कार्ल मार्क्सको विश्वप्रसिद्ध पुस्तक पूँजीमा के छ ?

Das capital
“पूँजी”को पहिलो भागमा उपनिवेशवादको आधुनिक सिद्धान्त र पुँजीवादको विश्वव्यापी चरित्रको बारेमा ब्याख्या गरिएको छ। यसलाई मार्क्सले पुँजीवादी उत्पादन पद्धतिको नाफामुखी चरित्र र नाफाको औपनिवेशिक बिस्तारसँग जोडेर ब्याख्या गर्नुभएको छ। पछि लेनिनले यसलाई साम्राज्यवादी प्रणालीको रुपमा व्याख्या गर्नुभयो।
लोकपाटी न्यूज

प्रा. वैंकटेश आत्रेय

पूँजी किन पढ्ने ? – पूँजीको अध्ययनले मेरो जीवन पूर्ण रुपले परिवर्तित भयो। यसले मेरो जीवनलाई कसरी परिवर्तन गर्यो भन्ने तत्थ्यलाई मेरो व्यक्तिगत टिपोटको आधारमा उल्लेख गर्दैछु।

मैले भारतको एक प्रतिष्ठित संस्थावाट सन् १९६९ मा रसायन अभियन्त्रीकरण (केमिकल इञ्जिनियरिङ) मा डिप्लोमा उत्तिर्ण गरेँ र अमेरिकन विश्वविद्यालयमा अर्थशास्त्रको विद्यावारिधिका लागि छनौट भएँ। म भर्ना भएको विश्वविद्यालयमा भियतनाममा अमेरिकी हस्तक्षेपको विरुद्धमा शक्तिशाली विद्यार्थी आन्दोलनको सुरुवात भएको थियो। तर मेरो विद्यावारिधिको पाठ्यक्रममा किन यति शक्तिशाली राष्ट्रले भियतनाम जस्तो तेस्रो विश्वको सानो राष्ट्रमाथि आक्रमण गरिरहेको छ भन्ने प्रश्नको जवाफ दिने विषयवस्तु थिएन।

यसै समयमा म कार्ल मार्क्सको “पूँजी” अध्ययन समूहमा संलग्न हुन पुगेँ। मार्क्सद्वारा सन् १८५० र १८६० को समयमा लेखिएको अर्थशास्त्रको यो जटिल पुस्तकलाई कतिपयले अप्रचलित र असान्दर्भिक समेत मान्दछन्। तर मलाई के लाग्यो भने यस समयका मुख्य अर्थशास्त्रका पुस्तकहरुले वास्तविक संसारको व्याख्या गर्न सकेका छैनन्। त्यसैले म “पुँजी” अध्ययन समूहमा संलग्न भएँ, जसले मेरो समग्र जीवनलाई नै परिवर्तन गरिदियो। मैले विभिन्न सामाजिक विज्ञानका विषयहरुलाई आधार मानी विद्यावारिधि गरिरहेका विश्वविद्यालयका १० जना विधार्थीहरुको समूहमा समावेश भई अंग्रजी भाषामा “पुँजी”को अध्ययन गरेँ ।

सर्वप्रथम मलाई के लाग्यो भने यो पुस्तकलाई निकै सावधानीपूर्वक अध्ययन गर्नुपर्दछ र जसका वाक्यको महत्त्वपूर्ण अर्थ रहेको छ। क्रमशः मैले के पाएँ भने माक्र्सको यो पुस्तक निकै विष्लेषणात्मक रहेको छ जसको अध्ययनवाट मैले मनोरञ्जन लिन थालेँ। मैले विश्वविद्यालयको सेमेष्टरसँगै यसलाई निकैपटक दोहोर्याएर अध्ययन गरेँ, जसमा मैले केही नयाँ धारणा प्राप्त गर्न थालेँ। “पुँजी”को अनुवादमा समेत कवितात्मकता रहेको छ। मार्क्सको विज्ञतामा यति व्यापकता छ कि “पुँजी”मा राजनीतिक अर्थशास्त्र, द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद र सेक्सपियर वा गोथेका भनाइहरु समेत समाविष्ट छन्।

