जीवित पार्टीमा जीवित बहस हुन्छ, हुनु पनि पर्छ : प्रचण्ड

Prachanda Photo
लाेकपाटी न्यूज

काठमाडौं, १५ फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विवाद नभएको दिन पार्टी नै नरहने बताएका छन्। बिहीबार राजधानीमा भएको नेकपा बागमती प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले पार्टीमा विवाद हुनु र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताएको भन्दै ‘धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो। नेताहरू खुरुक्क मिलेर हिँडे हुन्थ्यो। हामीलाई पनि त्यस्तै लाग्छ,’ प्रचण्डले भने, ‘हामी एकतावद्ध हुन कोशिस गर्ने हो तर जुन दिन विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्न।’उनले साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, पार्टी भत्किने र फुट्ने प्रक्रिया चलिरहने बताए।

विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी चाहिन्न,’ प्रचण्डले भने। प्रचण्ड’ ले कुनै पनि हालतमा पार्टीलाई विघटन र विभाजन हुन नदिइने दाबी गरे। प्रचण्डले भने, ‘हामी धेरै दुःख र मूल्य चुकाएर देशमा कम्युनिष्ट पार्टीमा यो स्थानमा ल्याएका हौं। यसमा धेरैको रगत पसिना करोडौं जनताको आशा छ। यो पार्टीलाई कुनै पनि विघटन र विभाजन हुन दिइने छैन।’

दुई अध्यक्षबीच विवाद भएको बारे सञ्चारमाध्यममा आएका समाचारहरुलाई नपत्याउन आग्रह गर्दै प्रचण्डले दुई अध्यक्षबीचको विवाद सामान्य भएको बताए।’ उनले भने, ‘कम्युनष्टि पार्टीलाई कमजोर पार्न दुश्मनले सकेनन् तर सत्तामा गएपछि आफै भ्रष्टाचारमा लिप्त हुने, अहंकार हुने, आत्मकेन्द्रीत हुने हुँदा एउटा गोली पनि खर्च नगरि सकिए यसलाई गम्भीरता पूर्वक लिनुपर्छ र पार्टीले पनि लिइरहेको छ।’

उनले भने ‘दुई अध्यक्ष विवाद त गर्छौं। निकै नै परेको जस्तो गरी विवाद पर्छ। तपाईहरुनै तर्सने जसरी। तर विवाद समाधान गरेका त छौं’ प्रचण्डले भने,‘अहिले पनि केही विषयमा के के हो भन्ने आएको छ। मिडियामा आएको जसरी पछि नलाग्नु होला। हामी बसेर समस्या समाधान गर्छौं’। नेकपालाई कमजोर र विभाजित गर्ने प्रतिक्रियावादीको षड्यन्त्रलाई पूरा हुन नदिइने बताउँदै प्रचण्डले एक ढिक्का भएर अघि बढ्न सबैलाई आह्वान गरे।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्