विशिष्ट कक्षमा जान नदिएपछि भीम रावल आक्रोशित

Bhim-Rawal-2
लोकपाटी न्यूज

धनगढी। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले आफूलाई धनगढी विमानस्थलको विशिष्ट कक्षमा जान दिइएकोप्रति आश्चर्य प्रकट गरेका छन्। शनिबार काठमाडौंबाट धनगढी विमानस्थल पुगेका नेता रावलले विमानस्थलको विशिष्ट कक्षमा जान खोज्दा सुरक्षाकर्मीले रोकेका थिए।

सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री, रक्षामन्त्री समेत भइसकेका भीम रावल अरु बेला विशिष्ट कक्षमा गएर पत्रकार भेटघाट समेत गर्ने गर्दथे तर आज उनलाई विशिष्ट कक्षमा जान दिइएन। नेता रावलले पछि सोधखोज गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका कारण आफूलाई विशिष्ट कक्षमा जान नदिइएको थाहा भएको बताए। धनगढीमा सञ्चारकर्मीसँग उनले पूर्व जानकारी विना विमानस्थलमा रोक लगाइनु आश्चर्यको विषय भएको बताए।

‘मैले विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न नपाएकोमा गुनासो होइन,’ उनले भने’ ‘तर, मलाई सुरक्षा व्यवस्थाबारे जानकारी दिइएन।’ उनले आफुमाथि त्यस्तो व्यवहार किन गरिएको भन्ने जिज्ञासा राखे। शनिबार धनगढीबाट राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं फर्कने कार्य सूची रहेको थियो। राष्ट्रपति काठमाडौं फर्कनका लागि विमानस्थल जाँदै थिइन्। सोही कारण विशिष्ट कक्षमा सुरक्षा व्यवस्था कडाई गरिएको थियो।

सुदूरपश्चिम इञ्चार्ज रावलले भने, ‘विशिष्ट कक्षमा को–को, कस्ता–कस्ता व्यक्ति  जानपाउँछन् ? भन्ने सूची बनाइयो र त्यसमा हाम्रो पद परेन भने सर्वप्रथम त्यो कार्यान्वयन गर्न म तयार छु।’ उनले सुरक्षामा खटिएका सुरक्षाकर्मी नभई सुरक्षा व्यवस्था मिलाउने व्यक्तिलाई दोषी बनाए। उनले भने, ‘सुरक्षाकर्मीलाई दोष छैन। उनीहरुले माथिको आदेशमा काम गर्छन्।’

एक अर्को प्रशंगमा बोल्दै इञ्चार्ज रावलले एमसिसीमा जनताको चासो बढेकोमा खुसी व्यक्त गरे। उनले एमसिसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेको बताए। उनले भने, ‘पार्टीको आधिकारिक धारणा नआएकाले यस विषयमा म धेरै बोल्न चाहन्न।’

उनले राष्ट्रियसभा सदस्यबारे पार्टी केन्द्रीय कमिटी बैठकले गरेको निर्णय सबैले मान्नु पर्ने बताए। उनले भने, ‘केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा छ।’ उनले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताए। उनले भने, ‘पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक हो तर, यसले पार्टी फुट्छ भन्नु हुँदैन।’ उनले कार्यकर्ताले निराश हुनुभन्दा ठीकबेठिक छुट्याएर अघि बढ्नुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्