दलित भन्दै घरबेटीले कोठा छोड्न दबाब दिएपछि… 

लोकपाटी न्यूज

काठमाडौं। घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरूले प्रहरीमा उजुरी दिने बताएका छन्। काठमाडौंमा डेरा गरी बस्ने केही विद्यार्थीहरूले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरूलाई जातीयताका आधारमा अपमान गर्ने घरबेटीविरूद्ध प्रहरीमा उजुरी दिने बताएका हुन्।

कैलाली र दैलेख स्थायी घर भई काठमाडौंमा विभिन्न क्याम्पसमा अध्ययनरत चार जना विद्यार्थीहरूले आफूहरूलाई दलित भन्दै घरबेटीले अपमान गरेको बताए। गत मंसिर १३ गतेदेखि आफूहरू काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर-१० मा रहेको श्रीकृष्ण बिडारीको घरमा डेरा गरी बस्दै आएको उनीहरूले बताए।

सोही घरमा डेरा गरेरै बसेकै दिन घरबेटी श्रीकृष्णकी छोरीले आफूहरूसँग परिचय गरेको दिपा नेपालीले जानकारी दिइन्। उनले आफूहरूलाई जातकै कारण कोठा छोड्नका लागि दबाब दिएको बताइन्।

‘हामी त्यो घरमा बसेकै दिन घरबेटीकी छोरीले हामीसँग परिचय गर्नुभएको थियो,’ उनले भनिन्, ‘त्यसको भोलिपल्ट घरबेटी बिडारी दम्पत्तिले तपाईंहरू दलित हुनुहुँदो रहेछ, समाजले पनि तपाईंहरूलाई यहाँ बसेको रुचाउँदैन र यहीँ घरमा भाडामा बस्नेहरूले पनि घर छोडेर जान्छु भने भनेर कोठा छोडेर जान दबाब दिनुभयो।’

दिपाकाअनुसार उनले एक कार्यक्रममा मानव अधिकारवादीसँग आफ्नो गुनासो सुनाएकी थिइन् र त्यहीँबाट मानव अधिकारकर्मीले उनको घरबेटीलाई फोन गरेका थिए। ‘उहाँका अनुसार अब हामीलाई बसुञ्जेलसम्म बस्न दिने भनेर घरबेटीले भन्नुभएको थियो र हामीलाई पनि परिचय दिएर बस्नुहोला भन्नुभयो,’ उनले भनिन्।

तर एक्कासि घरबेटीले आफूहरूलाई विभिन्न बहाना देखाएर घर छोड्न दबाब दिएको उनले बताइन्। उनले त्यहीँ घरमा भाडामा बस्ने अन्य सदस्यहरूले पनि घरबेटीसँग मिलेर आफूहरूमाथि अभद्र तथा गाली, बेइज्जति शब्द प्रयोग गरेको सुनाइन्।

जातीय विभेद गरेर आफूहरूमाथि स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि कुण्ठित गरेको र बारम्बार मानसिक तथा मनोवैज्ञानिक दबाब दिएको उनमो गुनासो छ। ‘हामी पढ्ने विद्यार्थीहरूमाथि यो ठूलो मानसिक यातना हो,’ उनले भनिन्।

कैलाली घर भई सोही घरमा बस्ने दिपाका भाइ राज नेपालीले आफूहरूमाथि २१ औं शताब्दीमा पनि जातीय विभेद गरिएको भन्दै गुनासो गरे। उनले आगामी दिनमा दलित भएकै कारण आफूहरूले भोगेजस्तो पीडा अरुले भोग्न नपरोस् भनेर यो कुरा लिएर आएको र कानुनी उपचारमा जान लागेको स्पष्ट पारे।

‘घरबेटीले दिएको चरम यातनाको कारण हाम्रो पढाईमा अवरोध सिर्जना भयो। यसले विद्यार्थीको भविष्य अन्यौल बनाएको छ,’ उनले भने। उनले जातीय भेदभाव तथा छुवाछुत ऐन–२०६८ अनुसार निज घरबेटीलाई कारबाही गर्नसमेत सरकारसमक्ष माग गरे।

अर्की पीडित तथा गायिका समेत रहेकी धना परियारले जातीयताको कुरा गरेर आफूहरूमाथि घरबेटीले दिएको दबाब गलत र मानवअधिकारविरूद्ध रहेको बताइन्। उनले पनि घरबेटीलाई कानुनबमोजिमको हदैसम्मको कारबाहीको माग गरिन्। उनले आफू अपांग रहेको जनाउँदै अपांगता भएकै कारण जागिर नपाएको गुनासो पोखिन्।

‘जातीयताकै आधारमा घरबेटीले कोठा छोड्न दबाब दिनुभएको छ,’ उनले भनिन्, ‘के हामी यो देशका नागरिका होइनौं र? हामीमाथि अमानवीय व्यवहार गरियो। यो निकै दुःखदायी कुरा हो।’ उनले यस्तो अवस्थाको सामना गर्नुपर्दा कहिलेकाहीँ रातै नपरिदिए हुन्थ्यो जस्तो लाग्ने गरेको पनि सुनाइन्।

‘घरबेटीले मात्रै होइन, त्यहीँ घरमा भाडामा बस्नेहरूले पनि हामीलाई निस्किन दबाब दिए,’ उनले भनिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्