मार्क्सको लेख्ने कलामा केही मनोरञ्जनात्मकता र बुर्जुवा अर्थशास्त्रीहरु र पुँजीवादी प्रणालीप्रति कटाक्ष रहेको छ। इञ्जिनियरिङमा स्नातक र गणितीय अर्थशास्त्रमा तालिमप्राप्त मैले “पुँजी”बाट के सिक्न सक्दथे ? सर्वप्रथम मैले के बुझेँ भने समाज र यसको गतिशीलता बुझ्नका लागि ऐतिहासिक दृष्टिकोण आवश्यक पर्छ। दोस्रो, समाजको गतिशीलता उतपादनका साधनमाथिको स्वामित्त्व, उत्पादक शक्ति र उत्पादनका साधन बिचको सम्बन्धले निर्धारित गर्दछ। तेस्रो, पुँजीवादी उत्पादन पद्धति निम्न तिन कुरामा आधारित रहेको छः

१. उत्पादक शक्तिहरुलाई उत्पादनका साधनबाट अलग्याउनु र तिनीहरुलाई ज्यालादारी मजदुरमा रुपान्तरित गराउँदै एक ध्रुवमा पुर्याउनु। २. उत्पादनका साधनहरुलाई निजी स्वामित्त्व वा एकाधिकारमा रुपान्तरित गर्दै अर्को ध्रुवमा पुर्याउनु। ३. उत्पादनको सम्पूर्ण नाफा र बजारवाट प्राप्त मुनाफा व्यक्तिगत खातामा जानु।

मार्क्सले यी सम्पूर्ण नाफामुखी प्रणालीहरुको विस्तारको बारेमा व्याख्या गर्नुभएको छ। “पूँजी”को पहिलो भागमा उपनिवेशवादको आधुनिक सिद्धान्त र पुँजीवादको विश्वव्यापी चरित्रको बारेमा ब्याख्या गरिएको छ। यसलाई मार्क्सले पुँजीवादी उत्पादन पद्धतिको नाफामुखी चरित्र र नाफाको औपनिवेशिक बिस्तारसँग जोडेर ब्याख्या गर्नुभएको छ। पछि लेनिनले यसलाई साम्राज्यवादी प्रणालीको रुपमा व्याख्या गर्नुभयो।

मार्क्सले “पुँजी”मा पुँजीवादी आर्थिक प्रणालीको विरोधाभासी चरित्रको बारेमा उल्लेख गर्नुभएको छ। पुँजीपति बिचको द्वन्द तथा पुँजीपति र कामदार वर्ग बिचको द्वन्दले समाजमा उत्पादक शक्तिहरुमा द्रुततर बृद्धि भइरहेको छ एकातिर भने अर्कोतिर अत्यधिक उत्पादन, उपभोक्ताको क्रय क्षमतामा ह्रास, अत्यधिक नाफा र बेरोजगारीमा बृद्धि भइरहेको छ। यो विरोधाभासले पुँजीवादी समाजको बढ्दो उत्पादन क्षमता र उपभोग क्षमताको घट्दो ह्रास देखाउँछ। जसले मागमा संकट र बेरोजगारीको दरमा बृद्धि गराइरहेको छ।

यसले पुँजीवादको बेथिति र अराजकता देखाउँछ जसको फलस्वरुप सम्पूर्ण आर्थिक क्षेत्रमा संकट उत्पन्न भइरहेको छ। त्यसैगरी प्रविधिको बढ्दो विकासले उत्पादन दरमा बृद्धि भइरहेको छ। जसले बेरोजगारीमा बृद्धि र नाफामा घटबढ गराइरहेको छ। यी सम्पूर्ण ऐतिहासिक कारक तत्त्वहरुले पुँजीवादी प्रणालीमा उतारचढाब ल्याइरहेको छ र बेरोजगारीमार्फत कामदार वर्गको जीवनमा निकै नकारात्मक प्रभाव पारिरहेको छ।

यी सबैको बावजुद पुँजीपति वर्ग र पुँजीवादी राष्ट्रको बिचमा विश्वस्तरमा द्वन्द झाँगियो, दुई वटा विश्वयुद्धमा लाखौँ मानिस मारिए र ठूला कर्पोरेशनहरुले अत्यधिक नाफा हात पारे। हालसम्म पनि विश्व पुँजीवादमा संकट कायम छ, अर्थतन्त्रमा गिरावट र बेरोजगारीको दर उच्च नै रहेको छ। अहिलेको विश्व पुँजीवादमा रहेको संकट र जलवायु परिवर्तनको विश्वव्यापी संकटमा पनि पुँजीवादी प्रणालीको मुख्य हात रहेको छ।

