कन्हैया कुमारविरद्ध राजद्रोह मुद्दा चलाउन अनुमति

Kanhaiya_Kumar
लोकपाटी न्यूज

काठमाडौं। दिल्ली सरकारले जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्रसंघका पूर्वअध्यक्ष तथा चर्चित युवा कम्युनिस्ट नेता कन्हैया कुमारविरुद्ध राजद्रोह मुद्दा चलाउन अनुमति दिएको छ। समाचार संस्था पीटीआइका अनुसार अरविन्द केजरीवाल सरकारले शुक्रबार मुद्दा चलाउन मन्जुरी दिएको हो।

सन् २०१६ मा जेएनयू परिसरमा भारत विरोधी नारा लगाएको आरोपमा दिल्ली प्रहरीको विशेष ब्यूरोले कन्हैयासहित ८ जनाविरुद्ध कारवाही अगाडि बढाएको थियो। तर, दिल्ली सरकारको अनुमति नहुँदा मुद्दा चल्न सकेको थिएन।

दिल्ली सरकारले अनुमति दिएसँगै कन्हैयासहित उमर खालिद, अनिर्बान, आकिब हुसैन, मुजीब, उमर गुल, बशरत अली र खालिद बसीरमाथि पनि राजद्रोहको मुद्दा चल्ने भारतीय सन्चारमाध्यमले जनाएको छ। हालै दिल्लीको पटियाला हाउस अदालतमा यो घटनाको सुनवाई हुँदा दिल्ली प्रहरीले अझै सरकारबाट राजद्रोह मुद्दा चलाउने अनुमति नपाएको जवाफ दिएको थियो।

त्यसपछि अदालतले दिल्ली प्रहरीको विशेष ब्यूरोलाई राजद्रोह प्रकरणमा दिल्ली सरकारलाई पत्र लेखेर जवाफ माग्न निर्देशन दिएको थियो। अदालतको निर्देशनअनुसार विशेष ब्यूरोले कन्हैया कुमारसहित अन्य आरोपीविरुद्ध राजद्रोह मुद्दा चलाउन पुनः अनुमति मागेको थियो। अदालतको निर्देशनपछि दिल्ली सरकारले मुद्दा चलाउन अनुमति दिएको हो।

भारतका नागरिकको दबाबपछि यो मुद्दा अगाडि बढाउन आफूहरु बाध्य भएको मानव संसाधन विकासमन्त्री प्रकाश जावेडकरले ट्वीटमार्फत् बताएका छन्। सन् २०१६ को उक्त घटनापछि हालका दिल्लीका मुख्यमन्त्री केजरीवालले कन्हैयाले शानदार भाषण दिएको भनेर ट्वीट गरेका थिए। त्यसपछि नै कन्हैया कुमार राजद्रोहको अरोपमा पक्राउ परेका थिए। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्