‘मैले काम नगरेको भए पार्टीले चुनाव जित्थ्यो ?’ : विद्यासुन्दर शाक्य

Bidhya Sundar Shakya
लाेकपाटी न्यूज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूले राम्रो काम गरेकै कारण पार्टीले चुनाव जितेको बताएका छन् ।

शनिबार नयाँ पत्रिका दैनिकलाई दिएको अन्तर्वार्तामा शाक्यले आफूले राम्रो काम गरेकै कारण पार्टीले चुनाव जितेको बताए । पढ्नुस् उनको अन्तर्वार्ताको एक अंश ।

अहिले पार्टीको सदस्यता ९ हजार होइन, १० हजारभन्दा बढी छ । बीचमा कहिलेकाहीँ तलमाथि हुन्छ । अधिवेशनताका धेरैले नवीकरण गर्नुपर्ने हुन्छ । अधिवेशनपछि सुषुप्त बस्ने सबै पार्टीमा प्रचलनजस्तै हो । कांग्रेसमा पनि त्यस्तै हो, महाधिवेशनअगाडि धेरैले नवीकरण गर्छन् । हाम्रो पनि महाधिवेशनअगाडि सबैले नवीकरण गर्छन् । एक–दुई वर्ष यताउता भएकाहरू पनि आउँछन् । पार्टीको काममा भने कोही अल्मलिएका छैनन् ।

मै सचिव भएका वेला जिल्ला कमिटीले सर्वसम्मत रूपमा मेरो नाम सिफारिस गरेको हो । त्यो त मूल्यांकन गरेरै निर्णय गरेको हो नि । बरु, बाहिरबाट अरूले चाहिँ ‘लो प्रोफाइलको भयो, स्ट्यान्डिङ कमिटीको मान्छे चाहिन्छ’ भनेर कुरा उठाए । त्यो विद्यासुन्दर उठेपछि हराउन गाह्रो हुन्छ भनेर विपक्षीले चालेको खेल मात्रै थियो ।

पार्टीभित्र न नेताले विरोध गरे न कार्यकर्ताले । महानगरवासीले पनि सहर्ष स्वीकार गरे । संगठन नभएको भए, कार्यकर्तामा एकता नभएको भए त्यो परिणाम आउने थिएन नि । पार्टी, संगठन, कार्यकर्ता, समर्थक मेरा पछाडि नभएको भए विद्यासुन्दर चुनाव जित्थ्यो र ? मभन्दा बढी चिन्तित भएर उहाँहरू खटिनुभएको छ ।

यदि मैले पार्टीमा काम नगरेको भए उहाँहरू त्यसरी मेरा पछाडि लाग्नुुहुन्थेन । उहाँहरूको खटाइ र परिणामले नै मैले पार्टीमा कस्तो काम गरेको थिएँ भन्ने पुष्टि गरिसक्यो । यो विषयमा यसभन्दा बढी बोल्नु नपर्ला ।