‘नारायणी नदीमा पानीजहाज चलाउँछौं’ : प्रचण्ड

Prachanda_chitwan_chiyapan
लाेकपाटी न्यूज

कावासोती, १४ मङसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अब गति लिएको बताएका छन् । त्रिभूवन बाल मावि कावासोती १७ नवलपुरको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै प्रचण्डले केही ढिला गरि भए पनि सरकारले गति लिएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले केही दिन अघि मात्रै सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाको उदाहरण दिदैँ सामाजिक सुरक्षा योजना दुरगामी र ऐतिहासिक निर्णय भएको भन्दै त्यो कोसेढुंगा सावित भएको बताए ।

मुलुकको विकासलाई गति दिने गरि प्रक्रिया अघि बढेको भन्दै अध्यक्ष प्रचण्डले अब कसैले चाहेर पनि मुलूकको विकास नरोकिने ठोकुवा गरे । उनले प्रतिक्रियावादीले जहिले पनि कम्युनिष्टविरुद्ध भ्रम छरिरहेको भन्दै अब दुई छिमेकीसँगको साथ र सहयोगबाट मुलुकलाई नयाँ गति दिने बताए ।

प्रचण्डले भने, ‘उत्तरी छिमेकी चिन र दक्षिण छिमेकी भारतसँगको सम्बन्ध नयाँ शिराबाट मजबुद बन्दै गएको छ, अब विकासले गति लिनेमा कुनै शंका नगर्नहोस् । जहिले पनि प्रतिक्रियावादीले हामीविरुद्ध भ्रम छरिरहेका छन, संविधान जारी गर्ने बेलामा होस् अथवा दुई पार्टीबीचको एकता प्रक्रियामा होस् या त गणतन्त्र ल्याउने बेलामा होस् । तर, हामी रोकिएनौं ।’

उनले नवलपुर र आफू निर्वाचित चितवनको पश्चिम चितवनलाई जोडेर यस क्षेत्रको गुणात्मक परिवर्तन ल्याउन आफू प्रतिवद्ध रहेको बताए । अध्यक्ष प्रचण्डले नारायणीमा ३ वटा नयाँ पुलको आवश्यकता महशुस गरिएको र नारायणी नदीमा सबैभन्दा पहिले पानी जहाज चलाएर छाड्ने ठोकुवासमेत गरे ।

progm

उनले भूमिगत अवस्थामा आफू पूर्णकालीन सदस्य भएपछि पहिलो कार्यक्षेत्र नवलपरासीमै रहेको भन्दै यस क्षेत्रको विकासमा आफूले कुनै कसर बाँकी नराख्ने बताए । ‘म भूमिगत कालमा तपाईहरुकै साथमा थिएँ, नवलपरासीको विकास मेरो प्राथमिकतामा पर्छ’ उनले भने ।

अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रमा निजिकरण र व्यापारिकरणको रोग लागेको भन्दै पछिल्लो समय सामुदायिक विद्यालयमा आकर्षण बढ्दै गएको बताए । केही समय अघिसम्म सामुदायिक विद्यालयको स्तर कमजोर रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले सुधार हुँदै गएसंगै आकर्षण बढेको दावी गरे ।

प्रचण्डले सरकारले चुनावमा गरेका सबै प्रतिबद्धताहरु ५ वर्षभित्र पूरा गरेरै छाड्ने स्पष्ट गरे । प्रचण्डले भने, ‘हामीले सोचेजस्तो काम गर्न सकिरहेका त छैनौं । तर ५ वर्षभित्र चुनावमा गरेका सबै प्रतिबद्धता पूरा गर्छौ, यस वर्ष त्रुटी भयो, अर्को वर्ष वृद्धा भत्ता बढाउँछौं ।’