‘सामाजिक सुरक्षा कार्यक्रम कांग्रेसको हो’ : प्रकाशमान सिंह

prakashman
लाेकपाटी न्यूज

काठमाडौं । धादिङमा जारी नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले अहिले सरकारले नयाँ युगका नाममा प्रतिगामी युगको थालनी गरेको दावी गरेका छन् । नयाँ युगका नाममा दिनानुदिन जनजीवन अस्तव्यस्त बनाएको सिंहको आरोप थियो ।

मुलूकलाई झनझन् असफल बनाउने काममा सरकार केन्द्रित भएको उनले बताए । सामाजिक सुरक्षाका नाममा तामझाम उनको आरोप थियो । सामाजिक सुरक्षा कार्यक्रम कांग्रेसले अघि सारेकोसमेत सिंहले दावी गरे ।

फरक प्रसङ्गमा बोल्दै सिंहले कांग्रेसभित्र सुधार आवश्यक भएको बताए । ‘पार्टी विधि र विधानअनुसार चल्नुपर्छ । सभापति वा कसैको विरोध गरिएको छैन । तर, पार्टी विधानअनुसार चल्नुपर्छ ।’

देउवाको कार्यशैलीले कांग्रेस सक्किने चिन्ता बढेको उनले बताए । ‘पार्टी पदाधिकारी र संसदीय दलका नेता छान्दा गम्भिर गल्ती भएको छ । यसले कांग्रेसलाई फाइदा गर्दैन । हाम्रो चिन्ता कांग्रेस बिग्रियो भन्ने हो’ उनले भने ।

‘दल नेता कमजोर हुँदा पार्टी कमजोर भयो, देश कमजोर भयो, लोकतन्त्र कमजोर भयो’ सिंहले भने, ‘प्रतिपक्ष कमजोर भयो । यही बेला सरकार र ओली नयाँ नयाँ नाममा मुलूकलाई लुटिरहेका छन् ।’

उनले विधान संशोधनमा भूमिका खेल्न पनि कोषाध्यक्षहरुलाई आग्रह गरे ।