाइ थियो। ‘नेताहरूआपसमा लड्‍नुपर्ने छैन। अलगअलग हुन्थ्यौं भनेहामी पछारिने थियौं,’ उनले भने।

पार्टी एकता भएको दुई वर्ष बित्दा पनि एकीकरण नटुंगिएकोमा उनको असन्तुष्टि थियो। उनको भनाइ थियो,’२ वर्ष बित्दा पनि एकीकरणका काम टुंगिन सकेनन्। यो विलम्ब भयो। छिटो टुंग्याऔँ र विधिसम्मत टुंग्याउनुपर्छ।’

जनताले दिएको मतमा पार्टी नेताहरूले दम्भ देखाउन नहुने नेता नेपालको सुझाव थियो। उनले भने, ‘दुई तिहाइको नजिक पुग्यौं भनेर हामीले दम्भ देखाउन हुन्‍न। जनताको विश्वास जित्‍न काम र व्यवहार देखाउनुपर्छ। अब हामी गुनासो गर्ने ठाउँमा छैनौं। काम गर्ने ठाउँमा छौं। राज्यस्रोत हाम्रो हातमा छ त्यसलाई सही सदुपयोग गरेर अगाडि बढ्नुपर्छ।’

नेकपाभित्र पछिल्लो समय विवाद बढेको सतहमा देखिएको छ। पार्टी र सरकार संचालनलाई लिएर सचिवालयमा विवाद देखिएको हो। त्यतर्फ संकेत गर्दै नेता नेपालले कार्यकर्ताहरूलाई भने, ‘पार्टीमा समस्या देखेर आत्तिनु पर्दैन। पार्टीभित्र अनेक चिज हुनसक्छन्। पार्टीका सबै नेताले एकताबद्ध भएर जाने संकल्प लिनुभएको छ। त्यही भएरहामी यहाँ आएका हौँ।’