लोकसेवा तयारी : गाइड होइन, किताब पढौं (९ टिप्स्)

loksewa logo
लोकपाटी न्यूज

काठमाडौं। जागिरको खोजीमा रहेकाहरुको लोकसेवाको परिक्षाप्रति आकर्षण बढ्दो छ। उनीहरुले कसरी पढे सफल भइन्छ भनेर अनेक तरिका अपनाएका हुन्छन्। सफलताको कुनै लघु–मार्ग हुँदैन। विषयवस्तुमा पारङ्गत नभएसम्म आकर्षक र ओजिलो जवाफ दिन सकिँदैन।

तयारी गर्नु अघि अनुभवी तथा विज्ञका कुरा फलो गर्नु पनि आवस्यक हुन्छ। लोकसेवा तयारीको अध्यापन गराउँदै आएका तथा नेपालको निजामती प्रशासनमा लामो अनुभव संगालेका महालेखा नियन्त्रकको कार्यालयका सचिव गोपीनाथ मैनालीको भनाइमा उद्देश्यमूलक ढङ्गले अधिकाधिक अध्ययन एवं विश्लेषण गरेमा सफल हुन सकिन्छ।

सफलताका लागि मैनालीका सुझाव

(१) आत्मविश्वास – लोकसेवा तयारी गर्नेसँग पहिले त म पास हुन सक्छु भन्ने आत्मविश्वास चाहिन्छ। लोक सेवामा योग्यता अनुसारको परीक्षा हुन्छ। आफूले जाँच दिने तह र समूहको तयारी संयमतापूर्वक गर्नुपर्छ। आत्तिएर हुँदैन, खारेर पढ्नुपर्छ।

(२) छनौट – भित्रैबाट यो सेवामा जान्छु भनेर निक्र्योल गर्नुपर्छ। के मा फिट हुन्छु भनेर विचार गरी त्यसैमा मात्र तयारी गर्नुपर्छ। आफूले जाँच दिने सेवा र समूहका मात्र किताव पढ्नुपर्छ।

(३) स्रोत संकलन – पहिले त आफूले जाँज दिने समूहका आधिकारिक विषयलाई आधार मानी रिफरेन्स पुस्तक पढ्नुपर्छ। नेपालको संविधान, सरकारका नीति कार्यक्रम बजेट योजना जस्ता दस्तावेज नछुटाई पढ्नुपर्छ। साथै राष्ट्रियस्तरका दैनिक पत्रपत्रिकामध्ये कुनै एक पत्रिका नियमित पढ्नुपर्छ।

(४) रोजाई – लोक सेवा पढ्नेले एकपटक कुनै समूह रोजिसकेपछि त्यो पुन फेर्न सकिँदैन। त्यसैले जाँचको फाराम भर्नुअघि नै म यही सेवाका लागि फिट छु, म यो फेरि वदल्दिन भन्ने सोच राखेर फाराम भनुपर्छ। अनि सो सेवा अनुरुपका सामाग्री जुटाएर पढ्नुपर्छ।

(५) तयारी – पढ्दा मुख्य बुँदा टिपोट गर्नु फाइदाजनक हुन्छ। यसबाट समसामयिक सवालको पहिचान गर्न र त्यस उपर दृष्टिकोण निर्माणमा सघाउ पुग्दछ। गाइड पढ्नु हुँदैन, आधिकारिक विषयवस्तु पढ्नुपर्छ। पढ्दा टिपेर पढ्नुपर्छ र बाँकी रहेको कुरामा पछि केही थप्न पर्न सक्छ, त्यसैले कापी खाली राख्नुपर्छ।

(६) लेखन – पढिसकेपछि लेख्ने प्राक्टिस गर्नुपर्छ। आफूले जाँच दिने तहको परीक्षा पूराना प्रश्न हेर्दै उत्तर तयार गर्नुपर्छ। किनभने प्रश्न तह अनुसारको आउने हुँदा आधिकारिक कुरा पढेर मागेअनुसारको उत्तर दिनुपर्छ। लेख्दा कुनै पनि कुरा दोहोर्याएर लेख्नु हुँदैन। कुनै विषयमा बुलेटमा पनि लेख्नुपर्छ। प्रश्नले कस्तो खाले उत्तरको अपेक्षा गरेको छ, सोहीअनुसारको उत्तर दिनुपर्छ। विषयवस्तुको प्रवेश शुरुमा लेख्ने, बीचमा समग्र पक्ष समेट्ने र अन्तिममा निष्कर्ष दिएर लेख्नुपर्छ।

(७) विश्लेषण – लेख्दा क्रिटीकल्ली पनि विश्लेषण गरेर लेख्नुपर्छ। विविध विचारधारा र बहुआयामिक विश्लेषण समावेश भएको जवाफले जाँचकीलाई आकर्षित गर्दछ। तसर्थ विभिन्न स्रोतबाट विषयवस्तुको अध्ययन गरी हरेक विचारका सकारात्मक र नकारात्मक पक्षका बारेमा जानकार बन्नु लाभदायक हुन्छ।

(८) नियमित अभ्यास – अरूले लेखेका उत्तर हेरेर वा अरूका लेख पढेर त्यस्तै खालको लेखन गर्नुभन्दा नियमित अभ्यासमार्फत् अरूको लेखनबाट संश्लेषण गरी आफ्नै विशिष्ट खालको लेखनशैली विकास गर्नु पर्दछ।

(९) तुलनात्मक अध्ययन – पढ्दा वा लेख्दा विगतका पक्ष तथा अवस्था पनि केलाउनु पर्छ। उपलब्ध भएसम्म कम्तिमा अघिल्लो पाँच वर्षका परीक्षामा सोधिएका प्रश्नपत्र समाधान गर्न सकेमा परीक्षामा समय व्यवस्थापन गर्न निकै सघाउ पुग्नुका साथै उत्तर लेखन क्षमता समेत परिष्कृत बन्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्