शिक्षाको विकासमा प्रदेश सरकार अगाडि बढेको छ : मूख्य मन्त्री पोखरेल

Shankar-Pokhrel 1
लाेकपाटी न्यूज

अस्मिना पाण्डे/ बुटवल, १६ फागुन। प्रदेश नम्बर ५ का मूख्य मन्त्री शंकर पोखरेलले उच्च शिक्षाका लागि बाहिर जान नपर्ने गरि शिक्षाको विकासमा प्रदेश सरकार अगाडि बढेको बताएका छन्। अहिलेका विश्व विद्यालय हामी आँउछौ भनेर आए स्वागत गर्छौं यदि आउन नमाने प्रदेश सरकार आफैँ विश्वविद्यालय खोलेर भए पनि विज्ञान प्रविधि टेक्नोलोजी अध्ययन गराउने बताए।

उनले शिक्षासँगसँगै काठमाडौं भन्दा बाहिर केही पनि विकास सम्भब छैन भन्ने मानसिकता केन्द्रले त्याग्नु पर्ने बताए। शुक्रबारबाट सुरु भएको प्रदेश स्तरिय युवा बैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै मूख्यमन्त्री पोखरेलले राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सम्मेलनले बिज्ञान र प्रविधीको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

नेपालको सन्दर्भमा विज्ञान र प्रविधिलाई आर्थिक र सामाजिक काममा जोड्न नसकेको भन्दै उनले मुलुक विज्ञानको क्षेत्रमा अघि बढी सकेको हुँदा राज्यले विज्ञानलाई समेटेर हिड्नुको बिकल्प नभएको बताए। नेपालमा रहेका आविष्कार अनुसन्धानका संस्थाका लागि मात्रै भएको भन्दै मूख्य मन्त्री पोखरेलले प्रतिफल आउने गरि काम गर्नुपर्ने बेला आएको बताए। राष्ट्रिय युवा परिषद र प्रदेश स्तरिय सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु भएको विज्ञान तथा प्रविधि सम्बन्धी सम्मेलनमा बोल्दै प्रदेशका विद्यार्थी अब बाहिर पढन जानू पर्ने बाध्यतालाई अन्त्य गर्ने गरि विद्यार्थीको चाहाना अनुसारको पढाइका लागि विभिन्न योजनाका साथ काम गरिरहेको जानकारी दिए।

मूख्य मन्त्री पोखरेलले प्रदेशको समृद्धिको आधार कृषि भएको दोहोर्‍याउदै कृषिलाई टेक्नोलोजीसँग जोड्नुपर्ने बताए। अभ्यास र सिद्धान्तको आधारमा रहेर काम गर्न पक्लीहवा कृषि क्याम्पससँग छलफल भइरहेको बताए। हाम्रोमा भाषण गर्ने तर जिम्मेवारी नलिने प्रवृत्ति छ, उनले भने। अनुसन्धानका हिसाबले पनि अग्रस्रर हुन सम्बद्ध संघ सस्थालाई उनले आग्रह गरे। नेपाल सरकारका रिसर्च सेन्टरहरु पनि जागीर खाने ठाउँ मात्रै भएको उनको भनाइ छ। सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञान र प्राविधिलाई आधारभुत तहबाटै जोड्नु पर्ने बताए।

प्रदेशमा हाल डिग्री गरेका ४३ हजार विद्यार्थी रहेकोमा साइन्स टेक्नोलोजी पढने जम्मा ४६ सय रहेको न्यून भएको बताए । त्यस्तै कक्षा ११ र १२ मा ७२ हजारले अध्ययन गरिरहेकोमा साइन्स टेक्नोलोजी पढने जम्मा ११ हजार मात्र रहेको बताए। मन्त्री बरालले यो सख्यालाई उल्टो गराउने गरि प्रदेश सरकारले योजना बनाएको बताए। युवा तथा खेलकुद मन्त्रालयका सचिव मान बहादुर बिकेले आर्थिक समृद्धिका लागि युवा भन्दा अरु नभएको बताए।अब राज्यले युवासँगको सहकार्य गर्नुपर्नेमा उनको जोड छ।

सम्मेलन दुईदिन सम्म चल्ने छ। सम्मेलनमा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष तथा म्यागासेसे पुरस्कार बिजेता महाबिर पुन रहेका छन्। त्यस्तै प्रा. डा. मोतीलाल शर्मा, डा. विशेष खनाल, डा. बसन्त गिरी, डा.सुरेस ढुङगेल, खिम पन्थी लगाएत रहेका छन्। सम्मेलनमा प्रदेश ५ मा विज्ञान तथा प्रविधिको विकास र अबको बाटो लगायतका महत्त्वपूर्ण विषयमा छ्लफल हुनेछ। सम्मेलनमा प्रदेश नम्बर ५ का १२ जिल्लाका २, २ जना र प्राध्यापक र विद्वानहरु निति निर्माणतहका उच्च पद्स्थ व्यक्तिको सहभागीता रहेको सम्मेलन संयोजक डा. कृष्ण प्रसाद शर्माले जानकारी दिए। सम्मेलनमा प्रदेशका युवा वैज्ञानिकहरुले आविष्कार गरेका विभिन्न प्रविधिहरु समेत प्रदर्शन गरिएको छ।