मार्क्सको “पुँजी”ले पुँजीवादी उत्पादन स्वरुपको ऐतिहासिक विघटन र १९ औ शताब्दीमा भएका पुँजीवाद जीवन्त राख्ने प्रक्रियाको विश्लेषण गर्दछ। बिसौं शताब्दीको अनुभवले के देखाउँछ भने विश्वका औद्योगिक राष्ट्र र उपनिवेशमा रहेका राष्ट्रका जनताले पुँजीवादको विरुद्धमा विद्रोह गरिरहेका छन्। विज्ञान र प्रविधिमा आएको परिवर्तन, खाने, बस्ने स्थान, लुगा फाटो, शिक्षा र स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको परिपूर्तिका बावजुद २१ औ शताब्दीमा पनि पुँजीवादी प्रणालीमा संकट नै रहेको छ। मार्क्सको “पुँजी”मा गरिएको पुँजीवादी प्रणालीको वैज्ञानिक व्याख्याले आधुनिक समाजमा रहेको धनी र गरिब बिचको असमानता बुझ्न झन् सघाउ पुर्याइरहेको छ।

के “पूँजी” पढ्नु निकै चुनौतीपूर्ण हो ?

अब मैले “पुँजी”बाट के सिकेँ भन्ने तथ्यलाई उल्लेख गर्दैछु। मेरो बुझाइमा राजनीतिक कार्यकर्ता र बौद्धिक वर्गले समेत भनिरहेको “पुँजी” निकै कठिन छ भन्ने भनाइमा कुनै सत्यता छैन। तर के चाहिँ सत्य हो भने “पुँजी”को पढाइमा एकस्तरको लगाव, अध्ययनमा निरन्तरता र तार्किकता हुन जरुरी छ। त्यसैले “पुँजी”को अध्ययन अत्यन्तै फाइदाजनक र असामान्य रुपले ज्ञान आर्जन उन्मुख छ।

“पुँजी”मा मार्क्सले “पुँजी”वादी उत्पादनको पद्धतिको विश्लेषण, यसको आन्तरिक गतिशिलता र विरोधाभाषको उल्लेख गर्दै पुँजीवादको गतिशीलताको नियमलाई संक्षेपीकरण गर्नुभएको छ। यस्तो विश्लेषण ऐतिहासिक भौतिकवादी धारणाको आधारमा हुनुपर्छ, जसले उत्पादनको स्वरुपको विश्लेषणमा समेत सघाउ पुर्याउँछ। यसका लागि एकस्तरको भावनात्मकता अनिवार्य हुन्छ। मार्क्सकै शब्दमा “आर्थिक स्वरुपको विश्लेषणमा, न सुक्ष्मदर्शक यन्त्र न रासायनिक अभिकर्ताको नै प्रयोग गर्न सकिन्छ। भावनात्मक क्षमताले मात्र यसलाई विस्थापित गर्न सक्दछ।”

मार्क्सले आफ्नो लेखनमा सम्पूर्ण विज्ञानको प्रयोग गर्नुभएको छ। मार्क्सको पुँजीको प्रथम भागका तिन एकाइहरु वस्तु र मुल्यको धारणामा आधारित छन्। मार्क्सको “पुँजी”को अध्ययनमा कुनै नियमितता नभई जुनसुकै एकाइलाई जतिखेर जसरी पढे पनि हुन्छ। पाठकहरु जसले ऐतिहासिक दृष्टिकोणको आधारमा विश्लेषण गर्दछन्, उनीहरुले “पुँजी”को प्रथम भागकोे अन्तिम एकाइ पुँजीको आदिम वा प्राथमिक संकलन वा सञ्चय पढ्दा उपयुक्त हुन्छ। यस एकाइको ६० पेजले बेलायतमा सत्रौँ शताब्दीदेखि उन्नाइसौँ शताब्दीसम्म कसरी पुँजीवादी उत्पादन प्रद्धतिको ऐतिहासिक विकास भयो भन्ने प्रक्रियाको राम्रो ढंगले विश्लेषण गर्दछ।

