भुइँचालो गइरहेको छ, तर पार्टी फुट्दैनः मन्त्री भट्टराई

Yogesh-Bhattarai
लोकपाटी न्यूज

पोखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीमा सानोतिनो भूकम्प जाँदैमा आत्तिन नहुने टिप्पणी गरेका छन्। बिहीबार पोखरामा आयोजित ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ मा उनले नेकपा सानोतिनो भूकम्पले चर्किने घर नभएको बताए।

‘अहिले काठमाडौंमा अलिअलि सानोसानो भूइँचालो, भूकम्प गइरहेको छ। हिजोआजका सञ्चारमाध्यममा त्यस्तै देखिन्छन्। तर, यो भूकम्पले चर्किनेवाला छैन। यो चर्किंदैन। त्यो घर सकुशल ठडिन्छ,’ उनले भने।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले पार्टीरुपी घर कतै सामान्य चर्किएको भए पनि नेकपाभित्र धेरै इन्जिनियर रहेकाले सकुशल घर ठड्याउने बताए। ‘हाम्रो नेपाल कम्युनिस्ट पार्टीको घरभित्र अनेक इन्जिनियर छन्, केही इन्जिनियरले घरको फिटिङ गर्छन् र त्यो घरलाई सकुशल ठड्याउँछन्। यो घर सकुशल ठडिन्छ’ उनले भने।

बुधबार पार्टी सचिवालय बैठकमा नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने भनी भएको निर्णय र त्यसमाथि प्रधानमन्त्रीले व्यक्ति गरेको प्रतिक्रियाबाट उत्पन्न परिस्थितिबाट विचलित नहुन नेता भट्टराईले आग्रह गरे। ‘म सोच्दैछु हाम्रा साथीहरु पोका पन्तुरा लिएर कतै निस्किहालेको जस्तो देखिन्छ। यी सबै थन्क्याए हुन्छ। किनभने हाम्रा नेताहरु जिन्दगी दाउमा राखेर हिँडेका नेताहरु हुन्।’