प्रधानमन्त्रीले पार्टीकाे निर्णय मान्नुपर्छ : प्रचण्ड

Prachanda Photo
लाेकपाटी न्यूज

चितवन, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्नु पर्ने बताएका छन्। शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरेका हुन्।

प्रचण्डले गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको बताए। अध्यक्ष प्रचण्डले भने, ‘गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न प्रधानमन्त्रीजीले मान्नै पर्छ, उहाँले मान्नुहुन्छ।’ अर्थमन्त्री हुनका लागि राष्ट्रिय सभामा जानैपर्छ भन्ने नभएको भन्दै प्रचण्डले ६ महिनाका लागि राष्ट्रिय सभामा नगए पनि डा. युवराज खतिवडा अर्थमन्त्री हुन सक्ने बताए।

उनले संबिधान संसोधन एउटा प्रकृयामा अघि वढ्ने पनि जानकारी दिए। उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीहरुसँग बैठक बसेको भन्ने भनाई हल्ला मात्र भएको बताए। प्रचण्डले भने,‘त्यो नियोजित, भ्रामक र कपोकल्पीत छ। त्यस्तो कहि बैठक वा डिनर भएको कसैले प्रमाणीत गरिदियो भने म त्यसलाई बधाई भन्छु।’ प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनित भएको धेरै उदाहारण भएको बताए।प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति र नेताहरुसँग भएको भेट सामान्य राजनैतिक प्रकृया भएको बताए।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सर्वसम्मत निर्णय गरेपछि नेकपामा चर्को विवाद देखिएको छ। प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने चेतावनी दिँदै राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने चेतावनी नेताहरुलाई दिएपछि नेकपामा संकट देखिएको हो।

नेता खनाल, नेपाल लगायतले भने सचिवालयले गरेको निर्णय कार्यान्वयन नगरे पार्टीमा गम्भीर समस्या उत्पन्न हुने चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीले आफू विरुद्ध घेराबन्दी गरिएको र त्यसको सामाना गर्ने सचिवालय बैठकमै चेतावनी दिएका थिए।