नेपाल सरकारद्वारा रेल चलाउन २ सय २६ कामदार माग

railways pic
लाेकपाटी न्यूज

काठमाडौं, २० फागुन। नेपालले अर्डर गरेका दुई ‘ट्रेन सेट’ (रेल) भारतको चेन्नईस्थित रेल उत्पादन केन्द्र (सवारी डिब्बा कारखाना) मा तयार भइरहेका छन्। कुर्था–जनकपुर-जयनगर ३४ किलोमिटरमा चलाउन नेपालले अर्डर गरेका दुई ‘ट्रेन सेट’ (रेल) भारतको चेन्नईस्थित रेल उत्पादन केन्द्र (सवारी डिब्बा कारखाना) मा तयार हुँदै छन्।

रेल निर्माणको काम लगभग सकिएको तर, तत्काल ल्याउने सम्भावना कम रहेको रेल विभागले जनाएको छ।विभागले यसअघि पटक-पटक रेल नेपाल आइपुग्ने मिति तय गरेपनि विभिन्न समस्याका कारण निर्धारित मितिमा रेल ल्याउन सकिएको छैन। चेन्नईको कोकन रेलवे कर्पोरेशनले दुई सेट ट्रेन कारखानामा तयार भइसकेको जानकारी दिएको विभागका महानिर्देशक बलराम मिश्रले बताए।

रेल सेवा सञ्चालनका लागि दक्ष जनशक्ति व्यवस्थापनको कार्य शुरु भइरहेको विभागले जनाएको छ। रेल सञ्चालनमा ल्याइने चर्चा भएसँगै कामदार पनि भारतबाट करारमा ल्याउने कुरा भइरहेको छ। रेल सेवा सञ्चालनका लागि नेपाल सरकारबाट २६ जना विदेशी कामदार तथा अन्य २ सय जना नेपाली कामदार गरी २ सय २६ जना कामदार नियुक्ति गर्ने प्रक्रिया सुरु भइसकेको महानिर्देशक मिश्रले जानकारी दिए।

सरकारले रेल सञ्चालनका लागि करारमा कामदार ल्याउने भनेसँगै नवलपरासीका रेल चालक बमबहादुर घिमिरेलाई भौतिक पूर्वातार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले केही समयअघि भेट गरेका थिए। नेपालको पहिलो रेल चालकका रुपमा रहेका घिमिरेलाई मन्त्रालयमै बोलाएर छलफल गरिएको थियो। अहिलेपनि घिमिरेसँग कुराकानी भइरहेको बताउँदै मिश्रले भने, ‘घिमिरे नेपालका लागि पहिलो रेल चालक मानिएको छ। त्यसकारण हामी छलफलमै छौं। निष्कर्ष निक्लिएको छैन।’

कम्पनीले आठ जना स्टेशन मास्टर, एक–एक जना दरले चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर गरी ४२ वटा पदमा कामदार नियुक्ति गर्न लागेको छ। सरकारले रेल सेवा सञ्चालन गर्नका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल चल्ने भएपछि सरकारले नेपाल रेलवे कम्पनी लिमिटेडका लागि कर्मचारी भर्ना सुरु गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्