काेराेना राेक्न यस्ताे छ नेपाल सरकारकाे प्रबन्ध

Health mantralaye
लाेकपाटी न्यूज

काठमाडौं, १७ फागुन। नेपाललाई विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले कोरोना भाइरस (कोभिड १९)  को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेपछि नेपाल सरकारले कोरोना नियन्त्रणको पूर्वतयारीलाई तीव्र रुपमा अघि बढाएको छ। डव्लुएचओको मुख्यालयमा गत बिहीबार भएको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेको हो।

नेपालसहित, डव्लुएचओले अहिले दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ। अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन्।यसअघि डव्लुएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो। मन्त्रालय विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमा नेपाललाई राखेपछि सरकारले पूर्व-तयारी तीव्र गतिमा अघि बढाएको छ। विदेशीहरु नेपाल छिर्ने मुख्य नाका त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्कलाई थप व्यवस्थित बनाएको छ।

हाल थर्मलस्क्यानर र इन्फाइरेड थर्मा्मिटरका माध्यमबाट हवाई यात्रुहरुको ज्वरो लिने काम भएको बताएको छ। तर सो कार्य प्रभावकारी नभएको हवाई यात्रुहरुले बताउँदै आएका छन्। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डव्लुएचओले नेपाललाई अति उच्च जोखिममा राखेको जानकारी पाएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पूर्व-तयारीलाई थप तीव्रता दिइएको बताए।उनले भने, ‘विभागसँग समन्वय गरी तयारीलाई तीव्रता दिइएको छ, हामीले अब अन्य सरोकारवला निकायसँग पनि समन्वय गरेर अघि बढ्छौँ।’ यस्तै, मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशव्यापीरूपमा कोरोना भाइरस विरुद्धको अभियानमा लाग्न भन्दै अबको १५ दिन अरू कार्यक्रममा नलाग्ने र नगर्ने घोषणा गरिसकेको छ।

नेपाल अति उच्च जोखिममा परेपछि अब गर्नुपर्ने पूर्व-तयारीबारे छलफल गर्न शनिबार बेलुकी बालुवाटारमा प्रधानमन्त्रीस्तरीय बैठक बस्नेसमेत बताइएको छ। स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘थप तयारीबारे आज बालुवाटारमा प्रधानमन्त्रीस्तरीय बैटक बस्न लागेको हो।’ केही दिनअघि एअरपोर्टमा स्थापना गरिएको हेल्थ डेस्क खासै व्यवस्थित नभएको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चासो लिएका छन्। उनीहरूले एयरपोर्टको हेल्थ डेस्कलाई प्रभावकारी बनाउन कडा निर्देशन दिएका छन्।

नेपालमा अहिलेसम्म शुरुमा एकजनाबाहेक कसैलाई संक्रमण देखिएको छैन। तर, विश्वका विभिन्न देशमा फैलँदो क्रममा रहेको यो भाइरस यदि नेपाल छिर्‍यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको बताइएको छ। यस्तै, कोरोना नियन्त्रणको लागि समुदायदेखि राज्यका सबै अंगको परिचालन गर्न सक्नेगरी कार्य्विधि बनाउन लागिएको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार यसअघि कोरोना क्वारेन्टाइन कार्यविधिमात्र तय भएको थियो। क्वारेनटाइन कार्य विधि बनाएर चीनको वुहान प्रान्तबाट १७५ नेपालीलाई ल्याइएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्