कामदार वर्गको आन्दोलनको जुझारूपनको बारेमा “पुँजी”को भाग एकको एकाइ ३, ४ र ५ मा उल्लेख गरिएको छ। जसमा सापेक्ष र निरपेक्ष अतिरिक्त मुल्यको विश्लेषण गरिएको छ। त्यस्तै पुँजीको १० औँ एकाइमा “कार्य दिवस”को बारेमा लेखिएको छ जसले तेस्रो विश्व खास गरी भारतको उपयोग र अन्य क्षेत्रमा रहेको काम गर्ने समयको बारेमा रहेको विविधताको व्याख्या गरिएको छ। यो एकाइले इतिहास खासगरी वैधानिक इतिहासको उल्लेख गर्दै वर्ग, अतिरिक्त मूल्यको पुँजी र शोषण विरुद्धको कामदार वर्गको प्रतिरोध आन्दोलनको उल्लेख गरेको छ।

मार्क्सको शब्दमा “काम गर्ने दिनको बारेमा पुँजीपति र मजदुरको बिचमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ, जसले दुई विपरित वर्गको प्रवृतिलाई देखाउँछ।” माक्र्सले मजदुरलाई आफ्नो श्रमको मालिक भएको उल्लेख गर्दै यसलाई उसले आफू खशी बेच्न पाउनुपर्ने तर्क राख्नुभएको छ। त्यसैले कामको घण्टा तोकिनु वास्तममै म्याग्नाकार्टा नै हो भन्ने धारणा मार्क्सको छ। यसलाई माक्र्सले सन् १८६० को दशकमा बेलायतको सन्दर्भमा ब्याख्या गर्नुभएको थियो। जसलाई भारत, नेपाल लगायतका राष्ट्रको सन्दर्भमा पनि ब्याख्या गर्नुपर्दछ।

“पुँजी”को xii, xiii र xiv एकाइमा क्रमशः सहकारिता, श्रम विभाजन र उत्पादन तथा यान्त्रिकता र आधुनिक उपयोगको बारेमा व्याख्या गरिएको छ। मार्क्सले इञ्जिनियर र प्राविधिकहरुको बारेमा उपयोगी हुने यो एकाईमा औद्योगिक उत्पादनका विषयवस्तुबारे ब्याख्या गर्नुभएको छ। यसलाई माक्र्सले सामाजिक र ऐतिहासिक रुपान्तरणको प्रकृया मान्दै यसले पुँजीवादी उत्पादन पद्धतिमार्फत मजदुरको बेरोजगारी अवस्थाको समेत ब्याख्या गर्नुभएको छ।

मार्क्सले उद्योगमा प्रविधिको प्रयोगले क्रान्तिकारी परिवर्तन ल्याएको धारणा राख्दै परम्परागत उत्पादनको स्वरूपलाई परिवर्तन गर्नुपर्ने धारणा राख्नु हुन्छ। उद्योगमा रसायन, प्रविधि र अन्य आधुनिक विधिको प्रयोगले उत्पादन प्रकृयामा समेत परिवर्तन हुने र यसले सामाजिक सम्बन्धमा समेत प्रभाव पार्ने गर्दछ। प्रविधिको प्रयोगले श्रम विभाजन, विश्वव्यापी श्रमिक गतिशीलता र पुँजीवादी उत्पादन पद्धतिमा अत्यधिक प्रभाव पार्ने धारणा राख्दै यसले श्रमिकको अवस्था र बेरोजगारीमा समेत असर पार्ने धारणा राख्नु हुन्छ।

मार्क्सले आधुनिक उधोगको भूमिकाको बारेमा सन्तुलित र ऐतिहासिक धारणा राख्नु हुँदै पुँजीवादी उत्पादन स्वरुपका अन्य विभिन्न पक्षहरुको विश्लेषण गर्नुभएको छ। उद्योग र कृषिको सम्बन्धमा समेत माक्र्सले आफ्नो धारणा राख्नुभएको छ। मार्क्सले पुँजीवादी औद्योगिक आधुनिकीकरणले कृषि र कृषि कामदारको जीवनमा पारेको प्रभावको समेत विश्लेषण गर्नुृभएको छ। मार्क्सका अनुसार पुँजीवादी उत्पादनले कृषि र निर्माणको क्षेत्रमा अत्यधिक प्रभाव पारेको छ। यसले भविष्यको भौतिक अवस्थाको उच्चतामा कृषि र उद्योगको एकताले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। मार्क्सले मानव र माटोबिचको सम्बन्धको समेत ब्याख्या गर्दै माटोको उत्पादकताको विश्लेषण गर्नुभएको छ। मार्क्सका अनुसार पुँजीवादी कृषिले माटोलाई आफ्नो हितमा प्रयोग गरेको छ। उत्पादकत्त्वको नाउँमा माटो र श्रमिकहरुको शोषण गरेको छ।

