‘युवा पुस्ताका शिक्षकबाट सामुदायिक विद्यालयको गुणस्तर बढ्छ’

लोकपाटी न्यूज

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको सवलीकरणको लागि ऊर्जावान, दक्ष र प्रविधिको ज्ञान भएका युवापुस्ताका शिक्षक आवश्यक रहेको बताएका छन्।

समुदायिक विद्यालय सवलीकरणका लागि नगर शिक्षा सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री पोखरेलले भने, ‘मसँग शिक्षक साथीहरु शिक्षकको कार्यकाल ६० बाट बढाएर ६३ बनाउनुपु-यो भन्नुहुन्छ, तर म सकेसम्म चाँडो उहाँहरुलाई बिदा दिएर प्रविधिको पूर्णज्ञान भएका नयाँ, ऊर्जावान, दक्ष शिक्षक भित्र्याउन चाहेको छु।’

सामुदायिक शिक्षा सवलीकरणका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वयको खाँचो रहेको उल्लेख गर्नुहुँदै उनले सामुदायिक विद्यालयलाई राम्रो बनाउन शिक्षकले मात्र नसक्ने भएकाले शिक्षक, अभिभावक, विद्यार्थी र सरकोकारवाला निकायको समन्वय जरुरी रहेको बताए।

सरकारले २०७६–८५ लाई सामुदायिक शिक्षा सवलीकरण दशक घोषणा गरेको जानकारी दिनुहुँदै मन्त्री पोखरेलले अबको दशक शिक्षामा पहुँच मात्र होइन, गुणस्तरीय शिक्षाको दशक भएको बताए। कार्यक्रममा गोलबजार नगरपालिकाको शिक्षाको अवस्था र त्यसमा के–के सुधार गर्न सकिन्छ भन्ने विषयमा शिक्षाविद् अभिषेक घिमिरेले कार्यपत्र प्रस्तुत गरे।

सांसद लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य रामकुमार यादव, जगत् यादव, पूर्वमन्त्री विश्वनाथ साहले सम्मेलनले गोलबजार नगर क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। यसैगरी मन्त्री पोखरेलले आजै गोलबजार नगरपालिकास्थित सरस्वती माविको (प्राविधिक शिक्षालय) तेतरिया जमदहमा दुईतले आठकोठे भवनको उद्घाटनसमेत गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्