प्रदेश-५ को लगानी सम्मेलन स्थगित

Cabinet_Pradesh_5
प्रदेश ५ को सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ।
लोकपाटी न्यूज
  • अस्मिना पाण्डे

बुटवल। प्रदेश ५ को सरकारले वैशाखमा गर्न लागेको लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो।

आगामी वैशाख ४ र ५ गते लगानी सम्मेलन गर्ने प्रदेश सरकारको तयारी थियो। कोरोना भाइरसको जोखिम बढेकोले लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बजैनाथ चौधरीले बताए। प्रदेश ५ मा मेला महोत्सव, भेला जस्ता सार्वजनिक कार्यक्रम नगर्ने र गर्न नदिने निर्णय समेत गरेको उनले जानकारी दिए।

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक कार्यक्रममा मन्त्री चौधरीले भने, ‘लगानी सम्मेलनमा विदेशी पाहुनाहरू समेत सहभागी हुन्छन्। विश्वभरि कोरोना भइरसको जोखिम बढेको छ। यस्तो समयमा लगानी सम्मेलन गर्न उपयुक्त नहुने निष्कर्षमा मन्त्रीपरिषद् पुगेको छ।’

कोरोना संक्रमण कमहुँदै गएपछि उपयुक्त समयमा लगानी सम्मेलनको आयोजना गरिने समेत उनले बताए। नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सतर्कता अपनाएको दावी गरेको छ। प्रदेश ५ मा पनि भारतसँग खुला सीमा नाका छ। कोरोना संक्रमण रोकथामका लागि प्रदेश सरकारसँग के योजना छन् ? भन्ने प्रश्नमा मन्त्री चौधरीले भारतले कोरोना भाइरसको संक्रमण रोकथाममा कडाइ गरेकोले यहाँ त्यसको जोखिम कम रहेको बताए।

यस्तै मन्त्रीपरिषद्ले भौतिक पूर्वाधार मन्त्रालयले तयार गरेको सडक निर्माण, मर्मत तथा सुधार गर्न बनेको विधेयक स्वीकृति गरेको छ। उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको साझेदारी नियमावलीलाई स्वीकृत दिएको उनले जानकारी दिए। उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको कला साहित्य तथा सङ्गीत प्रतिष्ठान गठन सम्बन्धमा बनेको विधेयकलाई समेत स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्