भक्तपुरबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

biplob
लोकपाटी न्यूज

काठमाडौं। प्रहरीले सरकारद्वारा प्रतिवन्धित नेकपाका दुई कार्यकर्तालाई भक्तपुरबाट पक्राउ गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई पूर्व जिल्ला सेक्रेटरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए।

गिरीका अनुसार भक्तपुरस्थित विभिन्न स्थानमा शङ्कास्पद गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा ३१ वर्षीय कुशल बोगटी र ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको हो।

कालिकोटको रुक्सा गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–७ निकोसेरा बस्दै आएका बोगटी प्रतिवन्धित नेकपाका पूर्व जिल्ला सेक्रेटरी रहेको प्रहरीको भनाइ छ। यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुगार घर भई भक्तपुरकै मध्यपुर ठिमी–२ बस्ने पुन पनि पूर्व जिल्ला सेक्रेटरी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फागुन १५ गते पक्राउ गरिएका उनीहरुलाई मुलुकी फौजदारी अपराधसंहित २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्