नेपाल एपीएफको वार्षिक साधारणसभा सम्पन्न

3
लाेकपाटी न्यूज

काठमाडौं, १६ फागुन। नेपाल एपीएफ क्लवको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा भएको सो साधारण सभाको नेपाल एपीएफ क्लव खेदकुद निर्देशक समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले उद्घाटन गरेका हुन्।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले त्यसअवसरमा नेपाल एपीएफ क्लवमा आवद्ध खेलाडीहरुले क्लवको स्थापनाकाल देखिनै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागी भई प्राप्त गरेको सफलताले राष्ट्र र संगठनको गौरव बढाएको चर्चा गर्नुहुँदै खेलाडी उत्पादनमा नेपाल एपीएफ क्लवले पुर्‍याएको योगदानको चर्चा गरे।उनले खेलाडी राष्ट्रका गहना भएको चर्चा गर्दै सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि संगठनले ध्यान पुर्‍याईरहेको बताए।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले खेलकुद हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएको तथा खेलकुदले अनुशासित समाजको सृजना गरी समाज एवं समग्र राष्ट्रको प्रगतिमा समेत सहयोग पुर्‍याउने बताए। सो क्लवका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुल्सीराम दाहालले क्लवको आर्थिक वर्ष २०७५/०७६ को आयव्यय विवरण प्रस्तुत गर्नुहुँदै भावी योजनाबारे चर्चा गरे। सशस्त्र प्रहरी उपरीक्षक दाहालले सो क्लवले व्याडमिन्टन, लनटेनिस र महिला भलिबल गरी तीन वटा राष्ट्रिय प्रतियोगिताहरु निरन्तर सञ्चालन गर्दै राष्ट्रको खेलकुदको विकासमा योगदान पु¥याउदै आईरहेको कुरा समेत बताए।

उक्त साधारण सभाले क्लबका सदस्यहरु सुरज अधिकारी, अमृत खड्का, नारायण प्रसाद पौडेल, बिनाकुमारी तुलाचन र प्रमोद चौधरीलाई आगामी कार्यकालका लागि कार्यकारिणी समितिको सदस्यको रुपमा सर्वसम्मतीले निरन्तरता दिएको छ। नेपाल एपीएफ क्लवका खेलाडीहरु भलिबल, फुटबल, क्रिकेट, एथ्लेटिक्स, व्याडमिन्टन लगायत विभिन्न २४ विधाका खेलहरुमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भई अन्तर्रा्ष्ट्रिय स्तरमा ८९ स्वर्ण, ५६ रजत र ६३ कास्य गरी कुल २ सय ८ अन्तर्रा्ष्ट्रिय पदक र राष्ट्रिय स्तरमा १ हजार ९ स्वर्ण, ८ सय ६९ रजत र ८ सय ७५ कास्य गरी कुल २ हजार ७ सय ५३ पदक प्राप्त गर्न सफल भएको कुरा सो समारोहमा जानकारी गराइएको थियो।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापा तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा. कृष्णकुमार तामाङ्ग लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु, नेपाल एपीएफ क्लवका सदस्यहरु एवं सो क्लवका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्