‘यस्तो फाल्टु कुरा नगर्नुस्, यो अन्तर्वार्ता बन्द गर्नुस्’

eknath dhakal
लाेकपाटी न्यूज

काठमाडौं, मंसिर । नेपाल परिवार दलका अध्यक्ष एवम् युनिभर्सल पिस फेडरेसनका प्रमुख एकनाथ ढकालले आफू दरबारको पूजारी भएको दाबी गरेका छन् ।

‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा ढकालले आफू ब्राम्हणको छोरो भएको बताए । ‘एकनाथ ढकाल जनै लगाउने हिन्दू हो । एकनाथ ढकालेको धर्मको बारेमा कुरा गर्दा ख्याल गरेर गर्नुस्’, रिसाउँदै ढकालले भने, ‘म यति मात्रै भन्न चाहन्छु । नक्कली हिन्दूहरूबाट चाहिँ होसियार रहनुस् ।’

‘म कुलानन्द ढकालको पलाँती हुँ । दरबारको पूजारी हुँ’, उनले भने, ‘आमाको किरिया बस्दा क्रिश्चियनले किरया ग-यो भनेर लेखे । यो के हो ? जे पनि गर्न पाइन्छ ?’ आफूलाई क्रिश्चिनय धर्मको प्रचारक भनेर गरिएको आरोपप्रति ढकालले आक्रोश व्यक्त गरे । ‘धर्म भनेको निधारमा लेखेर हिँड्ने चिज होइन’, उनले भने ।

दक्षिण कोरियाकी मदर मुनलाई ‘जिसस क्राइसकी एक मात्रै छोरी घोषणा’ कार्यक्रम गर्न लागेको हो भनेर सोधिएको प्रश्नमा भड्किएका ढकालले भने, ‘यस्तो फाल्टु कुरा नगर्नुस् । यो अन्तर्वार्ता बन्द गर्नुस् ।’

ढकालले एसिया प्यासिफिक समिट २०१८ को आयोजना गर्न लागेका छन् । उनको यो कार्यक्रम क्रिश्चियन धर्मको प्रचारका लागि हुन लागेको भनेर आलोचना भैरहेको छ । नेपाली कांग्रेसले त पत्रकार सम्मेलन नै गरेर क्रिश्चियन धर्म प्रचारक कार्यक्रममा नेपाल सरकार सहआयोजकमा बसेको भनेर विरोध गरेको थियो ।

कांग्रेसले गरेको पत्रकार सम्मेलन र विरोधलाई ढकालले भने, ‘चियापसलमा २–३ ले विरोध गर्दैमा केही हुँदैन ।’ दैनिक नेपालबाट