डोल्पामा एकै गाउँका ३५ बढी बिरामी

sick
लाेकपाटी न्यूज

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका १ को करेलीकाँडा गाँउका ३५ जनाभन्दा बढी एकैपटक बिरामी भएका छन् । करेलीकाँडामा ३५ जनाभन्दा बढी एकैपटक बिरामी भएपछि नगरपालिकाले स्वास्थ्य प्राविधिकसहितको टोली प्रभावित क्षेत्रमा पठाएको छ ।

मुकुटेश्वर हिमालमुनि रहेको गाँउका ३५ जनामा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएपछि औषधिसहित स्वास्थ्य प्राविधिकको टोली प्रभावित क्षेत्रमा पठाएको नगर प्रमुख ओमबहादुर बुढाले जानकारी दिए। उनका अनुसार टोलीले उनीहरुको स्वास्थ्य परीक्षण गरेर फर्किएपछि मात्रै रोगको पहिचान हुनेछ । अहिलेसम्म के भएको हो भन्ने यकिन नभएको उनको भनाइ छ । उपचारको लागि कम्तीमा दुई घण्टा हिँड्नुपर्ने भएकाले बिरामीले उपचार सेवा समेत नपाएको उनले जानकारी दिए ।

पैँतालीस घरधुरी भएको करेलीकाँडा गाँउमा अधिकांश रोगले थला परेको एक सातामा घरैपिच्छे बिरामी देखिन थालेका जनाइएको छ । एकपछि अर्को गरेर गाँउभरि नै रोग फैलिसक्दा पनि औषधि पुग्न सकेको छैन। अज्ञात रोगका कारण साना बालबालिकादेखि वृद्धवृद्धासम्म सिकिस्तै बिरामी परेका छन् । गाँउबाट स्वास्थ्यचौकी टाढा भएकाले बिरामी नै हिँडेर पुग्ने अवस्था नरहेको जनाइएको छ ।

उक्त रोगबाट ग्रसित बिरामीमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिने गरेको स्थानीयले बताएका छन् । उक्त लक्षण देखिएका बिरामीसँगै बसेर कुरा गरेको केही समयपछि स्वस्थ व्यक्तिमा पनि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिने गरेको छ । एकै घरका नौ जनासम्म बिरामी छन्।
औषधि नभएकाले सबैले औषधि खान पाएका छैनन् । फैलँदै छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्