“पूँजी” : एक आनन्दपूर्ण अध्ययन

“पुँजी”को अध्ययन सरल र ज्ञानवद्र्धक छ। “पुँजी”को पहिलो भागको अध्ययनले हामीलाई पुँजीवादका मुख्य धारणा र पुँजीवादी उत्पादन पद्धतिको बारेमा बुझ्न सघाउ पुर्याउँछ। यो अत्युक्ति हुदैन कि शासक वर्गले समेत पुँजीवादी उत्पादन स्वरुपको विश्लेषणका लागि “पुँजी”को अध्ययन गर्दछन्। बुर्जुवा विचारकहरु र बौद्धिक वर्गले समेत मार्क्सको पुँजीलाई अस्वीकार गर्दै यसको बौद्धिक चोरी गरिरहेका छन्। अर्थशास्त्रीहरुले माक्र्सलाई अर्थशास्त्रीको रुपमा नभई राजनीतिक प्रचारकको रुपमा ब्याख्या गरिरहेका छन्। पुँजीवादभित्रको संकट गहिरिदै जाँदा र नवउदारवाद तथा किन्सको सिद्धान्तले यसको ब्याख्या गर्न नसकेको सन्दर्भमा मुख्य अर्थशास्त्रीहरुले माक्र्सलाई पनि उत्तररिकार्डियन भनी हल्ला फिँजाइरहेका छन्। मार्क्सको सिद्धान्तलाई गलत ढङ्गले प्रचार गरिरहेका छन्।

मार्क्सको “पुँजी”को प्रथम भागमा उल्लेख गरिएको वस्तु र मूल्यको धारणा नै पुँजीको सबैभन्दा महत्त्वपूर्ण र कठिन धारणा हो। यो भागमा मार्क्सले वस्तुको उपयोग मुल्य र विनिमय मूल्यको उल्लेख गर्नुभएको छ। मार्क्सको विनिमय मूल्यको धारणा एक जटिल सामाजिक सम्बन्धको प्रतीक हो। जुन बाह्य र देखिने स्वरुपमा मात्र नभएर अत्यन्त गहिरो र पुँजीवादी उत्पादन स्वरुपलाई उजागर गर्ने धारणा समेत हो।

“पुँजी”को प्रथम भागको २५ एकाई पनि त्यतिकै महत्त्वपूर्ण छ, जसले पुँजीवादी सञ्चितीकरणको नियमको बारेमा उल्लेख गर्दछ। यसले पुँजीवादी उद्विकासको विरोधाभास मात्र नभएर वास्तविक संसारको विरोधाभास समेत उल्लेख गर्दछ। मार्क्सको “पुँजी”का सम्पूर्ण एकाइहरु यति महत्त्वपूर्ण छन् कि प्रत्येकले विगत र वर्तमान संसारको आवाज बोलिरहेको देखिन्छ। मार्क्सले तत्कालीन तथ्याङ्कलाई सावधानीपूर्वक प्रयोग गर्नुभएको छ र अनुभवसिद्ध तथ्यहरुको समेत प्रयोग गर्नुभएको छ। उहाँले पूर्वीय साहित्य र तत्कालीन समयका दार्शनिक विचारहरुलाई समेत यथास्थानमा राम्रो ढङ्गले प्रयोग गर्नुभएको छ।

मार्क्सले त्यस समयका प्रसिद्ध कवि गोथेको उल्लेख गर्दै पुँजीवादको विकास र यस भित्रका विरोधाभास र यसको विनासको राम्रो ढङ्गले ब्याख्या गर्नुभएको छ। त्यसैले “पुँजी”को अध्ययन गर्नुहोस्, यसको भूमिका पढ्न नछुटाउनुहोस् र तिनै भागको अध्ययनले तपाईंको ज्ञानको क्षितिज नवीन र फराकिलो समेत हुनेछ। (लेफ्ट रिभ्यु अनलाइनबाट।)