युवतीमाथि यौनजन्य हिंसा, पर्सा प्रहरीले जाहेरी लिन मानेन

Nepal police parsa
  • 355
    Shares
लोकपाटी न्यूज

वीरगञ्ज, २० फागुन। वीरगञ्ज महानगरपालिका–१ मा युवतीलाई दुव्र्यवहार गर्नेलाई कानुनी कारबाही नगरी छोडिएको गुनासो आएको छ। युवतीलाई लछारपछार गर्दै दुव्र्यवहार गर्नेहरुलाई कानुनी कारबाही गर्नुको साटो प्रहरीले समाजको जिम्मा लगाएको हो।

वडाध्यक्ष मनोज गुप्ताको रोहबरमा सन्दीप साह कानु, नागा दास, सुभास दासलगायत ५ जना बुधबार प्रहरी कार्यालयबाट तारिखमा छुटेका छन्। पीडित बालिका र उनका आफन्तले कार्वाहीका लागि प्रहरीमा अनुरोध गरे पनि प्रहरीले युवतीलाई समाजको जिम्मा लगाएर छोडिदिएको छ।

गत शनिबार फागुन १० गते साँझपख गहुँ बारीमा २२ वर्षीया युवतीलाई पाँच जना केटाहरुले दुव्र्यवहार गरेका थिए। उनीहरुले कपडामा समातेर तानेको भिडियोसमेत फेला परेको छ। स्थानीय केही अगुवाको साथमा अभिभावकसहित युवती जिल्ला प्रहरी कार्यालय पर्सामा पनि पुगेकी थिइन्। त्यसपछि प्रहरीले आरोपी युवकहरुलाई नियन्त्रणमा लिएको हो। तर समाज नै किशोरीको विपक्षमा देखिएको भन्दै केटाहरुलाई तारेखमा रिहा गरेको छ।

शनिबार गाउँमा पञ्चायत बसेर ती केटाहरुलाई पाँच दिन मन्दिर सफा गर्न लगाउने सजाय सुनाइएको स्रोतले बताएको छ। पीडित युवतीका बुबा र पाँचै जना केटाहरुका बुबासहित बसेको पञ्चायतले गाउँमै भएको घटनालाई गाउँमै मिलाउने, प्रहरी कार्यालय वा अन्त कतै कुनै खालको उजुरी नगर्ने निर्णय गरेको स्रोतको दाबी छ।

आरोपित पक्षले भने अरु केटासँग बसेको देखेपछि चिनजानका केटाहरुले यसो किन गरेको भन्दै हप्काएको बताएका छन्।

किशोरी माथि यौन दुव्र्यवहारको प्रयास भए/नभएको अनुसन्धान भइरहेको एसपी गंगा पन्तले बताइन्। ‘घटनाबारे जानकारी आएको थियो, मैले नै किशोरी र उनका अभिभावकसँग कुराकानी पनि गरेको हुँ। तर उनीहरुले यौन दुव्र्यबहार नभएको जस्तो कुरा गरे, अनि उजुरी पनि दिएनन्। त्यसैले आरोपी केटाहरुलाई तारेखमा रिहा गरेका छौं,’ उनले भनिन्, ‘तर भिडियो क्लिप्सहरु पनि छन् भन्ने कुरा आएको छ, त्यसलाई संकलन गरेर अध्ययनको काम भइरहेको छ।’

यौन दुव्र्यवहारका सन्दर्भमा पीडित भनिएकी किशोरी स्वयंले होइन भनेको र उजुरीसमेत नआएकाले मुद्दाअघि नबढाइएको उनको भनाइ छ। ‘अन्य प्रायोजन जे भए पनि महिलामाथि हात हाल्नु नै गलत देखिएको छ। वास्तविकता के रहेछ बुझ्छौं,’ उनले भनिन्।

तर, पीडितका आफन्तले भने आफूहरुलाई प्रहरीले दवावमा राखेर मुद्दा दर्ता नमानेको गुनासो गरेका छन्। पीडित पक्षले आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्खास्त दर्ता गर्न खोजे पनि प्रहरीले लिन नमानेको उनीहरुको आरोप छ। उल्टै पीडित बालिकालाई महिलाले सेलका कर्मचारीले सम्झाएर पठाएको पीडितका आफन्त सुरेश साह कोनुले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्