प्रदेश २ को नाम र राजधानी तय गर्न शुक्रबार मतदान

pradesh_2
लोकपाटी न्यूज

धनुषा। प्रदेश सभामा मतदानबाट प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंग्याइने भएको छ। दलीय सहमतिबाट निकास ननिस्किएपछि मतदानमार्फत नाम र राजधानीको टुंगो लगाउन लागिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार नाम र राजधानीको टुंगो लगाउन २३ फागुनमा मतदानको तयारी गरिएको छ। २२ फागुनमा बस्ने प्रदेश सभा बैठकमा नामकरण र स्थायी राजधानीबारे टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराएपछि भोलिपल्ट मतदान गर्ने तयारी भएको हो। सभामूख सरोजकुमार यादवले करीब तीन महीनादेखि अवरुद्ध प्रदेश सभा बैठक २२ फागुनमा बोलाएका छन्।

सभामूख यादवले २२ फागुन दिउँसो १ बजे प्रदेशसभाको बैठकमा प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने बताए। २३ फागुन बिहान ८ बजेदेखि सदनमा नाम र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया शुरु हुनेछ।

प्रदेशको नामकरणका लागि चार र राजधानीका लागि तीन प्रस्ताव दर्ता भएको भन्दै यादवले सबै प्रस्तावमा छलफल गरेर दुई तिहाइ मतबाट पारित गर्ने जानकारी दिए। प्रदेश २ को राजधानीबारे सबै दल एकमत भए पनि नाममा सहमति हुन सकेको छैन। स्थायी राजधानी र नामाकरण सर्वसम्मत रूपमा राख्न संसदीय दलबीच विवाद देखिएपछि सभामूखको संयोजकत्वमा समिति गठन गरिएको थियो।

सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेशको नामकरण ‘मधेश प्रदेश’ प्रस्ताव गरेका छन्। प्रमूख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘जानकी’ र नेपाली कांग्रेसले ‘मिथिला-भोजपुरा’ प्रस्ताव गरेका छन्।

प्रदेशको नामकरणबारे सहमति जुटाउन पटक-पटक बसेको समितिको बैठकमा सत्तारूढ दल मधेश प्रदेशबाट पछि हट्न तयार भएन भने विपक्षी दल पनि आफ्ना अडानबाट पछि हट्न तयार नभएपछि सहमति जुट्न नसकेको हो।

प्रदेश २ सभामा सत्तारूढ दल समाजवादी पार्टीको ३० र राजपाको २५ सदस्य छन्। प्रमूख विपक्षी दल नेकपाका ३२, कांग्रेसको १९ र रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी फोरमका एक सांसद छन्। -रासस