आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सर्वोच्चको आदेश

लोकपाटी न्यूज

काठमाडौं। सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरसको जोखिम विश्वभर बढिरहेको सन्दर्भमा नेपालमा त्यसबाट बच्न, बचाउन आदेश जारी गरेको हो।

कोरोनाको गम्भीर संक्रमण फैलिएका देशहरुबाट सोझै वा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेश नदिन समेत आदेश दिएको हो। पूर्ण राजवंशीले आइतबार दायर गरेको रिटमा न्यायाधीश तेजबहादुर केसीको इजलासले आज उक्त आदेश दिएको हो।

रिटमा कोरोनाको जोखिमबाट आमनागरिकलाई बचाउन आवश्यक पूर्वाधार तयारी राख्न, त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक उपकरण र जनशक्ति तैनाथ राख्न, चीनसँगका नाकामा कडा जाँचका उपाय गर्न, जापान, चीन र दक्षिण कोरियाबाट पर्यटक भित्रनमा सकेसम्म रोक लगाउन माग गरिएको छ।

चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि देशका उडान मुद्दा किनारा नलागुन्जेल उडानमा रोक लगाउन र ती देशबाट आउने मानिसको अनिवार्य कडाइका साथ स्वास्थ्य जाँच गर्न पनि सरकारका नाममा आदेश जारी गरेको छ। उक्त रिटमा सर्वोच्चले सरकारका नाममा आदेश जारी गरेको सर्वोच्च अदालत स्रोतले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्